बाँके– बाँकेको राप्तीसोनारी गाउँपालिकाका भित्री सडक कालोपत्र भएपछि दुर्गम बस्तीका स्थानीयलाई आवतजावतमा सहज भएको छ । सडक कालोपत्र भएसँगै गाउँ र बजारबीचको दूरी घटेको छ भने स्थानीयको दैनिक जनजीवनसमेत सहज बनेको छ ।
गाउँपालिका–२ अन्तर्गत कचनापुर, टीकुलीपुर र माथेबास टोलका ग्राभेल सडक कालोपत्र भएपछि ती बस्ती नेपालगञ्ज र कोहलपुर बजारसँग सहज रूपमा जोडिएका छन् । सडकले मुख्य राजमार्ग र हुलाकी सडकलाई समेत जोड्न सहयोग पुगेको स्थानीय देवदास चौधरीले बताए ।
उनका अनुसार पहिले गाउँबाट बजार पुग्न निकै कठिन हुने गरेकामा अहिले यातायातका साधनमार्फत सहजै आवतजावत गर्न सकिन्छ । सडक कालोपत्र भएपछि दुर्गम मानिएका गाउँसमेत सुगम बनेको उनले बताए ।
वडाध्यक्ष ज्ञानराज ओलीका अनुसार सडक निर्माणपछि बिरामीलाई अस्पताल पुर्याउन र बजार आवतजावत गर्न सहज भएको छ । पहिले पैदल हिँडेर नेपालगञ्ज पुग्नुपर्ने स्थानीय अहिले गाउँबाटै अटो चढेर बजार जान सक्ने भएका छन् ।
उनका अनुसार कोटही सामुदायिक वन उपभोक्ता समूह र जनमुखी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्र पर्ने करिब एक किलोमिटर ८०० मिटर ग्राभेल सडक कालोपत्र गरिएको छ ।
सडक कालोपत्र भएपछि स्थानीय उत्पादन बजारसम्म पुर्याउन पनि सहज भएको छ । गाउँमा उत्पादित तरकारी तथा अन्य कृषि उपज बिक्रीका लागि बजार लैजान यातायातको सुविधा उपलब्ध भएको स्थानीयको भनाइ छ।
स्थानीय भगतराम थारुले सडकसँगै खानेपानी र विद्युतीकरणको विस्तारले गाउँको जनजीवनमा परिवर्तन आएको बताए । उनका अनुसार सडक, खानेपानी र विद्युत् सुविधाको विस्तारले गाउँ र सहरबीचको असमानता कम हुँदै गएको छ ।
सडकसँगै गाउँका विभिन्न खोल्सामा पक्की पुलसमेत निर्माण भएपछि आवतजावत थप सहज भएको स्थानीयले बताएका छन् ।














प्रतिक्रिया