घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी « Khabarhub

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ । 

इस्कुसको मुन्टादेखि जरा (तरुल)सम्म बिक्री गरेर आम्दानी लिन पाइने भएपछि इस्कुस खेतीमा नै रमाउन थालेका हुन् । 

पहिला यहाँका जनताले जीवन चलाउन दाउरा बेच्नुपर्थ्यो । तर इस्कुसखेतीमा रमाउन थालेपछि यहाँका अधिकांश किसानको जीवन नै बदलिएको छ । 

अहिले त उनीहरुसँग जेठदेखि मङ्सिरसम्म रुपैयाँको कमी हुँदैन । शङ्खरापुर नगरपालिकाको दुई गाउँ घुमारचोक र लप्सेका किसानको जीवन गुजारको एकमात्र कृषि बाली इस्कुसखेतीनै हो । 

किसानले इस्कुसको मुन्टा सिजनमा प्रतिकेजी १०० देखि १५० सम्म, जरा (तरुल) प्रतिकेजी १५० देखि २०० रुपैयाँसम्म र इस्कुस प्रतिकेजी ३५ देखि ५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । 

उनीहरुले उत्पादन गरेका इस्कुस तथा अन्य सागसब्जी बिक्री गर्न बजारसम्म धाउनुपर्दैन । व्यापारीहरू ढक तराजु बोकेर घर/घर आउँछन् ।  

यहाँ प्रत्येक घर वरिपरि बारीमा टाढैसम्म लहरिएका इस्कुसका झ्याङ देखिन्छन् । इलामको चिया बगानजस्तै । यहाँका किसानको पुस्तौँदेखि आम्दानीको मुख्य आधार इस्कुस बनेको छ । अधिकांश घर परिवारको दैनिकी, चाडपर्व र वर्षभरिको खर्चसमेत इस्कुससँग जोडिएको छ । 

ऐतिहासिक साँखु बजार र बज्रयोगिनी मन्दिरबाट अलिकति माथि र शिवपुरी राष्ट्रिय निकुञ्ज, मणिचुड कुण्डभन्दा अलि कति तल घुमारचोक पर्दछ । सहरीकरणको हावा लाग्दै गरेको काठमाडौँको ग्रामीण क्षेत्र शङ्खरापुर नगरपालिका–८ घुमारचोकको भिरालो बस्ती यतिबेला इस्कुसको बगानले मनोरम देखिन्छ ।  

साथै वडा नं ४ लप्से पुग्दा पनि सो गाउँका अधिकांश घर–गोठ वरिपरि इस्कुसका ठूला–ठूला बगानहरू भेटिन्छ । यतिबेला यहाँका कृषकहरूलाई इस्कुस टिप्ने, प्याकिङ गर्ने र घरछेउमा आएका व्यापारीलाई बेच्न भ्याइनभ्याइ छ । 

यी दुई वडाका धेरै घर परिवारका लागि इस्कुस केवल सागसब्जी मात्र नभई वर्षभरिको घरखर्च धान्ने मुख्य आम्दानीको स्रोत बनेको छ । वर्षको करिब छ महिना यहाँका कृषकको दैनिकी इस्कुस टिप्ने, जोख्ने र बिक्री गर्ने काममै बित्छ । 

जेठदेखि उत्पादन सुरु हुने उक्त तरकारी  मङ्सिरसम्म फल्छ । शङ्खरापुर–४ लप्से थाङसाङ डाँडाका कृषक सञ्चमान घ्लानले इस्कुसखेती गर्न थालेको ३५ वर्ष नाघिसकेको छ । उनले पाँच रोपनी जग्गामा इस्कुसखेती गरेर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गरेका छन् । 

घुमारचोक र लप्सेका इस्कुसखेती किसान खुसी छन् । उनीहरुको जग्गासम्म सडकको पहुँच विस्तार भएपछि व्यापारी कृषकको बारीमा सजिलै पुग्ने भएकाले खुसी भएका हुन् । 

लप्सेकै अर्का कृषक बुद्धिबहादुर घ्लानले छ रोपनी जमिनमा इस्कुसखेती गरेका छन् । उनका सबै परिवार इस्कुसखेतीमा नै लागेका छन् । इस्कुसखेतीबाट आफू सन्तुष्ट भएको बताउछन् । 

घुमारचोकमा स्थानीय विकास थिङले यहाँका प्रायः किसानले थोरैमा एक लाख र बढीमा छ लाख रुपैयाँ सम्म इस्कुस बिक्री गर्ने गरेको बताए ।

शङ्खरापुरका यी दुई वडामा उत्पादन भएको इस्कुस काठमाडौँका विभिन्न तरकारी बजारमा पुग्ने गरेको छ । विशेषगरी यहाँका अधिकांश तामाङ परिवार इस्कुसखेतीमा आबद्ध छन् । 

यहाँका किसानले इस्कुससँगै काँक्रो, सिमी, आलुलगायतका अन्य तरकारी पनि लगाउँछन् । जग्गा भएका प्रायः घरपरिवार इस्कुसखेतीमा जोडिनुको कारण पनि यसको नियमित आम्दानी नै हो । 

एकैपटक ठूलो रकम हात पर्नेभन्दा पनि लामो समयसम्म थोरै–थोरै रकम निरन्तर आउने भएकाले घरायसी अर्थतन्त्र चलाउन सहज भएको कृषकहरूको अनुभव छ । 

ठूले मानबहादुर वाइवाले झन्डै पाँच रोपनी जग्गामा इस्कुसखेती गरेका छन् । विगतमा राम्रै फाइदा भए पनि यो वर्ष समयमानै थाक्रो दिन ढिलाइ भएकाले पाँच लाख रुपैयाँको इस्कुस बिक्री गरेको बताए  । 

घुमारचोकका म्याङ्गाई घ्लानले पनि पाँच रोपनीमा इस्कुसखेती गरेका छन् । उनले ५० हजार लगानी गरेर एक लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको बताए । यसक्षेत्रका डाँडाकटेरी, कालीमेल, रैले, जहरसिंहपौवालगायतका क्षेत्रमा पनि इस्कुसखेती हुने गरेको छ । 

इस्कुसखेतीलाई व्यावसायिक रूपमा अघि बढाउन शङ्खरापुर नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । नगरप्रमुख रमेश नापितले इस्कुसखेतीमा आबद्ध किसानलाई आवश्यक मचान निर्माणमा अनुदान उपलब्ध गराउँदै आएको बताए । 

इस्कुसलाई थाँक्रो दिन आवश्यक मचानका लागि सिमेन्ट, बालुवा र रडबाट तयार गरिने टेका कृषकको ५० प्रतिशत लागत र नगरपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराएको उनले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  १ : १८ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित