इस्लामावाद- अमेरिका र इजरायलद्वारा इरानविरुद्ध थालिएको युद्धको २४औँ दिनमा पाकिस्तानले टर्की र इजिप्टसँग मिलेर मध्यस्थताका लागि कूटनीतिक पहल तीव्र बनाएको छ।
पाकिस्तानी अधिकारीहरूका अनुसार यी तीन देशको समन्वयमा अमेरिकाले इरानको ऊर्जा र विद्युत् संरचनामाथि गर्ने योजना बनाएको आक्रमण पाँच दिनका लागि स्थगित गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार उक्त ‘स्थगन’ घोषणा गर्दै पछिल्ला दिनहरूमा इरानसँग ‘सकारात्मक र फलदायी वार्ता’ भएको बताएका थिए । उनले यो प्रयासले पूर्ण समाधानतर्फ लैजान सक्ने पनि बताए।
यद्यपि, यो स्थगन सर्तसहित सीमित रहेको छ । इरानका ऊर्जा तथा विद्युत् संरचनामा आक्रमण नगर्ने विषयमा मात्रै लागू भएको उनले बताए। अन्य क्षेत्रमा भने लडाइँ जारी नै छ।
पाकिस्तानी सरकार स्रोतलाई उद्धृत गर्दै त्यहाँको चर्चित अनलाइन डनले लेखेको समाचार अनुसार यो पहल सामान्य संकट व्यवस्थापनभन्दा अघि बढेर वास्तविक तनाव कम गर्ने दिशामा केन्द्रित छ।
‘टर्की, इजिप्ट र पाकिस्तानले केवल वक्तव्य मात्र होइन, व्यवहारमै पहल गरेर वासिङ्टन र तेहरानबीचको दूरी घटाउने काम गरिरहेका छन्,’, डनले स्रोतलाई उल्लेख गर्दै लेखेको छ।
वासिङ्टनस्थित कूटनीतिज्ञहरूका अनुसार पाकिस्तान र टर्की दुवै इरानसँग सीमा जोडिएका देश भएकाले यस द्वन्द्वको प्रभाव प्रत्यक्ष रूपमा भोग्न सक्छन्। इरानमा अस्थिरता आएमा सुरक्षा, अर्थतन्त्र र शरणार्थी समस्या तत्कालै असर पार्ने भएकाले उनीहरू तनाव रोक्न सक्रिय देखिएका छन्।
इजिप्टको भूमिका फरक भए पनि महत्वपूर्ण छ। अरब संसारको ठूलो राष्ट्रका रूपमा र इजरायलसँग प्रत्यक्ष संवाद राख्न सक्ने केही देशमध्ये एक भएकाले कायरोले अन्यले नसक्ने सन्देश आदानप्रदान गर्न सक्छ।
रिपोर्टहरूका अनुसार तीन देशका वरिष्ठ अधिकारीहरूले अमेरिकी विशेष दूत स्टिभ विटकोफ र इरानका विदेशमन्त्री अब्बास अर्घाचीसँग छुट्टाछुट्टै सम्पर्क गरी दुवै पक्षबीच सन्देश आदानप्रदान गरिरहेका छन्। यद्यपि वासिङ्टन र तेहरानबीच प्रत्यक्ष वार्ता भइसकेको छैन।
स्रोतका अनुसार अंकारा, कायरो र इस्लामावादबीचको रणनीतिक सहकार्यले महत्वपूर्ण कूटनीतिक मार्ग सिर्जना गरेको बताइएकव छ। जसले क्षेत्रीय सहकार्य नै तनाव कम गर्ने सबैभन्दा प्रभावकारी उपाय भएको देखाएको छ।
पाकिस्तान केही समयदेखि मध्यस्थकर्ताको भूमिकामा रहँदै आएको छ। उसले अमेरिकी सन्देश इरानसम्म पुर्याउने र फर्काउने काम गर्दै आएको थियो।
पछिल्ला दिनमा ऊर्जा संरचना र स्ट्रेट अफ हर्मुज वरिपरि तनाव बढेसँगै पाकिस्तानको कूटनीतिक सक्रियता अझ बढेको बताइएको छ।
‘पाकिस्तानले आफूलाई क्षेत्रीय स्थिरता कायम गर्ने शक्तिका रूपमा पुनः स्थापित गरिरहेको छ,’ एकजना पाकिस्तानी अधिकारीले भनेका छन् ।
कूटनीतिक पहलको दायरा फराकिलो
अधिकारीहरूका अनुसार वार्ता केवल अस्थायी स्थगनमा सीमित नभई तनाव घटाउने, होर्मुज जलक्षेत्र खोल्ने र युद्ध अन्त्यका सर्तहरू तय गर्ने विषयमा केन्द्रित छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले केही ‘मैत्रीपूर्ण देश’मार्फत् सन्देश आदानप्रदान भएको पुष्टि गरेका छन्। तर इरानले सार्वजनिक रूपमा अमेरिका वा ट्रम्प प्रशासनसँग कुनै प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता नभएको दाबी गर्दै आएको छ।
इरानले समाधानका लागि भविष्यमा अमेरिका वा इजरायलबाट आक्रमण नहुने ग्यारेन्टी, क्षतिपूर्ति, आफ्नो अधिकारको मान्यता र क्षेत्रीय सम्झौता आवश्यक हुने अडान दोहोर्याएको छ।
अमेरिकी अधिकारीहरूले भने अप्रत्यक्ष संवादले नै आक्रमण स्थगनको वातावरण तयार गरेको दाबी गरेका छन्।
इस्लामावादको सक्रियता र सम्भावित वार्तास्थल
इस्लामाबादमा यस घटनालाई पाकिस्तानको कूटनीतिक रणनीतिको सफलताको रूपमा हेरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शाहबज शरिफले इरानी राष्ट्रपति मसुद पेजेस्कियनसँग टेलिफोन संवाद गर्दै बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका थिए । उनले वार्ता तथा कूटनीतिक समाधानको आवश्यकता जोड दिएका थिए।
त्यस्तै, उपप्रधान तथा विदेशमन्त्री इशाक दरले पनि आफ्ना इरानी समकक्षी अराघचीसँग संवाद गर्दै क्षेत्रीय शान्तिका लागि वार्ता अपरिहार्य रहेको बताएका छन्।
रिपोर्टहरूका अनुसार ट्रम्पले पाकिस्तानी सेना प्रमुख असीम मुनीरसँग पनि संवाद गरेका थिए, यद्यपि यसको आधिकारिक पुष्टि भएको छैन।
केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले इस्लामावादलाई अमेरिका–इरान सम्भावित प्रत्यक्ष वार्तास्थल बन्न सक्ने बताएका छन्। तर यसबारे पाकिस्तान, अमेरिका वा इरानबाट औपचारिक पुष्टि भएको छैन। सेना प्रमुख अशिम मुनिरले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेको जानकारी आएको छ।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले भने, ‘यदि दुवै पक्ष तयार भए, इस्लामावाद वार्ताका लागि सधैँ खुला छ ।’
उनले शान्ति र स्थायित्वका लागि संवादको पक्षमा पाकिस्तान सधैं रहेको बताएका छन्। यस प्रयासको उद्देश्य अमेरिका र इरानबीचको तनाव कम गर्नु र संवादको बाटो खोल्नु रहेको छ।
यस प्रक्रियामा अमेरिकी विशेष दूत स्टेभ विकटोफ र इरानका विदेशमन्त्री अब्बा अर्घाचीको पनि भूमिका पनि उल्लेख गरिएको छ।
कसरी आयो पाकिस्तान चर्चामा ?
