स्याङ्जाको चुनावी प्रतिस्पर्धामा को अगाडि ? « Khabarhub

स्याङ्जाको चुनावी प्रतिस्पर्धामा को अगाडि ?



काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन लक्षित प्रचार–प्रसार कार्यक्रमलाई स्याङ्जाका राजनीतिक दल र उम्मेदवारले तीव्रता दिएका छन् । दलहरूले निर्वाचन परिचालन समिति बनाएर घरदैलो कार्यक्रम सुरु गर्न थालिसकेका छन् ।

राजनीतिक माहोलका आधारमा दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा यसपटकको चुनावी परिणाम विगतको तुलनामा फेरबदल हुने धेरैको अनुमान छ । यसपटकको निर्वाचनमा स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर १ मा १२ जना र २ मा १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

तर, स्याङ्जमा सांगठनिक हिसाबले भने भने कांग्रेस, एमाले, नेकपा र रास्वपाको बलियो उपस्थिति रहेको छ भने अन्य दल प्रतिस्पर्धामा विगत लामो समयदेखि पछि रहँदै आएका छन् । जसले गर्दा यसपटकको निर्वाचन पनि यिनै ४ दलको बीचमा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

स्याङ्जा १ मा को आउला अगाडि ?

स्याङ्जा १ मा विशेषगरी संगठनात्मक प्रभाव राख्ने दलहरूमध्ये नेकपा (एमाले)बाट मीनप्रसाद गुरुङ, नेपाली कांग्रेसबाट भरतराज ढकाल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धनञ्जय रेग्मी उम्मेदवार रहेका छन् । गुरुङ लामो विद्यार्थीकालदेखि एमालेमा सक्रिय राजनीति गर्दै आएका व्यक्ति हुन् ।

उनी ०७४ को निर्वाचनमा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । रियल स्टेट र बैंकिङ क्षेत्रमा लगानी गरेका गुरुङ पार्टीभित्र कम विवादित पात्रका रूपमा मानिन्छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका ढकाल भने लामो समयदेखि बैंकिङ क्षेत्रमा काम गरेका व्यक्ति हुन् ।

बैंकिङ करिअरमा अब्बल रहेका उनी पार्टीमा आन्तरिक हिसाबले सहयोग गरेको भए पनि खुला ढंगले कांग्रेसको राजनीतिमा देखिएका थिएनन् । तर, चुनावमा भने उनले एकाएक टिकट हात पारेर उम्मेदवार बनेका छन् ।

त्यस्तै, तत्कालीन माओवादीमा भूमिगत हुँदै पछिल्लो खुला राजनीतिमा आफूलाई सक्रिय बनाउँदै आएका शैलेन्द्र घिमिरे यसपटक नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका छन् । ०७० सालमा संविधानसभाको सदस्यका लागि उनले सोही निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेर पराजित भएका थिए ।

पछिल्लो समय नेपाली राजनीतिमा प्रभाव बिस्तार गर्दै आएको रास्वपा स्याङ्जा १ मा पनि बलियो प्रतिस्पर्धी दल हो । सो पार्टीको तर्फबाट पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी चुनावी मैदानमा उत्रिएका छन् । रेग्मी चुनावी माहोल सुरु हुनभन्दा अघिदेखि नै रास्वपामा आबद्ध भएर प्रचारप्रसारलाई तीव्र बनाउन सुरु गरेका थिए ।

०७९ मंसिरमा भएको चुनावी नतिजाका आधारमा हेर्दा सो निर्वाचन क्षेत्रमा पहिलो कांग्रेस, दोस्रो एमाले र तेस्रो रास्वपा हो । सो निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रले गठबन्धन गरेका कारण सो निर्वाचन क्षेत्रमा हालको नेकपा वा तत्कालीन माओवादीको तर्फबाट उम्मेदवार थिएन ।

सो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले ३१ हजार ९९९ मत ल्याएर बिजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका नारायणप्रसाद मरासिनीले २८ हजार ७४४ मत ल्याएका थिए । तेस्रो स्थानमा आएका रास्वपाका बोधराज रेग्मीले ६ हजार ६५ मत ल्याएका थिए ।

तर, अन्य सबै दल र उम्मेदवारले भने एक हजार मत पनि कटाउन सकेका थिएनन् । सो क्षेत्रबाट पछिल्लो समयमा मुख्य सबै दल छाडेर गएका कार्यकर्ता र स्वतन्त्र व्यक्तिहरूले नै रास्वपा विस्तार गरेको देखिएको छ । तर, संगठनात्मक रूपमा हेर्दा सो क्षेत्रमा अझैपनि एमाले र कांग्रेस नै बलिया दलको रूपमा देखिएका छन् भने पछिल्लो समयमा तीव्रतर रूपमा भएको विस्तारले रास्वपालाई पनि बलियो देखाएको देखिन्छ ।

एमाले कांग्रेसले मत सुरक्षा गर्ने र रास्वपा नेकपा मत खोस्ने स्थिति सो निर्वाचन क्षेत्रमा देखिएको छ । जुन पक्षले निर्णायक ढंगले सो कार्यलाई जनतामाझ उतार्न सक्छन् सोही दल र उम्मेदवारले फागुन २१ मा बाजी मार्न सक्ने देखिन्छ ।

स्याङ्जा २ मा को आउला ?

