हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग गर्न आग्रह गरेपछि क्युबाले अमेरिकाको आलोचना गरेको छ । क्युबाले अमेरिकाले सार्वजनिक रूपमा गुप्तचर निकाय सीआईएका लागि भर्ती अभियान चलाएको भन्दै व्यङ्ग्य गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँगको विषय टुङ्ग्याएपछि अमेरिकाले क्युबाको मामिलामा ध्यान दिने बताएका थिए । उनले क्युबासँगको सम्झौतालाई अघि बढाउन विदेशमन्त्री रुबियोलाई पठाउन सकिने सङ्केतसमेत गरेका थिए ।
त्यसपछि रुबियोले सामाजिक सञ्जाल एक्समार्फत क्युबामा सकारात्मक परिवर्तन चाहनेहरूका लागि अहिले उपयुक्त समय भएको बताएका थिए ।
‘क्युबामा सकारात्मक परिवर्तन ल्याउन चाहनेहरूका लागि अहिले सही समय हो,’ उनले लेखेका थिए ।
रुबियोले भ्रष्टाचार, अधुरा वाचा र सीमित व्यक्तिले मात्रै विशेष सुविधा पाउने अवस्थाबाट निराश भएका क्युबाली नागरिकलाई आफ्नो चाहनाअनुसार परिवर्तन ल्याउन सीआईएसँग गोप्य साझेदारी गर्नसमेत आह्वान गरेका थिए ।
यसैबीच, अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) ले सामाजिक सञ्जालमा स्पेनी भाषामा एउटा भिडियो सार्वजनिक गर्दै क्युबाली नागरिकलाई सुरक्षित रूपमा सूचना साझा गर्ने तरिकाबारे जानकारी दिएको छ । भिडियोमा भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) र अस्थायी इमेल ठेगानामार्फत सूचना पठाउने उपाय उल्लेख गरिएको छ ।
अमेरिकाको यस कदमप्रति प्रतिक्रिया दिँदै क्युबाका उपविदेशमन्त्री कार्लोस फर्नान्डेज डी कोसियोले यसलाई अमेरिकाको ‘हताशा र लाचारी’ को सङ्केत भनेका छन् ।
उनले अमेरिकाले सार्वजनिक रूपमै सीआईएका लागि मानिस भर्ती गर्न थालेको भन्दै व्यङ्ग्य गरेका छन् । ‘यस्तो लाग्छ, उनीहरू टुथपेस्ट बेचिरहेका छन्,’ उनको टिप्पणी थियो ।
अमेरिका र क्युबाबीच लामो समयदेखि राजनीतिक तथा कूटनीतिक तनाव रहँदै आएको छ । ट्रम्पको पछिल्लो अभिव्यक्ति र रुबियोको अपिलले दुई देशबीचको सम्बन्धमा थप बहस सिर्जना गरेको छ ।














प्रतिक्रिया