ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९ जनामा लामखुट्टेबाट सर्ने डेङ्गु ज्वरोका नयाँ विरामी देखिएका छन् । यो एकै दिनमा सङ्क्रमित भई अस्पताल पुग्ने विरामीको सङ्ख्या आइतबार यस वर्षको सबैभन्दा उच्च सङ्ख्या हो ।
बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार स्थानीय समय आइतबार बिहान ८ बजेसम्मको २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार यस वर्ष डेङ्गुका कुल बिरामी एक लाख २३ हजार ९४८ पुगेका छन् भने यसका कारण मृत्यु हुनेको सङ्ख्या ३८४ पुगेको छ । यस वर्ष अक्टोबरमा मात्र १३९, सेप्टेम्बरमा १४८, अगस्टमा ४३, जुलाईमा ३६ र जुनमा १३ जनाको मृत्यु भएको छ ।
बङ्गलादेशमा सामान्यतया मनसुन मौसमको रोग मानिने डेङ्गु ज्वरो अहिले जुन–सेप्टेम्बर अवधिभन्दा बढी समय पनि फैलिरहेको छ । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले हालै सम्बन्धित अधिकारीहरूलाई डेङ्गु रोकथामका लागि जनचेतना अभियान सञ्चालन गर्न र नियन्त्रण प्रयासमा सरकारलाई सहयोग गर्न निर्देशन दिनु भएको छ ।














प्रतिक्रिया