उत्तर कोरियामा किम यो जोङको पदोन्नति « Khabarhub

उत्तर कोरियामा किम यो जोङको पदोन्नति


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सियोल– उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीले नेता किम जोङ उनका सबैभन्दा विश्वासपात्र मानिने बहिनी किम यो जोङलाई शीर्ष केन्द्रीय समितिभित्र विभाग निर्देशकको जिम्मेवारीमा पदोन्नति गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यो निर्णयलाई सत्ता संरचनाभित्र उनको प्रभाव औपचारिक रूपमा अझ बलियो बनाइएको सङ्केतका रूपमा हेरिएको छ ।

पाँच वर्षमा एकपटक आयोजना हुने पार्टीको शिखर सम्मेलनका लागि हजारौँ प्रतिनिधि प्योङयाङमा भेला भइरहेका बेला गरिएको यो पदोन्नतिले कूटनीति, सुरक्षा र रणनीतिक विषयमा किम परिवारको पकड झन् सुदृढ भएको देखाएको छ । किम यो जोङले यसअघि प्रचार संयन्त्रमा वरिष्ठ भूमिका निर्वाह गरेकी थिइन्, तर अहिले कुन विभागको नेतृत्व गरेका हुन् भन्ने खुलाइएको छैन ।

लामो समयदेखि आफ्ना दाजुका सबैभन्दा नजिकका सहकर्मीका रूपमा चिनिएकी उनले आणविक वार्ता र अन्तर्राष्ट्रिय कूटनीतिमा स्पष्ट र कडा अभिव्यक्ति दिँदै आएकी छन् ।

अनुसन्धानकर्ता अहन चान–इलका अनुसार किम जोङले पूर्ण भरोसा गर्न सक्ने सीमित व्यक्तिमध्ये उनी एक हुन् । सिङ्गापुर र हनोईमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएका शिखर भेटवार्तामा उनी कार्यस्तर अधिकारीका रूपमा सक्रिय रहेकी थिइन्  ।

सन् २०१८ मा प्योङचाङ शीतकालीन ओलम्पिकका अवसरमा विशेष दूतका रूपमा सियोल पुगेपछि उनी अन्तर्राष्ट्रिय रूपमा चिनिन थालेकी हुन् । कोरियाली युद्धपछि दक्षिण कोरियामा पाइला टेक्ने किम वंशको पहिलो सदस्य बनेकी उनले त्यसयता वासिङ्टन र सियोलप्रति कडा टिप्पणी गर्दै आएकी छन् ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओलको सरकारलाई ‘संयुक्त राज्य अमेरिकाको वफादार कुकुर’ भनी टिप्पणी गरेको प्रसङ्ग चर्चित बनेको थियो । यद्यपि, दक्षिण कोरियाका वर्तमान नेता ली जे म्युङ सत्तामा आएपछि उनको सार्वजनिक भाषा केही नरम देखिएको विश्लेषकहरू बताउँछन् ।

सन् १९८८ मा जन्मिएकी किम यो जोङ पूर्व नेता किम जोङ इल र को योङ हुईका सन्तानमध्ये एक हुन् । स्विट्जरल्यान्डमा शिक्षा हासिल गरेकी उनी सन् २०११ मा आफ्ना पिताको निधनपछि सत्ता संरचनामा द्रुत रूपमा उक्लिएकी थिइन् । उनको पारिवारिक जीवनबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन, तर गत वर्ष सार्वजनिक गरिएको दुर्लभ भिडियोमा दुई साना बालबालिकासँग देखिएकी थिइन् ।

पार्टी सम्मेलनलाई किम जोङले आफ्नो नेतृत्व सुदृढ पार्ने अवसरका रूपमा लिइँदै आएको छ । किम वंशअन्तर्गत नवौँ पटक आयोजना गरिएको यस भेलाले भविष्यको उत्तराधिकारबारे पनि चासो बढाएको छ । विशेषगरी किम जोङकी छोरी किम जु एलाई अघि सारिने सम्भावनाबारे चर्चा भइरहेको छ । दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले उनलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको जनाएको छ ।

यता, डोनाल्ड ट्रम्पले पुनः भेटका लागि आफू ‘शतप्रतिशत’ तयार रहेको बताएको भए पनि किम जोङले हालसम्म उच्चस्तरीय वार्ता पुनः सुरु गर्ने सङ्केत दिएकी छैनन् । पछिल्लो पदोन्नतिसँगै किम यो जोङको भूमिका आन्तरिक शक्ति सन्तुलन र बाह्य कूटनीतिमा झन् निर्णायक बन्ने अनुमान गरिएको छ । रासस
 

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १२ : १६ बजे

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत