थापाथलीका सुकुम्बासी : कसैलाई लजमा बस्न सङ्कोच, कोही अपार्टमेन्टमा नसर्ने, कसैले पाएनन् कोठा « Khabarhub

थापाथलीका सुकुम्बासी : कसैलाई लजमा बस्न सङ्कोच, कोही अपार्टमेन्टमा नसर्ने, कसैले पाएनन् कोठा



काठमाडौं- काठमाडौंको थापाथलीस्थित बागमती खोला किनारमा रहेको सुकुम्बासी बस्ती खाली गर्न सरकारले उर्दी जारी गरेको छ । शनिबार बिहान ६ बजेदेखि सरकारले सुकुम्बासी बस्ती खाली गर्ने तयारी गरेको छ । वैशाख ९ गतेदेखि नै त्यहाँ रहेका सुकुम्बासीलाई स्थानान्तरण गर्न प्रहरीले माइकिङ गरिरहेको थियो । शुक्रबार बेलुका पनि प्रहरीले जतिसक्दो छिटो बस्ती खाली गर्न अन्तिम पटक सूचना जारी गर्दै माइकिङ गरेको थियो । सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरुलाई लजमा राख्ने तयारी गरेको समाचार सार्वजनिक भएको छ ।

तर, कतिपय सुकुम्बासी सरकारले आफूहरुलाई लजमा राख्ने कुरामा विश्वास नलागेको बताउँछन् । सुकुम्बासी बस्ती छाड्ने तयारी गर्दै गरेकी कमला गुरुङले आफूहरुलाई लजमा राख्ने सरकारको कुरामा विश्वास नलागेको बताइन् । शुक्रबार दिउँसो खबरहब टिम थापाथलीस्थित सुकुम्बासी बस्तीमा जाँदा उनले त्यहाँ बस्न नदिएको सरकारले कति दिन लजमा राख्छ ? भनेर प्रश्न गरिन् ।

‘जीवनभर कमाएका भाँडाकुडामाथि डोजर नचलोस् भनेर थन्क्याएका हौँ । हामी अब खुला आकाशमुनि सुत्छौँ । परिवारमा पाँच जना छौँ । पहिलेपनि केही नभएर सुकुम्बासीमा भयौँ । अब त सरकारले टहरो पनि देख्न सकेन ।’ उनले भनिन् । मिडियासँग त्यति खुलेर कुरा गर्न नचाहेकी उनले बस्ती खाली गर्ने निर्णय आएको दिनदेखि निन्द्रा हराएको र भोक हराएको दुखेसो पोखिन् ।

सरकारले सुकुम्बासीहरुको व्यवस्थापन गर्न काठमाडौंको नागार्जुन नगरपालिका-१ रहेको रानी वनमा भवन बनाइदिएको छ । तीन वटा भवन बनाइएको उक्त क्षेत्रमा अहिले नगरपालिकाको वडा नम्बर १ कार्यालय, प्रहरी बिट, स्वास्थ्य कार्यालय, रानीवन नासीढोका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय रहेका छन् ।

तर सुकुम्बासी बस्तीमा भटिएका कतिपय भने सरकारले बनाइदिएको अपार्टमेन्टमा नजाने मनस्थितिमा छन् । बस्तीमा भेटिएकी अर्की महिला गोमा मगरले भने सरकारले दिएको अपार्टमेन्टमा आफूहरु नजाने बताउँछिन् । उनले खबरहबसँग भनिन्, ‘अपार्टमेन्टमा तीन वटा अति साना कोठा छन् । त्यहाँ मान्छे बस्न असहज छ । तर, त्यसको भाडा धेरै महङ्गो छ । त्यति सानो अपार्टमेन्ट कति महङ्गो भने छोरा र नाति पुस्ताले पनि किस्ता तिरेर सक्दैन । सरकारले दिएको अपार्टमेन्ट किन नगएको भनेर हामीलाई प्रश्न गरिरहेका छन् । त्यो सित्तैमा दिएको अपार्टमेन्ट होइन ।’

काठमाडौंबाट जम्मा २३ परिवारले मात्रै भूमि समस्या समाधान आयोगमा निवेदन दिएका रहेछन् नि, तपाईँलाई थाहा छ ? भन्ने खबरहबको प्रश्नमा उनले हरेक वर्ष फाराम भरेर लगेपनि आफूहरु कहिले आयोग नगएको स्वीकार गरिन् । उनले भनिन्, ‘सरकारले हरेक वर्ष हाम्रो नागरिकता र अरु के-के फाराम भराएर लैजान्छ । हाम्रो सम्पत्ति छानबिन गरेर हामी सुकुम्बासी हौँ कि होइन भन्ने हेरे भयो त !’

सुकुम्बासी बस्तीमा बस्दै आएका कतिपयले भने काठमाडौंमा कोठा भाडा नपाएको गुनासो गरेका छन् । थापाथलीको बस्तीमा सात वर्षदेखि सानो होटल सञ्चालन गर्दै आएकी एक महिलाले आफूहरुलाई काठमाडौंमा कोठा भाडा नदिइएको बताइन् । उनले सुकुम्बासी बस्तीबाट आएको थाहा पाएपछि घरबेटीले कोठा खाली भएपनि नदिएको गुनासो गरिन् ।

खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘हामी नौ जनाको परिवार छौँ । यही सानो होटल चलाउँदै जिविकोपार्जन गर्दै आएका थियौँ । सरकारले जसरी पनि निस्केर जा भनेपछि निस्कनै पर्‍यो । तर, हामीलाई सुकुम्बासी बस्तीबाट आएको भनेपछि कोठा भाडा दिएनन् । परिवारको सदस्य हेरेर पनि नदिएका होलान् । तर, अर्को व्यवस्था नहुञ्जेल आपत्कालिन समयमा पनि हामीलाई यहाँका घरधनीले कोठा भाडामा दिएनन् ।’

उक्त होटल सार्न कम्तिमा पनि एक हप्ता लाग्ने जानकारी दिँदै उनले सरकारले निर्ममता देखाउन खोजेपछि आफूहरु उपायविहीन भएको बताइन् । सानो बच्चा काखी च्यापेर बसेकी उनी सरकारले जहाँ लग्यो त्यहीँ जाने मनशाय बनाएको बताइन् ।

यस्तै, थापाथली बस्तीमा आज मनोहरा सुकुम्बासी बस्तीमा १५ वर्ष बिताएकी विन्दा पौडेल पनि आएकी थिइन् । उनले सरकारको निर्णयविरुद्ध देशभरका सुकुम्बासीको आवाज एक रहेको सन्देश दिन आफू त्यहाँ पुगेको बताइन् । ‘सरकारले कुनै विकल्प नै नदिइ यसरी आजको भोलि बस्ती खाली गर्ने निर्णय थोपर्न पाउँदैन । सरकारले बस्ती होइन, सबैभन्दा पहिले हामी माथिबाट डोजर चलाउने आँट लिएर आओस्,’ उनले चेतावनी दिइन् ।

शुक्रबार सुकुम्बासी बस्तीमा श्रम संस्कृति पार्टीका नेता समिर लामा पनि नागरिकहरुसँग अन्तक्रिया गरिरहेको अवस्थामा भेटिए । उनले व्यवस्थापन नै नगरी बस्तीमाथि सरकारले डोजर चलाउनु तानाशाहको संकेत भएको आरोप लगाए । ‘सरकारले बस्ती खाली गर्ने निर्णय गरेकै दिनदेखि हामी बस्तीबासीहरुसँगै छौँ । व्यवस्थापन नगरी डोजर चलाउनु राम्रो होइन । दुःख नभइ यस्तो दुर्गन्धित खोलाको छेउमा मानिस त्यतिकै बस्दैन । आज बिहानैदेखि बस्तीमा बसेर जनताहरुको समस्या हेरिरहेका छौँ । भत्काउनु नै समस्याको समाधान होइन,’ उनले भने ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ६ : ५९ बजे

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

थापाथलीको सुकुम्बासी बस्ती भत्काउन ५ वटा डोजर तयारी अवस्थामा

काठमाडौँ । सरकारले काठमाडौँ महानगरसँगको समन्वयमा काठमाडौँका विभिन्न सुकुमवासी बस्ती

साई सुदर्शनको शतकमा गुजरातले आरसीबीलाई दियाे २०६ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा

बैतडीमा आँफैले भरेको भरुवा बन्दुक पड्किँदा वडा सदस्यको मृत्यु

धनगढी – बैतडीको सुर्नया गाउँपालिका–२ का वडा सदस्य दान बहादुर

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा