वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार अर्ब २० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार जर्जिया राज्यमा आयोजित चुनावी सभामा उक्त लगानीको घोषणा गरेका हुन् ।
ट्रम्पका अनुसार जर्जियाको मेकोन सहरनजिकै निर्माण हुने कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछन् । उहाँले कारखानाको निर्माण अर्को महिनादेखि सुरु हुने बताएका थिए ।
तर, फोक्सवागन समूहअन्तर्गतको अउडीले जारी गरेको विज्ञप्तिमा कारखानाको निर्माण आगामी वर्ष सुरु हुने र सन् २०३० को दशकको सुरुतिर उत्पादन थालिने उल्लेख छ ।
कम्पनीका अनुसार प्रस्तावित कारखानाबाट करिब चार हजार ५०० रोजगारी सिर्जना हुनेछन् । अउडीले यो लगानीले अमेरिकाप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धता दर्शाउने जनाएको छ । साथै, युरोप र चीनपछि उत्तर अमेरिकालाई आफ्नो विश्वव्यापी उत्पादन सञ्जालको तेस्रो प्रमुख आधार बनाउने लक्ष्य राखेको छ ।
अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनभन्दा १० दिनअघि ट्रम्पले अटोमोबाइल उत्पादन क्षेत्रमा ठूलो लगानीको घोषणा गरेका हुन् ।
यसैबीच, फोक्सवागन समूहले अमेरिकी भन्सार शुल्क, चिनियाँ कार उत्पादकसँगको प्रतिस्पर्धा र युरोपमा मागमा देखिएको अस्थिरतालगायत चुनौतीको सामना गरिरहेको छ ।
समूहअन्तर्गतका १० ब्रान्डमा विशेषगरी फोक्सवागन, अउडी र पोर्शमा करिब ५० हजार रोजगारी कटौती गर्ने सहमति भइसकेको छ ।
लागत घटाउने प्रयासस्वरूप विश्वभर थप ५० हजार रोजगारी कटौती गर्नुपर्ने अवस्था आउन सक्ने कम्पनीले जनाएको छ ।














प्रतिक्रिया