किन अझै भाडाकै घरमा बस्छन् अनुपम खेर ? « Khabarhub

किन अझै भाडाकै घरमा बस्छन् अनुपम खेर ?

आमाको ६० वर्षको सपना पूरा गर्न किने सिमलामा घर



बलिउडमा लामो समय बिताएका कलाकारको जीवनशैली कस्तो होला ? करोडौँको कमाइ, महँगा घर, विलासी गाडी र ठूलो सम्पत्ति । धेरैको बुझाइमा सफल कलाकारको जीवन यस्तै हुन्छ । तर, बलिउडका वरिष्ठ अभिनेता अनुपम खेरको सोच भने यसभन्दा अलि फरक छ । तीन दशकभन्दा लामो फिल्मी करियर, सयौँ फिल्ममा अभिनय र अन्तर्राष्ट्रिय पहिचान बनाएका उनी अझै भाडाको अपार्टमेन्टमा बस्छन् ।

इन्टरनेटमा उनको कुल सम्पत्ति ४ देखि ५ सय करोड भारु रहेको दाबी गरिन्छ । तर, अनुपमले यस्ता विवरणलाई पूर्णतः गलत भन्दै आफू त्यति धनी नभएको स्पष्ट पारेका छन् । अझ रोचक कुरा त के छ भने, आफ्नै लागि घर किन्नेभन्दा भाडामा बस्नुलाई उनले स्वतन्त्र जीवनको एउटा माध्यम बनाएका छन् । सम्पत्ति जोड्ने होडभन्दा जीवनलाई सहज र तनावमुक्त बनाउनु महत्त्वपूर्ण रहेको उनको धारणा छ ।

हालै ‘द अनफिल्टर्ड आवर’ नामक कार्यक्रममा कुराकानी गर्दै अनुपमले आफ्नो आर्थिक अवस्था, सम्पत्तिप्रतिको सोच र जीवनशैलीबारे खुलेर कुरा गरेका छन् । उनले अनलाइनमा प्रकाशित हुने आफ्नो ‘नेटवर्थ’ सम्बन्धी विवरणले मानिसहरूमा गलत धारणा बनाएको गुनासोसमेत गरेका छन् ।

४-५ सय करोडको सम्पत्ति छैन

अनुपम खेरका अनुसार इन्टरनेटमा उनको नाम खोज्दा देखिने सम्पत्तिको विवरण वास्तविकताभन्दा निकै फरक छ । वेबसाइटहरूले उनको कुल सम्पत्ति ४ देखि ५ सय करोड भारु रहेको दाबी गरे पनि त्यो सत्य नभएको उनले बताएका छन् ।

अनलाइनमा सार्वजनिक हुने यही विवरणका कारण साथीभाइले समेत उनीसँग ठट्टा गर्ने गरेको उनले सुनाए । साथीहरूले इन्टरनेटमा देखिएको सम्पत्तिकै आधारमा पैसा माग्ने गरेको उनको भनाइ छ ।

अनुपमको यो अभिव्यक्तिले कलाकारको लोकप्रियता र वास्तविक आर्थिक अवस्थाबीच कति ठूलो अन्तर हुन सक्छ भन्ने पनि देखाउँछ । सार्वजनिक रूपमा कलाकारको कमाइ र सम्पत्तिबारे विभिन्न अनुमान गरिए पनि ती सबै तथ्यमा आधारित नहुन सक्छन् भन्ने उनको भनाइ छ ।

१० वर्षअघि नै आफ्नै घरको मोह त्यागे

अनुपम खेरका लागि घर हुनु वा नहुनुभन्दा त्यसले दिने जिम्मेवारी र तनाव महत्त्वपूर्ण विषय हो । करिब १० वर्षअघि उनले आफ्नै घर किनेर बस्ने सोच त्याग्दै भाडाको अपार्टमेन्टमा बस्ने निर्णय गरेका थिए ।

उनका अनुसार आफ्नै घर नहुँदा त्यसको व्यवस्थापन, मर्मतसम्भार र सम्पत्तिसँग जोडिएका अन्य जिम्मेवारीबाट मुक्त हुन सकिन्छ । यही कारण उनले भाडामा बस्नुलाई आफ्नो जीवनको सहज निर्णय मानेका छन् ।

अनुपमका अनुसार उनी र उनका भाइ दुवै भाडाको अपार्टमेन्टमा बस्छन् र यसमै खुसी छन् । उनीहरूले आफ्नो जीवनलाई सहज बनाउन सम्पत्तिको स्वामित्वभन्दा स्वतन्त्रतालाई प्राथमिकता दिएका छन् ।

उनको यो निर्णय मुम्बईस्थित आफ्नो सम्पत्ति अभिनेत्री आलिया भट्टलाई बेचेपछि आएको थियो । त्यही समयमा उनकी पत्नी किरण खेर सांसद बनेर चण्डीगढ सरेकी थिइन् । त्यसपछि अर्को घर किन्नुपर्ने आवश्यकता आफूले महसुस नगरेको अनुपमले बताएका छन् ।

भाडामा बस्छन्, तर सुविधामा सम्झौता गर्दैनन्

अनुपमको भाडामा बस्ने निर्णयलाई सामान्य जीवनशैली वा खर्च कटौतीसँग जोडेर बुझ्नु गलत हुनेछ । उनी आफूलाई मनपर्ने सुविधामा कुनै सम्झौता गर्न चाहँदैनन् ।

राम्रा र महँगा रेस्टुरेन्टमा खाना खाने, आरामदायी यात्रा गर्ने र स्तरीय होटलमा बस्ने आफ्नो बानी अझै कायम रहेको उनले बताएका छन् । उनको बुझाइमा जीवनको आनन्द लिन सम्पत्तिको मालिक नै हुनुपर्छ भन्ने छैन ।

उनका अनुसार मानिसले आफ्नो आवश्यकता र चाहनाबीच सन्तुलन कायम गर्न सक्नुपर्छ । सुविधासम्पन्न जीवन बिताउन सकिन्छ, तर त्यसका लागि अनावश्यक रूपमा सम्पत्ति थुपारिरहनु आवश्यक छैन ।

आमाका लागि भने किने आठ कोठाको घर

आफ्नो जीवनमा घर किन्ने मोह त्यागेका अनुपमले आमाका लागि भने सिमलामा ठूलो घर किनेका छन् । यसमा उनको आफ्नै जीवनशैलीभन्दा आमाको इच्छा र भावनालाई प्राथमिकता दिइएको देखिन्छ ।

अनुपमका अनुसार उनकी आमाले जीवनका करिब ६० वर्ष भाडाको घरमा बिताएकी थिइन् । पछि उनले सिमलामा आफ्नै घरमा बस्ने इच्छा व्यक्त गरिन् ।

अनुपमका अनुसार उनकी आमाले जीवनका करिब ६० वर्ष भाडाको घरमा बिताएकी थिइन् । पछि उनले सिमलामा आफ्नै घरमा बस्ने इच्छा व्यक्त गरिन् । सुरुमा आमाले एउटा कोठा भएको सामान्य घर चाहेको भए पनि अनुपमले हलसहितको आठ कोठे घर किनिदिएका थिए ।

आफूले सम्पत्ति जोड्नुलाई प्राथमिकता नदिए पनि आमाको चाहना पूरा गर्नु भने आफ्नो जिम्मेवारी र खुसी भएको उनको भनाइबाट बुझ्न सकिन्छ ।

१० हजार पारिश्रमिकबाट सुरु भएको यात्रा

अनुपम खेरले आफ्नो फिल्मी यात्राको सुरुवाती दिन पनि सम्झिएका छन् । उनले आफ्नो चर्चित फिल्म ‘सारांश’ का लागि १० हजार भारु पारिश्रमिक पाएका थिए । त्यतिबेलाको अवस्था र अहिलेको जीवनशैलीबीच ठूलो परिवर्तन आए पनि सम्पत्ति बढ्दैमा भौतिक वस्तु थपिरहनुपर्छ भन्ने उनलाई लाग्दैन ।

उनले आफूलाई सन्त वा भौतिक सुखविरुद्धको व्यक्ति भनेर प्रस्तुत गर्न पनि खोजेका छैनन् । सम्पत्ति राख्ने वा नराख्ने भन्ने व्यक्तिगत छनोट भएको उनको धारणा छ ।

सम्पत्तिभन्दा सम्बन्ध र स्वतन्त्रता ठूलो

अनुपमले सम्पत्तिप्रतिको आफ्नो सोच स्पष्ट पार्दै परिवारभित्र हुने अंशबन्डा र सम्पत्तिसम्बन्धी विवादको प्रसंगसमेत उठाएका छन् । विशेषगरी वृद्ध आमाबुबालाई घरबाट निकाल्ने, इच्छापत्रमा हस्ताक्षर गर्न दबाब दिने र सम्पत्तिका कारण परिवारका सदस्यबीच सम्बन्ध बिग्रिने घटनाले आफूलाई चिन्तित बनाउने उनले बताएका छन् ।

उनका अनुसार मानिसको मृत्युपछि सम्पत्ति बाँडफाँटलाई लिएर परिवारमा विवाद हुने गरेको छ । पर्याप्त पैसा हुँदा पनि मानिसहरूबीच सम्पत्तिकै कारण द्वन्द्व सिर्जना हुने अवस्थाप्रति उनले आश्चर्य व्यक्त गरेका छन् ।

अनुपमको यो अभिव्यक्तिले सम्पत्ति र सफलतालाई हेर्ने उनको फरक दृष्टिकोण उजागर गर्छ । जीवनभर मेहनत गरेर कमाएको पैसा र सुविधाको आनन्द लिनु एउटा कुरा हो, तर त्यसलाई नै जीवनको अन्तिम लक्ष्य बनाउनु अर्को कुरा । आफ्नै लागि घर नकिन्ने तर आमाको इच्छा पूरा गर्न आठ कोठे घर किनिदिने उनको निर्णयले पनि सम्पत्तिभन्दा सम्बन्ध र व्यक्तिगत सन्तुष्टिलाई बढी महत्त्व दिएको संकेत गर्छ ।

बलिउडमा करोडौँको सम्पत्तिको चर्चा भइरहेका बेला अनुपम खेरको भनाइ भने फरक छ, जीवनलाई सहज बनाउन सबै कुरा आफ्नो नाममा हुनैपर्छ भन्ने छैन ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ६ : ३१ बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

किन अझै भाडाकै घरमा बस्छन् अनुपम खेर ?

बलिउडमा लामो समय बिताएका कलाकारको जीवनशैली कस्तो होला ? करोडौँको

मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी

झापा– पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३–८४

कैलालीमा करिब १६ हजार क्विन्टल धान खरिद

धनगढी– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले

च्याम्पियन्स लिग : पीएसभीमाथि रियल मड्रिडको सानदार जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले सानदार जित निकालेको