खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन « Khabarhub

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना सञ्चालनमा आएपछि ३७० घरधुरी लाभान्वित भएका छन् ।

गाउँपालिकाको कार्यालय, एक्सन फर नेपाल र उपभोक्ता समितिको त्रिपक्षीय लागत साझेदारीमा वडा नम्बर २ बाकाचोलमा लुबेरा–बादेल खानेपानी आयोजना र झाँक्रीबास खानेपानी आयोजना तथा वडा नम्बर ७ माक्पामा रोलुखोला नेरुङ खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो ।

तीनवटै आयोजनामार्फत घर तथा सार्वजनिक स्थानमा ३७२ वटा धारा निर्माण गरी खानेपानी वितरण गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का वडाध्यक्ष टेककेन्द्र राजभण्डारीले जानकारी दिए ।

‘तीनवटै खानेपानी आयोजना तोकिएको समयभन्दा अगावै सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । सबै घरमा निर्माण गरिएका धाराबाट पर्याप्त स्वच्छ खानेपानी उपलब्ध भएको छ’, उनले भने ।

उनका अनुसार त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित खानेपानी आयोजनालाई प्रभावकारी बनाउन अनुगमन तथा मर्मत समिति गठन गरिएको छ । खानेपानी आपूर्ति बन्द भएमा तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन हेरालुसमेत नियुक्त गरिएको छ ।

कुल एक करोड ३६ लाख ८४ हजार ७८५ लागतमा सम्पन्न बाकाचोलको लुबेरा–बादेल खानेपानी आयोजनाबाट २०४ वटा धारा निर्माण गरिएको छ । गत असार १६ गते सम्पन्न उक्त आयोजनाका लागि उपभोक्ता समितिले १३ लाख ६८ हजार ४७८ बराबरको श्रमदान गरेको जनाएको छ ।

त्यस्तै, ४२ लाख ७२ हजार ९५८ लागतमा सम्पन्न माक्पाको रोलुखोला नेरुङ खानेपानी आयोजनाबाट ४४ घरमा र सार्वजनिक स्थानमा दुई वटा धारा निर्माण गरिएको छ । उक्त आयोजना गत जेठ ६ गतेदेखि सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

खानेपानी आयोजना सञ्चालन हुनुअघि खानेपानीको समस्या रहेको झाँक्रीबासमा आयोजनामार्फत १२२ वटा धारा निर्माण गरिएको छ । करिब सात किलोमिटर टाढाको मुहानबाट पाइपमार्फत झाँक्रीबासमा पानी ल्याइएको हो । उक्त आयोजनाको गत जेठ १२ गते औपचारिक उद्घाटन गरिएको थियो ।

गाउँपालिका अध्यक्ष गीरेन्द्रबहादुर राईले आगामी वर्ष गाउँपालिकाका सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिए ।

‘सरकारको नीतिअनुसार गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन गरिरहेका छौँ । निर्वाचित भएर आएपछि करिब ५० प्रतिशत घरधुरीमा यो सेवा पु¥याइसकेका छौँ’, उनले भने, ‘गाउँपालिकामा तीन हजार ३५५ घरधुरी छन् । बाँकी सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने योजना बनाएर बजेट विनियोजन गरेका छौँ ।’

लामो समयदेखि कुवा तथा खोलाको पानी प्रयोग गर्दै आएका स्थानीय बासिन्दा घरघरमा निर्माण गरिएका धाराबाट स्वच्छ खानेपानी पाउन थालेपछि खुसी भएका छन् ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐँसेलुखर्क गाउँपालिकाको बाकाचोलमा यसअघि कादुरीले सञ्चालन गरेको खानेपानी आयोजना जीर्ण भएपछि नयाँ आयोजना सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका दुई वडामा एकैपटक तीन वटा खानेपानी आयोजना सञ्चालन गर्न २०८२ साल मङ्सिर २७ गते त्रिपक्षीय सम्झौता गरिएको थियो ।

सम्झौतामा गाउँपालिकाका तर्फबाट अध्यक्ष राई र प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा, एक्सन फर नेपालका तर्फबाट कार्यकारी प्रमुख लाक्पाछिरिङ शेर्पा र लेखा संयोजक अजिला लिम्बू तथा उपभोक्ता समितिका तर्फबाट सम्बन्धित वडाका वडाध्यक्षले हस्ताक्षर गरेका थिए । (रासस)

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ७ : ३० बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल