काठमाडौं– महाभारतका पाँच पाण्डव अब नेपाली चलचित्रको पर्दामा नयाँ शैलीमा देखिने भएका छन् ।
मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएसँगै चलचित्रका मुख्य पात्रको रूपसमेत खुलाइएको छ ।
बिहीबार सार्वजनिक पोस्टरमा नेपाली चलचित्रका चर्चित कलाकारहरूलाई पाण्डवको भूमिकामा प्रस्तुत गरिएको छ ।
हरिवंश आचार्य युधिष्ठिर, जितु नेपाल भीम, आर्यन सिग्देल अर्जुन, महेश त्रिपाठी नकुल र सुशील सिटौला सहदेवको भूमिकामा देखिएका छन् ।
पोस्टरमा पाँचै कलाकारलाई घोडाले तानेको आकर्षक बग्गीमा प्रस्तुत गरिएको छ। अगाडि युधिष्ठिर बनेका हरिवंश आचार्य छन् भने पछाडि अन्य चार पाण्डव उभिएका छन् ।
कलाकारहरूको लुक्स र पोस्टरको शैलीले चलचित्रलाई लिएर दर्शकमाझ कौतूहल बढाएको छ । निर्देशक वसन्त निरौलाले पोस्टरमार्फत पात्र सार्वजनिक गरिएको बताउँदै यी पात्र दर्शकका लागि परिचित भए पनि नयाँ स्वरूपमा देखिने भएकाले चलचित्रप्रति चासो बढ्ने विश्वास व्यक्त गरेका छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्र कात्तिक २० गते, तिहारको छेको पारेर प्रदर्शनमा आउने तयारीमा छ । हाल चलचित्र पोस्ट प्रोडक्सनको अन्तिम चरणमा छ भने सम्पूर्ण ध्वनि डल्बी एटमसमा तयार पारिँदैछ ।
चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी र सिता न्यौपानेसहितका कलाकारको पनि अभिनय छ ।
सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको ‘पाँच पाण्डव’ले महाभारतका पाँच पाण्डवको चरित्र र विम्बलाई आधार बनाएर आजको नेपाली समाजको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।
प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठ रहेको चलचित्रमा पुराना पुस्ताका स्थापित कलाकारदेखि नयाँ पुस्ताका चर्चित अनुहारसम्म एकैसाथ देखिँदैछन्।













प्रतिक्रिया