भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु « Khabarhub

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु


१० जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जनाएका छन् । देशका विभिन्न भागमा फैलिएको तीव्र लुपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ ।

भारतमा गर्मी असामान्य कुरा नभए पनि वैज्ञानिक अध्ययनहरूले जलवायु परिवर्तनका कारण लुहरू पहिलेभन्दा लामो, बढी आवृत्तियुक्त र बढी तीव्र हुँदै गएको देखाएको छ ।

एक अर्ब ४० करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली राष्ट्रका विभिन्न सहरमा हालै तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेसँगै जनजीवन प्रभावित बनाएको छ ।

दक्षिणी राज्य तेलङ्गानामा सबैभन्दा बढी मृत्यु दर्ता भएको छ । त्यहाँका राजस्वमन्त्री पोङ्गुलेटी श्रीनिवास रेड्डीले जनस्वास्थ्य सुरक्षाका लागि राज्यव्यापी सतर्कता अपनाउन आह्वान गरे ।

उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा गर्मीको तीव्रता अभूतपूर्व स्तरमा पुगेको उल्लेख गर्दै समयमै चेतावनी प्रणाली र सावधानी उपायहरू अपनाउन निर्देशन दिइएको छ ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मीले शरीरमा पानीको कमी (डिहाइड्रेसन) गराउन सक्छ, जसले रगत बाक्लो बनाउने र गम्भीर अवस्थामा अङ्गहरू काम गर्न छोड्ने जोखिम बढाउने गर्छ ।

तेलङ्गानाको स्थानीय प्रशासनले वृद्ध, बालबालिका र गर्भवतीलाई अत्यावश्यक नभएसम्म दिनको समयमा बाहिर ननिस्कन आग्रह गरेको छ ।

यसैबीच, भारतीय मौसम विभागले देशका धेरै भागमा सामान्यभन्दा बढी तापक्रम र तीव्र लु जारी रहने चेतावनी दिएको छ ।

राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा यस हप्ता लगातार तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसले विद्युत् मागलाई रेकर्ड स्तरमा पुर्‍याएको छ ।

विशेषज्ञहरूका अनुसार दिउँसो मात्र नभई रातको तापक्रम पनि उच्च रहँदा मानिसहरूले पर्याप्त आराम नपाइरहँदा स्वास्थ्य जोखिम अझ बढाएको छ ।

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारत हरितगृह ग्यास उत्सर्जन गर्ने देशमध्ये तेस्रो स्थानमा पर्छ र विद्युत् उत्पादनका लागि कोइला उपयोगमा उच्च निर्भरता राख्छ ।

भारतले सन् २०७० सम्ममा शुद्ध–शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धता जनाएको छ । यो प्रतिबद्धता धेरै औद्योगिक पश्चिमी देशहरूको लक्ष्यभन्दा करिब दुई दशक पछिको हो ।

यसअघि सन् २०१६ मा राजस्थानको फलोदीमा ५१ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । यसलाई भारतमा हालसम्मको सबैभन्दा उच्च आधिकारिक तापक्रम मानिन्छ । रासस

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  १ : ४० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली