काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पाँच रसियन फिल्महरू स्क्रिनिङ हुने भएका छन् ।
‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले पाँच रसियन फिल्महरू स्क्रिनिङ गर्न लागेको आयोजकले बताएको छ ।
निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रिसियन हाउसमा फिल्महरू ‘अगस्ट’, ‘द च्यालेन्ज’, ‘द डिनो फ्यामिली’ र ‘अल रङ गर्ल’ स्क्रिनिङ गर्न लागिएको अध्यक्ष केपी पाठकले जानकारी दिए ।
नेपाल र रुसबीच सांस्कृतिक आदनाप्रदानलाई प्रवर्धन र अर्को उद्योगसँग नेपाली चलचित्रकर्मीको सम्बन्ध विस्तार गर्ने उद्देश्यले निफमा ‘रसियन फिल्म डेज’ कार्यक्रम राखिएको पाठकले बताए ।
उनले भने, ‘नेपाली दर्शक र चलचित्रकर्मीले रिसियन चलचित्र, कला, प्रविधिबारे ज्ञान तथा त्यहाँका मेकरहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर पाउनेछन् भनेर यो कार्यक्रम समावेश गरिएको हो ।’
नेपाल र रुसबीच दौत्य सम्बन्ध स्थापित भएको ७० औं वर्ष पूरा भएको अवसर पारेर निफमा रसियन फिल्म स्क्रिनिङ गर्ने निर्णय भएको आयोजकले बताएको छ ।
निफको अन्तर्राट्रिय चलचित्र प्रतिस्पर्धामा अर्को एक रसियन फिल्म ‘द पोएट’ पनि सहभागी भएको छ । फेलिक्स उमारोभ निर्देशित फिल्म ‘द पोएट’ लोकप्रिय रुसी कवि अलेक्जेन्डर पुश्किनको जीवनीमा आधारित छ ।
यो फिल्म चैत २३ गते बिहान ११ बजे ठमेलस्थित छाया सेन्टरको हलमा स्क्रिनिङ हुनेछ ।
आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तक्र्रियात्मक कार्यक्रमहरू गरिनेछ । यी कार्यक्रमबारेका थप जानकारी निफको सामाजिक सञ्जाल र वेबसाइटबाट चाँडै सार्वजनिक हुने बताइएको छ ।
कस्ता रसियन स्क्रिनिङ हुनेछन् ?
एतिहासिक र थ्रिलर जनरामा बनेको फिल्म ‘अगस्ट’ दोस्रो विश्वको अन्तिमतिरको घटनामा आधारित छ । शत्रुलाई परास्त गर्न युद्धमा अगाडि बढेको सोभियत संघको रेड आर्मीलाई पछाडिबाट हुनसक्ने आक्रमण रोक्न ‘काउन्टर इन्टेलिजेन्स एजेन्सी’ले गरेको संघर्षको घटनामा आधारित रहेर यो फिल्म बनेको छ । इल्या लेबेदेव र निकिता वैसोत्स्कीले यो फिल्म संयुक्तरुपमा निर्देशन गरेका हुन् ।
अन्तरिक्षको घटनामा बनेको क्लिम शिपेन्कोद्वारा निर्देशित फिल्म ‘द च्यालेन्ज’ अन्तरिक्षमा छायाङ्नक भएको पहिलो फिल्म हो । एक चिकित्सक अन्तरिक्ष स्टेसनमा पुगेर त्यहाँका बिरामीको शल्यक्रिया गर्नुपर्ने जटिल र साहासिक कथामा यो फिल्म बनेको छ । शून्य गुरुत्वाकर्षणमा गरिने शल्यक्रियाले यो फिल्मलाई रोचक बनाएको छ ।
एडभेन्चर र पारिवारिक जनरामा बनेको फिल्म ‘द डिनो प्यामिली’को निर्देशक म्याक्सिम भोल्कोभ हुन् । एक किशोरी झुक्किएर डाइनोसर युगमा पुगेपछि जीवन रक्षाका लागि भिमकाय जनावरसँग गरेको द्वन्द्वको कथा यस फिल्ममा प्रस्तुत गरिएको छ ।
इभानोभा लेक्जान्ड्राद्वारा निर्देशित ‘अल रङ गर्ल’ले ‘बुलिङ’को मुद्दा उठान गरेको छ । १० कक्षामा पढ्ने किशोरी मोटोपनका कारण आफ्नो एकतर्फी प्रेमीका अगाडि अपमानित भएपछि उनले गर्ने विद्रोहको कथा फिल्ममा समेटिएको छ ।













प्रतिक्रिया