स्याङ्जा १ प्रभाव रहेका दलकै झण्डै समान उपस्थिति २ मा पनि देखिन्छ । सो निर्वाचन क्षेत्रमा एमालेको तर्फबाट खिमबहादुर थापा, कांग्रेसको तर्फबाट भागवतप्रकाश मल्ल, नेकपाको तर्फबाट पदम विश्वकर्मा र रास्वपाको तर्फबाट झबिलाल डुम्रे उम्मेदवारको रूपमा मैदानमा छन् । यी सबै उम्मेदवार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नयाँ अनुहार हुन् ।

जसमध्ये कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ल ०७४ को निर्वाचनमार्फत प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए भने एमालेका खिमबहादुर थापा कालीगण्डकी गाउँपालिकाको प्रमुखमा दुई कार्यकाल प्रमुखमा काम गरेका छन् ।

तर, नेकपाको तर्फबाट उम्मेदवार भएका पदम विश्वकर्मा र रास्वपाको तर्फबाट उम्मेदवार बनेका झबिलाल डुमे्र भने पहिलोपटक निर्वाचनमा सहभागी भएका हुन् । ०७९ मंसिरमा भएको निर्वाचनमा सो क्षेत्रबाट नेपाली कांग्रेसका पूर्व उपसभापति धनराज गुरुङ ३१ हजार ४६६ मत ल्याएर बिजयी भएका थिए ।

उनलाई तत्कालीन माओवादी केन्द्रका मतदाताले पनि मत दिएका थिए । ०७४ मा बाम गठबन्धनको तर्फबाट बिजयी भएकी हाल एमालेकी सचिव पद्माकुमारी अर्याल ०७९ को निर्वाचनमा भने २५ हजार ८३९ मत ल्याएर पराजित भएकी थिइन् । सो निर्वाचनमा रास्वपाका उम्मेदवार ८ हजार ११३ मत ल्याएका थिए ।

अन्य दलले भने निर्वाचन क्षेत्र १ मा जस्तै सो निर्वाचनमा १ हजार मत पनि कटाउन सकेका थिएनन् । स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा चुनावी माहोल उस्तै रहेको र दलहरूको प्रतिस्पर्धात्मक अवस्था पनि झण्डै उस्तै रहेको देखिएको छ । अहिलेसम्मको सुरुवाती चुनावी प्रचार पनि एकले अर्कोलाई गाली गर्ने वा कमजोरी देखाउने खालको भएको छैन । सबै दलले आ–आफ्नो शक्तिलाई नै कसरी बढी भन्दा बढी ढंगले परिचालन गर्ने भनेर लागिरहेका छन् ।

विशेषगरी सामाजिक सञ्जालबाट गतिविधि तथा आफ्नो प्रचारलाई मुख्य तीन दल एमाले कांग्रेस र रास्वपाले तीव्र रूपमा अघि बढाएका छन् । एमाले कांग्रेसका उम्मेदवारले सामाजिक सञ्जालमार्फत सुझाव मतदाताहरूसँग सुझाव समेत मागिरहेका छन् । सामाजिक सञ्जालमार्फत प्रचार गर्ने विषयमा नेकपा र अन्य साना दलको उपस्थिति तुलनात्मक रूपमा कमजोर देखिएको छ ।

विकासको मुद्दाको विषयमा सबै दलको एजेन्डा उस्तै देखिएको छ । यद्यपी अहिलेसम्म कुनै पनि दलले आफ्नो प्रतिबद्धता वा संकल्पपत्र भने सार्वजनिक गरिसकेका छैनन् । निर्वाचन आउन बाँकी रहेको अबको समयमा मुख्य दुई ठूला दलले आफ्नो मत कति सुरक्षित गर्नसक्ने र रास्वपा र नेकपाले कति अन्य दलको मत तान्न सक्ने भन्ने विषयको आधारमा नै स्याङ्जाका दुवै क्षेत्रमा कसको विजय हुनसक्ने भनेर अनुमान गर्न सकिने देखिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : ५३ बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान

तनहुँमा आइपुग्यो मतपत्र

दमौली– यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर–  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ ।

पल शाहको जन्म दिन पारेर ‘आबाट आमा’को सिक्वेल घोषणा, दशैँमा प्रदर्शन

काठमाडौं – नायक पल शाहको जन्म दिन पारेर आइतबार फिल्म

टाटा कमर्सियल गाडीको सुरक्षित यात्राको लागि आजबाट होली सर्भिस क्याम्प

काठमाडौं– होली पर्व नजिकिँदै गर्दा टाटा कमर्सियलले ग्राहकलाई आजदेखि १५ गते