स्याङ्जाको चुनावी प्रतिस्पर्धामा को अगाडि ? « Khabarhub

स्याङ्जाको चुनावी प्रतिस्पर्धामा को अगाडि ?



काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन लक्षित प्रचार–प्रसार कार्यक्रमलाई स्याङ्जाका राजनीतिक दल र उम्मेदवारले तीव्रता दिएका छन् । दलहरूले निर्वाचन परिचालन समिति बनाएर घरदैलो कार्यक्रम सुरु गर्न थालिसकेका छन् ।

राजनीतिक माहोलका आधारमा दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा यसपटकको चुनावी परिणाम विगतको तुलनामा फेरबदल हुने धेरैको अनुमान छ । यसपटकको निर्वाचनमा स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर १ मा १२ जना र २ मा १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

तर, स्याङ्जमा सांगठनिक हिसाबले भने भने कांग्रेस, एमाले, नेकपा र रास्वपाको बलियो उपस्थिति रहेको छ भने अन्य दल प्रतिस्पर्धामा विगत लामो समयदेखि पछि रहँदै आएका छन् । जसले गर्दा यसपटकको निर्वाचन पनि यिनै ४ दलको बीचमा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

स्याङ्जा १ मा को आउला अगाडि ?

स्याङ्जा १ मा विशेषगरी संगठनात्मक प्रभाव राख्ने दलहरूमध्ये नेकपा (एमाले)बाट मीनप्रसाद गुरुङ, नेपाली कांग्रेसबाट भरतराज ढकाल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धनञ्जय रेग्मी उम्मेदवार रहेका छन् । गुरुङ लामो विद्यार्थीकालदेखि एमालेमा सक्रिय राजनीति गर्दै आएका व्यक्ति हुन् ।

उनी ०७४ को निर्वाचनमा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । रियल स्टेट र बैंकिङ क्षेत्रमा लगानी गरेका गुरुङ पार्टीभित्र कम विवादित पात्रका रूपमा मानिन्छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका ढकाल भने लामो समयदेखि बैंकिङ क्षेत्रमा काम गरेका व्यक्ति हुन् ।

बैंकिङ करिअरमा अब्बल रहेका उनी पार्टीमा आन्तरिक हिसाबले सहयोग गरेको भए पनि खुला ढंगले कांग्रेसको राजनीतिमा देखिएका थिएनन् । तर, चुनावमा भने उनले एकाएक टिकट हात पारेर उम्मेदवार बनेका छन् ।

त्यस्तै, तत्कालीन माओवादीमा भूमिगत हुँदै पछिल्लो खुला राजनीतिमा आफूलाई सक्रिय बनाउँदै आएका शैलेन्द्र घिमिरे यसपटक नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका छन् । ०७० सालमा संविधानसभाको सदस्यका लागि उनले सोही निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेर पराजित भएका थिए ।

पछिल्लो समय नेपाली राजनीतिमा प्रभाव बिस्तार गर्दै आएको रास्वपा स्याङ्जा १ मा पनि बलियो प्रतिस्पर्धी दल हो । सो पार्टीको तर्फबाट पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी चुनावी मैदानमा उत्रिएका छन् । रेग्मी चुनावी माहोल सुरु हुनभन्दा अघिदेखि नै रास्वपामा आबद्ध भएर प्रचारप्रसारलाई तीव्र बनाउन सुरु गरेका थिए ।

०७९ मंसिरमा भएको चुनावी नतिजाका आधारमा हेर्दा सो निर्वाचन क्षेत्रमा पहिलो कांग्रेस, दोस्रो एमाले र तेस्रो रास्वपा हो । सो निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रले गठबन्धन गरेका कारण सो निर्वाचन क्षेत्रमा हालको नेकपा वा तत्कालीन माओवादीको तर्फबाट उम्मेदवार थिएन ।

सो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले ३१ हजार ९९९ मत ल्याएर बिजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका नारायणप्रसाद मरासिनीले २८ हजार ७४४ मत ल्याएका थिए । तेस्रो स्थानमा आएका रास्वपाका बोधराज रेग्मीले ६ हजार ६५ मत ल्याएका थिए ।

तर, अन्य सबै दल र उम्मेदवारले भने एक हजार मत पनि कटाउन सकेका थिएनन् । सो क्षेत्रबाट पछिल्लो समयमा मुख्य सबै दल छाडेर गएका कार्यकर्ता र स्वतन्त्र व्यक्तिहरूले नै रास्वपा विस्तार गरेको देखिएको छ । तर, संगठनात्मक रूपमा हेर्दा सो क्षेत्रमा अझैपनि एमाले र कांग्रेस नै बलिया दलको रूपमा देखिएका छन् भने पछिल्लो समयमा तीव्रतर रूपमा भएको विस्तारले रास्वपालाई पनि बलियो देखाएको देखिन्छ ।

एमाले कांग्रेसले मत सुरक्षा गर्ने र रास्वपा नेकपा मत खोस्ने स्थिति सो निर्वाचन क्षेत्रमा देखिएको छ । जुन पक्षले निर्णायक ढंगले सो कार्यलाई जनतामाझ उतार्न सक्छन् सोही दल र उम्मेदवारले फागुन २१ मा बाजी मार्न सक्ने देखिन्छ ।

स्याङ्जा २ मा को आउला ?

स्याङ्जा १ प्रभाव रहेका दलकै झण्डै समान उपस्थिति २ मा पनि देखिन्छ । सो निर्वाचन क्षेत्रमा एमालेको तर्फबाट खिमबहादुर थापा, कांग्रेसको तर्फबाट भागवतप्रकाश मल्ल, नेकपाको तर्फबाट पदम विश्वकर्मा र रास्वपाको तर्फबाट झबिलाल डुम्रे उम्मेदवारको रूपमा मैदानमा छन् । यी सबै उम्मेदवार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नयाँ अनुहार हुन् ।

जसमध्ये कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ल ०७४ को निर्वाचनमार्फत प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए भने एमालेका खिमबहादुर थापा कालीगण्डकी गाउँपालिकाको प्रमुखमा दुई कार्यकाल प्रमुखमा काम गरेका छन् ।

तर, नेकपाको तर्फबाट उम्मेदवार भएका पदम विश्वकर्मा र रास्वपाको तर्फबाट उम्मेदवार बनेका झबिलाल डुमे्र भने पहिलोपटक निर्वाचनमा सहभागी भएका हुन् । ०७९ मंसिरमा भएको निर्वाचनमा सो क्षेत्रबाट नेपाली कांग्रेसका पूर्व उपसभापति धनराज गुरुङ ३१ हजार ४६६ मत ल्याएर बिजयी भएका थिए ।

उनलाई तत्कालीन माओवादी केन्द्रका मतदाताले पनि मत दिएका थिए । ०७४ मा बाम गठबन्धनको तर्फबाट बिजयी भएकी हाल एमालेकी सचिव पद्माकुमारी अर्याल ०७९ को निर्वाचनमा भने २५ हजार ८३९ मत ल्याएर पराजित भएकी थिइन् । सो निर्वाचनमा रास्वपाका उम्मेदवार ८ हजार ११३ मत ल्याएका थिए ।

अन्य दलले भने निर्वाचन क्षेत्र १ मा जस्तै सो निर्वाचनमा १ हजार मत पनि कटाउन सकेका थिएनन् । स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा चुनावी माहोल उस्तै रहेको र दलहरूको प्रतिस्पर्धात्मक अवस्था पनि झण्डै उस्तै रहेको देखिएको छ । अहिलेसम्मको सुरुवाती चुनावी प्रचार पनि एकले अर्कोलाई गाली गर्ने वा कमजोरी देखाउने खालको भएको छैन । सबै दलले आ–आफ्नो शक्तिलाई नै कसरी बढी भन्दा बढी ढंगले परिचालन गर्ने भनेर लागिरहेका छन् ।

विशेषगरी सामाजिक सञ्जालबाट गतिविधि तथा आफ्नो प्रचारलाई मुख्य तीन दल एमाले कांग्रेस र रास्वपाले तीव्र रूपमा अघि बढाएका छन् । एमाले कांग्रेसका उम्मेदवारले सामाजिक सञ्जालमार्फत सुझाव मतदाताहरूसँग सुझाव समेत मागिरहेका छन् । सामाजिक सञ्जालमार्फत प्रचार गर्ने विषयमा नेकपा र अन्य साना दलको उपस्थिति तुलनात्मक रूपमा कमजोर देखिएको छ ।

विकासको मुद्दाको विषयमा सबै दलको एजेन्डा उस्तै देखिएको छ । यद्यपी अहिलेसम्म कुनै पनि दलले आफ्नो प्रतिबद्धता वा संकल्पपत्र भने सार्वजनिक गरिसकेका छैनन् । निर्वाचन आउन बाँकी रहेको अबको समयमा मुख्य दुई ठूला दलले आफ्नो मत कति सुरक्षित गर्नसक्ने र रास्वपा र नेकपाले कति अन्य दलको मत तान्न सक्ने भन्ने विषयको आधारमा नै स्याङ्जाका दुवै क्षेत्रमा कसको विजय हुनसक्ने भनेर अनुमान गर्न सकिने देखिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : ५३ बजे

उम्मेदवारलाई नै थाहा छैन सांसदको हैसियत, खल्तीपिच्छे उधारो विकास बाँड्ने होड

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी छ

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले