गाडी दर्ता रोकिएपछि व्यवसायीको प्रश्न : भन्सारमा रोकिएका सवारीको क्षतिपूर्ति कसले दिन्छ ? « Khabarhub

गाडी दर्ता रोकिएपछि व्यवसायीको प्रश्न : भन्सारमा रोकिएका सवारीको क्षतिपूर्ति कसले दिन्छ ?



काठमाडौं- यातायात व्यवस्था विभागले बिहीबार देशभरका ४४ यातायात कार्यालयलाई विद्युतीयसहित नयाँ सार्वजनिक सवारी साधन दर्ता नगर्न सर्कुलर जारी गर्‍यो । यातायात व्यवस्था विभागले बढ्दो ट्राफिक जाम, वायु प्रदूषण, सडकमा सवारी चाप र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ उपदफा (३) अनुसार अर्को सूचना जारी नभएसम्म नयाँ सार्वजनिक सवारी दर्ता रोकिएको जनाएको हो ।

उक्त प्रावधानले विभागलाई सार्वजनिक हित, वातावरण प्रदूषण, सडकको अवस्था वा सवारी चापका आधारमा दर्ता रोक्न सकिने अधिकार दिएको छ । यता, नेपाल चेम्बर अफ कमर्सले शुक्रबार विज्ञप्ती निकाल्दै पूर्वसूचना बिना गरिएको सर्कुलरले अटोमोबाइल व्यवसायी, बैंक तथा लगानीकर्ताको अर्बौँ लगानी जोखिममा परेको भन्दै निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।

देशभरका यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले भने यसबारे कुनै धारणा नबनाइसकेको बताए । ‘सरकारले यो निर्णय पक्कै पनि विचार गरेर नै ल्याएको होला । अहिले हामीले औपचारिक धारणा बनाइसकेका छैनौँ । एक दुई दिनमा यसलाई छलफल गरेर धारणा बनाउनेछौँ,’ उनले भने ।

पूर्वजानकारी बिनै सरकारले गरेको यस निर्णयले व्यवसायी भने अन्यौलमा परेका छन् । भन्सारमै रहेका सवारीको हकमा उनीहरुलाई अन्यौल छ । ‘राज्यले पुराना सवारीसाधन व्यवस्थापन गर्दै नयाँ कार्यविधिसहित काम गर्न चाहेको हो भने यो निर्णय स्वागतयोग्य नै छ,’ पश्चिम नेपाल बस व्यवसयी संघका प्रतिनिधि भोलानारायण रेग्मीले भने ।

राज्यले निर्णय गरिसकेको अवस्थामा संघबाट भने हालसम्म औपचारिक धारणा सार्वजनिक नगरिएको उनको भनाइ छ । योसँगै मध्यपूर्वको द्वन्द्वका कारण इन्धन अभाव भइरहेको अवस्थामा इन्जिन सवारीलाई पनि विद्युतीय सवारी बनाउन सरकारको उनले ध्यानाकर्षण गराए ।

‘तेल महँगो हुँदै गएको छ । इन्जिन गाडीले बढी तेल खान्छ । यो कहिलेसम्म हुन्छ, कति बढ्छ पत्तो छैन । सरकारमा पुगेका प्रतिनिधिले यसलाई इलेक्ट्रिक बनाउन पहल गर्ने हो कि ?,’ उनले भने ।

यस्तै, दर्ता नभएर नाकामा अड्किएका सवारीसाधनको हकमा के हुन्छ भन्ने पनि स्पष्ट छैन । ‘नाकामा हाम्रा साथीका पनि कति गाडी आएका छन्, कति आउने प्रक्रियामा छन् । त्यसको हकमा के हुन्छ ? अल्टिमेटम दिएको भए त लगानी डुब्ने डर हुने थिएन,’ उनले भने ।

यस्तै, काठमाडौं–स्याङ्जा बस चलाउँदै आएका अर्का व्यवसायी उदय ढुङ्गानाले पनि सरकारको निर्णय स्वागतयोग्य रहेको बताए । ‘म साहु त हैन । तर खराब कन्डिसनका बस हटाउने नयाँ–नयाँ मात्रै राख्ने सोच सरकारको हो भने दुर्घट्ना पनि कम हुन्छ होला भन्ने मलाई लागेको छ,’ उनले भने ।

अहिले एउटै रुटमा धेरै सवारी चलाएर भइरहेको अस्वस्थ प्रतिस्पर्धालाई पनि सरकारको निर्णयले रोक्न सक्ने उनको अपेक्षा छ । सोही क्रममा नेपाल सरकारको संघीय सदनको पूर्वाधार विकास समितिले भने सरकारले सार्वजनिक यातायातलाई वैज्ञानिक तवरबाट सञ्चालन गर्न दर्ता रोकेको जनाएको छ ।

‘नीतिगत तहमा बसेर हेर्दा कुन रुटमा कति सवारी चलेको छ, कति क्षमता हो ? कति वर्ष पुरानो छ ? नवीकरण गरेका छन् कि छैनन् ? भन्ने कतै रेकर्ड छैन । सार्वजनिक यातायातको अवस्था भद्रगोल छ । त्यही भएर केही समय वैज्ञानिक अध्ययन गरेर व्यवस्थापनको सिस्टम मिलाउने सरकारको उद्देश्य हो,’ समितिका अध्यक्ष तथा यातायात विज्ञ आशिष गजुरेलले भने ।

दर्ता प्रक्रिया केही समय मात्रै रोकिने हुँदा व्यवसायी आत्तिइहाल्नुपर्ने अवस्था नरहेको उनले प्रष्ट पारे । ‘देशभर चल्ने सवारीसाधनलाई डिजिटल्ली मोनिटाइज गर्न डेटाबेस बलियो बनाउन खोजिएको हो । यो सुधारपछि पुनः दर्ता हुन्छ,’ उनले भने ।

कुनै पनि रुटमा आवश्यकता अनुसार सवारीसाधन चलाइएको छ वा अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ भन्ने यकिन समेत गर्ने उनले बताए । ‘कुनै पनि रुटमा धेरै गाडी चलेका छन् भने त्यसैलाई मिलाउनुपर्‍यो । थोरै हो भने दर्ता सुरु गरेर थप्नुपर्‍यो भन्ने हो,’ उनले भने, ‘सिस्टम्याटिक बनाउँदासम्म मात्रै रोकिएको हो । नाकामा भएका गाडीको व्यवस्थापन नै नहुने भन्ने त हुँदैन ।’

आयातीत सवारीको मनपरी जुनसुकै रुटमा चलाइने प्रवृत्ति रोक्न यसले मद्दत पुग्ने उनको भनाइ छ । यातायात व्यवस्था विभागका पछिल्लो तथ्याङ्क अनुसार देशभर दर्ता भएका सवारीसाधन संख्या ५८ लाख ५० हजार ४ सय ३२ छ । तीमध्ये सबैभन्दा धेरै ४७ लाख ४४ हजार ७२ मोटरसाइकल रहेका छन् ।

यस्तै, ३ लाख ६६ हजार ७ सय २३ कार, जिप र ट्याक्सी दर्ता भएका छन् । ७१ हजार ५ सय ७७ बस, ४१ हजार ९ सय ८६ मिनिबस तथा ट्रक, १ लाख ९० हजार ६४ ट्याक्टर र ७३ हजार ६ सय ६ ई-रिक्सा सञ्चालनमा छन् ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ८ : ०८ बजे

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा