काठमाडौँ – नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने पल्स अवधि ३० सेकेन्डबाट बढाएर ६० सेकेन्ड कायम गरेको छ ।
टेलिकमका अनुसार नयाँ व्यवस्था आजदेखि सबै देशका दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा लागू भएको छ । यससँगै अब अन्तर्राष्ट्रिय कलको शुल्क ६० सेकेन्डको पल्सका आधारमा गणना हुनेछ ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले नेपाल दूरसञ्चार प्राधिकरणको गत भदौ २४ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिका आधारमा पल्स अवधि परिवर्तन गरिएको जानकारी दिए ।
दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि अन्तर्राष्ट्रिय कलको पल्स अवधि ६० सेकेन्ड कायम गरिएको टेलिकमले जनाएको छ ।
यसअघि २०८२ फागुन १ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिका आधारमा ५८ देशमा ६० सेकेन्डको पल्स अवधि लागू गरिएको थियो । अब बाँकी देशमा समेत नयाँ व्यवस्था लागू गरिएको हो ।
नेपाल टेलिकमले विभिन्न देशमा अन्तर्राष्ट्रिय कल गर्न छुट्टाछुट्टै पहुँच सङ्केत (एक्सेस कोड) को व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय कल गर्दा सुरुमा सम्बन्धित पहुँच सङ्केत र त्यसपछि देशको कोड राखेर सेवा प्रदायकको नम्बर डायल गर्नुपर्ने हुन्छ ।
विभिन्न देशमा अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने शुल्कबारे नेपाल टेलिकमको आधिकारिक वेबसाइटबाट जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।














प्रतिक्रिया