काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको आरोप लगाएका छन् । स्टारलिङ्क सेवामा आएको अवरोध र त्यसको प्रयोगलाई लिएर वासिङ्टन र किएभबीच तनाव बढिरहेका बेला मस्कको यस्तो भनाइ आएको हो ।
मस्कले शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै युक्रेनी सेनाले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरी मानिसको ज्यान लिने उद्देश्यले ड्रोन आक्रमण गर्न उक्त प्रणाली प्रयोग गरेको आरोप लगाए । उनले यससम्बन्धी कमजोरी गत हप्ता नै हटाइएको दाबीसमेत गरे ।
‘स्टारलिङ्कका सर्तहरू सधैँ यसलाई नागरिक सञ्चार प्रणालीका रूपमा प्रयोग गर्ने उद्देश्यमा आधारित छन्, हत्या गर्ने माध्यमका रूपमा होइन । सर्त उल्लङ्घन भएमा सेवा बन्द गरिनेछ,’ मस्कले अर्को पोस्टमा लेखेका छन् ।
यद्यपि, उनले युक्रेनको रक्षाका लागि स्टारलिङ्क अझै पनि अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । तत्काल अवरुद्ध पार्न वा नष्ट गर्न कठिन भएकाले यो प्रणाली युक्रेनी सेनाका लागि निर्णायक रहेको उनको भनाइ छ । ‘स्टारलिङ्क बन्द भएमा युक्रेनको अग्रपंक्ति तत्कालै ढल्नेछ,’ उनले भनेका छन् ।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता मस्कले युक्रेनप्रतिको आफ्नो धारणा पटकपटक परिवर्तन गर्दै आएका छन् । उनले स्टारलिङ्क सेवामा आउने अवरोधका लागि आफ्नो कम्पनी स्पेसएक्सभन्दा अमेरिकी सरकार जिम्मेवार रहेको दाबीसमेत गर्दै आएका छन् ।
रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको सामना गरिरहेको युक्रेनले सैन्य सञ्चार, निगरानी र अन्य सैन्य गतिविधिका लागि नागरिक प्रयोजनमा आधारित स्टारलिङ्क तथा सैन्य प्रयोजनका लागि विकसित स्टारशिल्ड प्रणालीमा निर्भर रहँदै आएको छ ।
युक्रेनका रक्षामन्त्री येभगेनी खमाराले शनिबार निगरानी प्रणालीहरूले स्टारलिङ्क र स्टारशिल्डको गतिमा सुधार देखाएको बताएका छन् । उनका अनुसार, प्रणालीको गति प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी पुगेको छ भने सञ्चार सम्पर्क पनि स्थिर रहेको छ ।
‘यो उपलब्धि हाम्रो अग्रपंक्ति, सैनिक, ड्रोन सञ्चालन, रसद व्यवस्थापन र सञ्चारका लागि अत्यन्त महत्वपूर्ण छ,’ खमाराले भनेका छन् ।
उनले आवश्यक गति पुनः प्राप्त भएको र सेवा पुनःस्थापनाको काम रातिदेखि नै सुरु गरिएको जानकारी दिएका छन् । यो सुधारले अग्रपंक्तिमा रसद व्यवस्थापन गर्न तथा रकेटबाट चल्ने ड्रोनलगायतका हवाई आक्रमणबाट देशको रक्षा गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
स्टारलिङ्क सञ्जाल पछिल्लो समय युक्रेन र अमेरिकाबीचको विवादको प्रमुख विषय बनेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनले रुसलाई फाइदा पुग्ने गरी काम गरेको आरोप लगाउँदै आएका छन् ।
उनका अनुसार, अमेरिकाले युक्रेनतर्फ लक्षित क्षेप्यास्त्र आक्रमणबारे समयमै पूर्वसूचना नदिएको र स्टारलिङ्कको गति सीमित पारेको कारण युक्रेनको सैन्य प्रतिकार्य कमजोर भएको थियो ।
रक्षामन्त्री खमाराले यस विषयमा जेलेन्स्कीले लिएको ‘दृढ अडान’ को प्रशंसा गर्दै त्यसले सकारात्मक नतिजा दिइरहेको बताएका छन् ।














प्रतिक्रिया