भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरस्थित प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्।
अपराह्न मन्दिर परिसर पुगेका राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि तथा स्थानीयवासीले स्वागत गरेका थिए ।
पूजाका अवसरमा परम्परागत नृत्य प्रस्तुत गरिएको थियो । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्तिको अवलोकन तथा दर्शन गरेका थिए । उनले नवदुर्गाका पुजारी, नाइके तथा देवगणलाई दक्षिणासमेत प्रदान गरे।
नवदुर्गा मन्दिरमा ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली गरी नौ देवीको पूजा गरिन्छ ।
सो अवसरमा मन्दिरका मूल नाइकेले तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद राष्ट्रपति पौडेललाई प्रदान गरेका थिए ।
दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखले भक्तपुरस्थित नवदुर्गा भवानीको पूजाअर्चना गर्ने परम्परा रहिआएको छ ।














प्रतिक्रिया