युद्ध चलिरहे पनि पर्दा पछाडि कूटनीतिक गतिविधि तीव्र भइरहेको छ । यही सन्दर्भमा इरानको छिमेकी मुलुक पाकिस्तानको नाम अन्तर्राष्ट्रिय छलफलमा आएको हो ।
पछिल्लो एक हप्तामा इस्लामावादले अमेरिका–इजरायल र इरानबीच बढ्दो तनावमा मध्यस्थता गर्न सक्रिय रूपमा प्रस्ताव राखेको रिपोर्टहरूमा उल्लेख छ।
रिपोर्टअनुसार पाकिस्तानको सैन्य र राजनीतिक नेतृत्वले अमेरिकी उच्च अधिकारीहरूसँग, विशेषगरी राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष सम्पर्क गर्दै संवादको सहजीकरण र तनाव कम गर्न आफ्नो तत्परता देखाएको हो । केही विवरणहरूले आवश्यक परे इस्लामावादमै वार्ता आयोजना गर्न पनि पाकिस्तान तयार रहेको संकेत गरेका छन्।
साउदी अरबको भूमिकासँग जोडिएको पाकिस्तानको पहल
वासिङ्टनस्थित विद्वान बाली नसरका अनुसार पाकिस्तानको कुनै पनि कूटनीतिक पहल साउदी अरेबियाको समर्थनबिना अघि बढ्ने सम्भावना कम छ।
उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘पाकिस्तान साउदी समर्थन र प्रेरणा पाएपछि मात्र अगाडि बढ्छ । रियाद यस प्रक्रियामा सक्रिय हुने सम्भावना छ।’
यसले पाकिस्तान र साउदी अरबबीचको गहिरो सैन्य तथा आर्थिक सम्बन्धलाई झल्काएको पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन् । जसका कारण कुनै पनि मध्यस्थता प्रयासमा साउदीको अप्रत्यक्ष समर्थन रहने सम्भावना उच्च हुन्छ।
तेहरान र वासिङ्टनसँग समान पहुँच
पाकिस्तानको सम्भावित मध्यस्थकर्ताको रूपमा महत्त्व यसको तेहरान र वासिङ्टन दुवैसँगको पहुँचमा आधारित छ, जुन वर्तमान भू–राजनीतिक अवस्थामा दुर्लभ संयोजन बनेको छ ।
विश्लेषक मिचेल कुङ्गेलम्यानले भनेका छन्, ‘पाकिस्तान अमेरिका–इरानबीच मध्यस्थता गर्न असम्भव पात्र होइन। पछिल्लो एक वर्षमा पाकिस्तान–इरानबीच उच्चस्तरीय भेटघाट भएका छन्। अमेरिकी प्रशासन पाकिस्तानप्रति सकारात्मक छ। ट्रम्पले पनि फील्ड मार्शल असिम मुनिरलाई इरानबारे राम्रो जानकारी भएको व्यक्ति बताएका छन्।’
उनले पाकिस्तानले अमेरिकामा इरानको कूटनीतिक हितसमेत प्रतिनिधित्व गर्ने गरेको उल्लेख गरेका छन्।
किन पाकिस्तानको चर्चा ?
कूटनीतिक विश्लेषकहरूका अनुसार पाकिस्तानको भूमिका अहिले चर्चामा आउनुका मुख्य कारणहरू यी हुन् ।
- युद्ध लामो र जोखिमपूर्ण चरणमा पुगेको छ, जसले क्षेत्रीय विस्तारको डर बढाएको छ ।
- अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता राजनीतिक रूपमा जटिल बनेको छ ।
- तेस्रो पक्षमार्फत संवाद आवश्यक हुने अवस्था सिर्जना भएको छ ।
- पाकिस्तानले वासिङ्टन, तेहरान र खाडी देशहरूसँग निरन्तर उच्चस्तरीय सम्पर्क बढाएको छ ।
युद्ध चर्किँदै जाँदा प्रत्यक्ष संवादका मार्ग साँघुरा भएका छन् । त्यसैले दुवै पक्षसँग सम्बन्ध राख्ने देशहरूको भूमिका स्वतः महत्वपूर्ण बन्ने कूटनीतिज्ञहरू बताउँछन्। यही कारण अहिले पाकिस्तानले इजिप्ट र टर्कीसँग मिलेर युद्धलाई रोक्ने भूमिकामा आफूलाई देखाउन खोजिरहेको छ।













प्रतिक्रिया