संविधानसभापछि सिंहदरबार फर्कँदै संसद् « Khabarhub

संविधानसभापछि सिंहदरबार फर्कँदै संसद्


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ । 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद् बैठक अब सिंहदरबारस्थित निर्माणाधीन आफ्नै भवनमा बस्न लागेको हो । सोही भवनमा प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सदस्यको शपथ यही चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको छ ।

विसं २०६४ चैत २८ गते भएको निर्वाचनबाट ६०१ सदस्यीय संविधानसभा गठन भएपछि पुरानो संसद् (ग्यालरी बैठक) भवन साँघुरो भएकाले संसद्को अधिवेशन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको थियो । संविधानसभा अघिसम्म भने संसद् बैठक सिंहदरबारस्थित पुरानो संसद् (ग्यालरी बैठक) भवनमा बस्दै आएको थियो । विसं २०१६ देखि प्रारम्भ भएको नेपालको संसदीय इतिहास त्यहीँ भवनबाट सुरु भएको थियो ।

गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा आगलागीबाट बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन ध्वस्त भएको थियो । राष्ट्रियसभाको बैठक भने यसअघि गत माघ ४ गतेदेखि नै अस्थायी रुपमा सिंहदरबारस्थित कृषि समितिको बैठक कक्षमा बस्दै आएको छ ।  

सङ्घीय संसद् सचिवालयले संविधानसभा बैठकका लागि २०६५ जेठदेखि भाडा र कर्मचारी परिचालनसहित वार्षिक रु पाँच करोड ६० लाख तिर्ने गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिसँग सम्झौता गरेको थियो । समितिका वरिष्ठ कार्यक्रम संयोजक दीपेन्द्रविक्रम सिंहका अनुसार उक्त भाडा प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि भई पछिल्लो समय गत असोजसम्म पुग्दा वार्षिक रु १६ करोड ५० लाख पुगेको थियो ।

सचिवालयले संसदीय गतिविधिका लागि समितिको १५३ रोपनी क्षेत्रफलमा रहेका मुख्य सभा हलसहित आठ विभिन्न हल, विशिष्ट कक्ष, पार्किङ, बगैँचालगायत प्रयोग गर्दै आएको संयोजक सिंहले बताए। जेन-जी आन्दोलनपछि संसद् सचिवालयले सूचना प्रकाशित गरी गत असोजदेखि एकतर्फी रुपमा उक्त सम्झौता रद्द गरेको छ ।

तत्काल संसद् बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको मुख्य हल निर्माण हुन केही समय लाग्ने भएपछि सङ्घीय संसद् सचिवालयले बहुउद्देश्यीय हल तत्कालका लागि प्रयोग गर्ने जनाएको छ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले शपथ ग्रहण र प्रारम्भिक बैठकका लागि वैकल्पिक हलको व्यवस्था गरिएको जानकारी दिए । मुख्य हल तयार हुन केही समय लाग्ने भएपछि तत्कालका लागि वैकल्पिक व्यवस्था गरिएको उनको भनाइ छ ।

निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएपछि प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी थालिएको हो । त्यसका लागि प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ गराउनुहुने कार्यक्रम तय भएको छ । 

त्यसैगरी, ज्येष्ठ सदस्य केसीले यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सबै सदस्यहरूलाई नयाँ संसद् भवनमा शपथ गराउनुहुने प्रवक्ता गिरिले बताए । नेपालको संविधानको धारा, ९३ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ ।

नयाँ संसद् भवन सिंहदरबारस्थित पुतली बगैँचामा २०७६ असोज १ गते शिलान्यास गरिएको थियो । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार भवनको अधिकांश काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम बाँकी छ ।

 विभागका अनुसार संसद् भवनको सिभिल निर्माणतर्फ करिब रु पाँच अर्ब ५० देखि ६० करोड हाराहारी खर्च हुने अनुमान छ भने ‘इन्टेरियर’ निर्माणका लागि थप रु दुई अर्ब ३४ करोड लागत रहेको छ । करिब १५१ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद् भवन तयार भएपछि सङ्घीय संसद्का सम्पूर्ण गतिविधि यही नयाँ संरचनाबाट सञ्चालन हुनेछन् ।

यसमा प्रतिनिधिसभा र राष्ट्रियसभाका भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । संसद् भवनभित्र मुख्य भवन आठ छन् । भवनभित्र ३५० सिट क्षमताको संयुक्त ‘लबी’ हुनेछ भने सानाठूला गरी १० संसदीय दलका कार्यालय हुनेछन् । साथै चार अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, संसद् ‘लाइब्रेरी’लगायत संरचना निर्माण गरिएका छन् ।

रासस  

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १ : ३४ बजे

हङकङेली नेपालीका रोजगार एप ‘जबलिङ्क कनेक्ट’ सार्वजनिक

हङकङ – हङकङका नेपाली व्यवसायीद्वारा पहिलोपटक विकसित गरिएको मोबाइल एप्लिकेसन

किमको आणविक अडान कडा

सियोल- उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने स्पष्ट

देउवा पक्षलाई गगनको सन्देश : मैले हाँकेको गाडी अघि बढिसक्यो, यदि कोही छुट्छ भने त्यो मेरो कुरा होइन

ललितपुर‍- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा

जाँदाजाँदै कर्मचारीमाथि किन खनिन्छन् मन्त्री-प्रधानमन्त्री, पूर्वसचिव भन्छन्- ‘कार्यक्षेत्रकै भेउ पाउँदैनन्’

काठमाडौं– केही दिन अगाडी सहरी विकास मन्त्री कुमार इङ्नामले कर्मचारीहरूले

झापामा ‘बर्ड फ्लु’को प्रकोप : पक्षीजन्य वस्तु ओसार–पसारमा रोक

झापा– यहाँका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका