बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा दुई सदस्यका लागि ६ जना प्रतिस्पर्धामा छन् ।
बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यका लागि हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र स्थापना गरिएको छ ।
निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् ।
बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन जना महिला र तीन जना पुरुष गरी ६ जना प्रतिस्पर्धामा छन् ।
महिला क्लस्टरतर्फ नेपाली कांग्रेसबाट गीता देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन चुनावी प्रतिस्पर्धामा छन् ।
त्यसैगरी, अन्य क्लस्टरबाट नेकपा एमालेका डा. प्रेमप्रसाद दङ्गाल, नेपाली कम्युनिष्ट पार्टीबाट प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीबाट विक्रम ढुकुछुले चुनावी मैदानमा छन् ।
एक सय १० सदस्यीय प्रदेशसभा र एक सय १९ स्थानीय तह रहेको बागमती प्रदेशको मतभारअनुसार नेपाली कांग्रेस बलियो देखिन्छ ।
राष्ट्रियसभाका लागि बागमती प्रदेशमा प्रदेशसभाका एक सय १० र पालिकातर्फ दुई सय ३८ गरी तीन सय ४८ मतदाता छन् भने १० हजार तीन ५२ मतभार रहेको छ ।













प्रतिक्रिया