सिंहदरबारमा सुनाए प्रचण्डले हिसाब : फागुन २१ को चुनावमा नेकपा पहिलो दल बन्ने सम्भावना छ « Khabarhub

सिंहदरबारमा सुनाए प्रचण्डले हिसाब : फागुन २१ को चुनावमा नेकपा पहिलो दल बन्ने सम्भावना छ


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा फागुन २१ को निर्वाचन परिणामबारे पूर्वानुमान गरेका छन् ।

बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताएका छन्।

पार्टीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेपछि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेदवार चयन गरिएको बताए ।

समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिइएको उनले स्पष्ट पारे। जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार छनोट गरिएकाले नेकपाका उम्मेवारहरूले निर्वाचनमा नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।

संयोजक प्रचण्डले जेन्जी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अन्य पुराना दलको तुलनामा सकारात्मक बनेको बताए । जेन-जी युवाहरूले पनि तीन प्रमुख दलमध्ये नेपाली कम्युनिष्ट पार्टी र यसको नेतृत्व फरक रहेको महसुस गरेको उनले बताए ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको उत्साह विस्तारै ती पार्टीका उम्मेवारहरुका गतिविधिका कारण विस्तारै कमजोर हुँदै गएको र उनीहरूका गतिविधिलाई जनताले गहिरो गरि हेरिरहेको बताए।

मनोनयन र त्यसपछि प्रयोग गरिएका सवारी साधन तथा उनीहरू कसको सहयोगमा अघि बढेका हुन् भन्ने कुरा सार्वजनिक हुँदै जाँदा त्यतातिर बगेको हावा विस्तारै कमजोर बन्दै गएको पनि उनले उल्लेख गरे ।

गोरखामा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि गोरखामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेको जित करिब–करिब सुनिश्चित जस्तै भएको संयोजक प्रचण्डले बताए ।

उम्मेदवारी फिर्ता र डा.भट्टराईसँग भएका संवादले अब डा.भट्टराई र नेपाली कम्युनिष्ट पार्टीबीचको सम्बन्ध पनि क्रमशः सुधार हुँदै जाने उनले विश्वास व्यक्त गरे ।

पार्टीले दिएका उम्मेदवारविरुद्ध देखिएका अधिकांश असन्तुष्टिहरू संवादबाट हल गरिएको र नमिलेका एक दुई ठाउँमा अनशासनको कारबाहीमार्फत क्रमशः समाधान हुँदै गएको उल्लेख गर्दै उनले निर्वाचनको नतिजा पार्टीकै पक्षमा आउने मिहनेत गर्दा पहिलो दल बन्ने विश्वास व्यक्त गरे ।

बैठकले बेदुराम भुसाललाई राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त गरेको छ। त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ।

दलका नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर निर्वाचन उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टोली गठन गरिएको पार्टीले जनाएको छ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ४ : ०१ बजे

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्मा भारी वृद्धि भएको छ

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का