ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छाया « Khabarhub

ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छाया


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार १०८ मिनेट लामो स्टेट अफ द युनियन सम्बोधनमार्फत अमेरिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेको दाबी गर्दै आफ्नो प्रशासनको आर्थिक र विदेश नीतिलाई सफल साबित गर्न प्रयास गरेका छन् ।

घट्दो अनुमोदन दर र आगामी मध्यावधि चुनावको सन्दर्भमा आएको यो भाषण उनको पहिलो कार्यकालकै सबैभन्दा लामो सम्बोधन बनेको छ ।

काङ्ग्रेसको संयुक्त सत्रअघि बोल्दै राष्ट्रपति ट्रम्पले अर्थतन्त्र अपेक्षाभन्दा बलियो रहेको र मतदाताले रिपब्लिकनलाई समर्थन गरे अझ प्रगति हुने बताए । ‘हाम्रो देश फेरि जित्दैछ’, उनले भने, ‘हामी यति धेरै जित्दैछौँ कि कहिलेकाहीँ के गर्ने भन्ने नै थाहा हुँदैन ।’

भाषणमा उनले सैन्य कारबाही, व्यापार नीति र आप्रवासन नियन्त्रणलाई उपलब्धिका रूपमा प्रस्तुत गरे । आयात शुल्कसम्बन्धी सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले वैकल्पिक कानूनी प्रावधान प्रयोग गरेर अगाडि बढ्ने सङ्केत गरे । ‘काङ्ग्रेसको कार्य आवश्यक नपर्न सक्छ’, उनले भने । उनले उपभोक्ताले मूल्य चुकाउने आलोचनाबीच पनि शुल्क विदेशी देशले तिर्ने दाबी दोहोर्‍याए ।

सर्वोच्च अदालतका मुख्य न्यायाधीश जोन रोबट्र्ससहित केही न्यायाधीश काङ्ग्रेसको संयुक्त सत्रमा भइरहेको स्टेट अफ द युनियन सम्बोधनका क्रममा प्रतिनिधिसभा कक्षमै उपस्थित थिए । भाषण चलिरहेकै बेला शुल्कसम्बन्धी निर्णयको प्रसङ्ग उठ्दा डेमोक्रेट सांसदहरूले स्वागत जनाए पनि अन्य विषयमा तीव्र विरोध देखियो ।

क्यालिफोर्नियाका मार्क टाकानो र मिशिगनकी रशिदा तलैबले खुला रूपमा आलोचना गरे भने अल ग्रीनलाई सम्बोधन सुरु भएको केहीबेरमै विरोध प्रदर्शनपछि कक्षबाट बाहिर निकालियो ।

राष्ट्रपतिले आप्रवासनविरुद्ध कडा सन्देश दिँदै ‘अवैध विदेशी होइन, अमेरिकी नागरिकको रक्षा’ गर्नुपर्ने बताए । उनले मेल–इन मतपत्र सीमित गर्ने र मतदाता परिचय कडा पार्ने प्रस्तावसमेत अघि सारे । तर जीवनयापनको बढ्दो लागत र अर्थतन्त्रको सुस्त वृद्धि जस्ता विषयले अपेक्षाकृत कम समय पाए । उच्च मूल्य र स्वास्थ्य खर्चबारे डेमोक्रेटलाई दोष दिँदै उनले ‘त्यो समस्या तपाईँहरूले सिर्जना गर्नुभयो’ भने ।

भाषणका भावनात्मक क्षणहरूमा ओलम्पिक स्वर्ण विजेता अमेरिकी पुरुष हक्की टोलीलाई सम्मान गरिएको थियो । गोलकिपर कनर हेलेब्यूकलाई प्रेसिडेन्सियल मेडल अफ फ्रिडम दिने घोषणा र नेसनल गार्ड सदस्य एन्ड्र्यु वोल्फलाई पर्पल हार्ट प्रदान गरिँदा दुवै दलका सांसदहरूले उभिएर अभिवादन गरेका थिए । सन् २०२० मा रेडियो होस्ट रस लिम्बगलाई दिइएको सम्मानको स्मरण पनि गराइयो ।

विदेश नीतिमा राष्ट्रपति ट्रम्पले इरानलाई ‘आणविक हतियार कहिल्यै राख्न नदिने’ चेतावनी दोहोर्‍याए । मध्यपूर्वमा दुई अमेरिकी विमानवाहक पठाइएको पृष्ठभूमिमा उनले कूटनीतिक समाधान प्राथमिकता रहेको तर आवश्यक परे कठोर कदम चाल्ने बताए । उनले तेहरानमाथिको हवाई आक्रमण र भेनेजुएलामा निकोलस मदुरोलाई अपदस्थ गरिएको कारबाहीको प्रशंसा गरे ।

डेमोक्रेटिक प्रतिक्रिया दिँदै भर्जिनियाकी गभर्नर एबिगेल स्प्यानबर्गरले शुल्क नीति, आप्रवासन कदम र सङ्घीय खर्च कटौतीको आलोचना गरे । ‘सर्वोच्च अदालतले शुल्क खारेज गरे पनि क्षति भइसकेको छ’, उनले भने ।

मध्यावधि चुनाव नजिकिँदै गर्दा आएको यो लामो सम्बोधनले राष्ट्रपति ट्रम्पको राजनीतिक सन्देश स्पष्ट बनाएको छ—उनी उपलब्धि प्रस्तुत गर्दै मतदातालाई विश्वास दिलाउन चाहन्छन्, तर कङ्ग्रेसभित्रको विभाजन र आर्थिक चिन्ताले त्यसलाई चुनौती दिइरहेको छ । रासस
 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १२ : ०९ बजे

प्रसाईंको जवाफ : आरजुसँग अढाई वर्षअघि भेटेको फोटो अहिले भाइरल बनाइदिए

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक

झाडीमा परिणत भएको गोरखकाली टायर उद्योग (तस्बिरहरू)

गोरखा- २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर

हिरासतबाट निस्किएपछि झन् उग्र प्रसाईं, मतदातालाई भने : देश सक्ने चुनावमा गएर भोट नहाल्नू

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक

बेचबिखनविरूद्धको राष्ट्रिय नीति कार्यान्वयनमा जोड

काठमाडौं– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखनविरूद्धको

तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान बन्द हुन्छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले तराई, पहाड र