म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन निर्माण भएको छ । सङ्घीय सरकारको करिब चार करोड अनुदानमा अन्नपूर्ण गाउँपालिकाले तीनतले भवन निर्माण गरेको छ ।
निर्माण कम्पनीले २०८० सालमा तीन करोड ८४ लाख १८ हजार ९०७ मा ठेक्का सम्झौता गरेको थियो ।
निर्माण कम्पनीले निर्धारित समय २०८२ पुस महिनाभित्रै भवन निर्माण सकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले जानकारी दिए ।
भूकम्पप्रतिरोधी क्षमताको भवनमा १६ वटा कोठा छन् । आर्थिक वर्ष २०८१–०८२ मा सङ्घीय सरकारले शिषेष अनुदान शीर्षकमा बजेट विनियोजन गर्न छुटाएपछि रोकिएको निर्माणकार्यलाई चालु आर्थिक वर्षमा बाँकी एक करोड ८४ लाख विनियोजन भएपछि पूर्णता पाएको अध्यक्ष गुरुङले बताए ।
निर्धारित समयमै भवन निर्माण सकिए पनि सरकारले बजेट निकासा नदिएकाले व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन् ।
हालसम्म दुई करोड बजेट खर्च भएको योजनाका लागि चालु आवमा विनियोजन भएको बजेट निकासाप्राप्त भएको छैन । प्रभा माविमा सञ्चालित इलेक्ट्रिकल इन्जिनियरिङ विषयको पठनपाठनका लागि नयाँ भवन निर्माण भएको हो ।
कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा एक सय ६५ विद्यार्थी छन् । नयाँ भवन निर्माण भएपछि पठनपाठन सहज भएको प्रअ दुर्गालाल रोकाले बताए । (रासस)













प्रतिक्रिया