जङ्गलमा बास, जोखिमपूर्ण जीवन « Khabarhub

जङ्गलमा बास, जोखिमपूर्ण जीवन


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको परिवार पाँच वर्षदेखि पालमुनी आश्रय लिएर बस्दै आएको छ । विसं २०७७ मा चुरे गाउँपालिका–४ को गौजनामा आएको पहिरोले उनको १६ रोपनी जमिनसहित घरखेत बगाएपछि पाँच जनाको परिवार विस्थापित भएको थियो ।

विस्थापित भएपछि उनको परिवार जङ्गलमा बस्दै आएको थियो । त्यहाँबाट पनि वन कार्यालयले हटाएपछि केही समय गौशालामा बस्नुपरेको विश्नादेवीले बताए । त्यहाँबाट पनि हटाइएपछि पुनः पनेरुगडाको जङ्गलमा फर्किएर बस्न बाध्य भएको उनले उल्लेख गरे ।

विश्नादेवीले भने, “घरबार नै नभएपछि जङ्गलमा बस्नुपर्ने बाध्यता आएको हो ।” छोरी ठूलो भइसकेकाले जङ्गलमा बस्न असुरक्षित महसुस भएपछि उहाँले छोरीलाई आफन्तकहाँ राखेर पढाइरहेका छन् । दुई छोरासँगै जङ्गलमा बसिरहेकी विश्नादेवीका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । आफू भने मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएको उनले बताए ।

भाडामा बस्ने क्षमता नभएको भन्दै जङ्गलमा बस्दा छोराछोरीको भविष्य जोखिममा पर्ने चिन्ताले सताउने उनको भनाइ छ । “जङ्गलमा बाघसहित जङ्गली जनावरको त्रास भएकाले रातभरि आगो बाल्दै सबै एक ठाउँमा जम्मा भएर बस्नुपर्छ”, उनले भने, “सामुदायिक वन समूहले यहाँबाट अन्यत्र जान पनि भनिरहेको छ । रहर कसलाई हुन्छ र ज्यान जोखिममा पारेर बस्न रु तर जाने ठाउँ कतै छैन । बरु मारुन्, कतै जान्न ।”

विश्नादेवी जस्तै कमला रोका मगरको परिवार पनि २०७७ सालदेखि पनेरुगडाकै जङ्गलमा पालमुनी जीवन बिताइरहेको छ । “हावाहुरी चल्दा रूख ढल्छ कि भन्ने त्रास, राति जङ्गली जनावर आइपुग्छन् कि भन्ने डरका बीचमा दिन काट्नु दैनिकी बनेको छ । उठेर जान पनि भनिरहे पनि जाने ठाउँ छैन । राम्रो घरमा बस्ने मन हाम्रो पनि छ, तर कहाँ जाने ?”, उनले प्रश्न गरे ।

यसै क्षेत्रमा चुरे गाउँपालिका–६ का डबलबहादुर कार्की पनि पालमुनी बस्दै आएका छन् । उनका अनुसार सुरुमा यहाँ धेरै विस्थापित परिवार थिए । “कतिपय रोजगारीका लागि भारत गए, केही पहिरो गएको आफ्नै ठाउँतिर फर्किएका छन् ।

“हाम्रो त केही पनि बचेको छैन, कहाँ जानु ? सोही कारणले यहाँ बसिरहेका छौँ”, कार्कीले भने । पालिकाले हाललाई यहाँ बसोबासका लागि अनुमति दिए पनि सुरक्षित र स्थायी बसोबासको कुनै सुनिश्चितता नभएको उनले गुनासो गरे ।

पनेरुगडा क्षेत्रमा मात्रै यस्ता २५ भन्दा बढी परिवार पाल टाँगेर बसिरहेका छन् । चुरे–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरका अनुसार २०७७ सालको बाढीपहिरो र अन्य प्राकृतिक विपद्का कारण विस्थापित एक सय १६ परिवार पनेरुगडा, टाँकगडा, बालुवागडा, चुरे–१ को खामाहाले, खानीडाँडालगायत क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन् ।

सुरुमा घरविहीन भन्दै करिब सात सय परिवार वन क्षेत्रमा बसेको देखिए पनि गाउँपालिकाको छानबिनपछि ११६ परिवार मात्रै पूर्ण रूपमा घरबारविहीन रहेका पाइएको वडाध्यक्ष मगरले जानकारी दिए । वन कार्यालयले विसं २०७९ मा अतिक्रमण भएको भन्दै धेरैलाई हटाए पनि वास्तविक पीडित भने अझै जङ्गलमा बस्न बाध्य भएका उनको भनाइ छ ।

वडाध्यक्ष लामिछाने मगरले भने, “विस्थापितहरूको समस्या समाधानमा हामी गम्भीर छौँ । तर, स्थानीय तहसँग उहाँहरूलाई तत्काल व्यवस्थापन गर्ने आफ्नो जमिन छैन । वन कार्यालयले हटाउने भनिरहेको छ, तर उहाँहरूको जाने ठाउँ छैन । यही कारण यहाँ जोखिमपूर्ण अवस्थामा बस्न बाध्य छन् ।”

जोखिममा बालबालिकाको शिक्षा

यहाँ बस्ने बालबालिकालाई विद्यालय जान पनि चुनौतीपूर्ण रहेको अभिभावक बताउँछन् । यहाँका बालबालिका गौरीगङ्गा नगरपालिका–३ स्थित श्री शिवनमूना आधारभूत विद्यालयमा पढ्न जान्छन् । दीपेन्द्र महरा कक्षा ६ मा पढ्नुहुन्छ ।

दीपेन्द्रले भने, “वर्षाको समयमा बाढी आएपछि विद्यालय जान सकिँदैन । अन्य समयमा पनि बाघसहित जङ्गली जनावरको त्रास हुन्छ ।” रमेशबहादुर महरा पनि कक्षा ७ मा पढ्नुहुन्छ ।

“बिहानको समयमा स्कुल जाँदा अभिभावक आधा बाटोसम्म पुर्‍याउन जानुपर्छ”, उहाँले भन्नुभयो । “विद्यालय जान र आउन दैनिक करिब चार घण्टा हिँड्नुपर्छ । बाटोमा जङ्गली जनावरको डर पनि लाग्छ”, मनिषा रोका मगरले भने, “जसोतसो विद्यालय गइरहेका छौँ । यसको दीर्घकालीन समाधानका लागि सरोकार भएका निकायलाई आग्रह गर्दछौँ ।”

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ९ : ३२ बजे

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगीकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन