काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न मुश्किल पर्छ । तर तिनै नयाँ प्रतिभालाई अवस दिने काम कोही न कोही सिद्धहस्तले गरिरहेका छन् । नयाँ व्यक्ति र प्रतिभाका लागि अवसरको ढोका खोलिदिने व्यक्तित्वलाई ‘गड फादर’को संज्ञा दिने गरिन्छ ।
फिल्मी क्षेत्रमा नयाँ नायक–नायिका र अन्य कलाकारलाई ब्रेक दिने निर्माता र निर्देशकहरू सम्मानपूर्वक यस शब्दबाट सम्बोधित हुने गर्छन् ।
अहिले ‘गड फादर’ शब्दको चर्चा अलि कमै सुनिन थालेको छ । एक–डेढ दशक अघिसम्म यो शब्द खुबै चल्तीमा थियो ।
भन्न त, निर्देशक–निर्माताको सम्मान कलाकारहरूबाटै पहिलेको जस्तो अहिले हुँदैन भन्ने गरिन्छ ।
शिव श्रेष्ठ, राजेश हमाल, भुवनकेसीदेखि अनमोल केसीसम्मका नायकका प्राइम टाइम देखेका फिल्म क्षेत्रका पुराना व्यक्तिहरू भन्छन्, ‘अहिले कलाकारले नै निर्देशक–निर्मातालाई दिने सम्मान घटेको छ । पहिला नायकले निर्माता–निर्देशको पाउ छुन्थे । अहिले हात मिलाउँछन्, अंकमाल गर्छन् ।’
तथापि, स्टार बनिसकेका नायक–नायिकालाई अनुबन्ध गर्नु मेकरहरूको व्यवसायिक बाध्यता हुन सक्छ । तर भीडबाट छानेर दर्शकले चिन्दै नचिनेका युवा–युवतीलाई नायक–नायिकाको परिचय दिलाएर ठूलो पर्दामा प्रवेश गराउने निर्माता–निर्देशकको साहस सानोतिनो होइन । चल्ने नचल्ने ग्यारेन्टी नहुने अवस्थामा पनि नयाँलाई अवसर दिने उनीहरू धन्यवादकै पात्र हुन् ।
अहिले थिएटरमा निखारिएर वा टिकटकमा भाइरल भएर ठूलो पर्दामा देखिने ट्रेन्ड छ । पहिला-साथी, सहकर्मी, आफन्तले देखाएको र पत्रिकामा छापिएको फोटोबाट नायक–नायिका छान्ने अभ्यास हुन्थ्यो । त्यसो नहुँदा फिल्म निर्माण कम्पनीमै धाएर काम माग्नुकाो विकल्प थिएन ।
‘युगदेखि युगसम्म’बाट नायक राजेश हमालले डेब्यू गर्न पाउनुको कारणमध्ये तस्बिर पनि एक हो । यस फिल्मका निर्माता छविराज ओझा हुन् । उनको पनि यो डेब्यू निर्माण थियो ।
छविको चर्चित ब्यानर छविराज ओझा प्रोडक्सन खुल्नुपहिला उनले सञ्चालन गर्दै आएको कम्पनी ‘धनलक्ष्मी’ले यो फिल्म बनाएको हो ।
निर्माता ओझाका अनुसार ‘युगदेखि युगसम्म’को नायकमा प्रकाश अधिकारी फाइनल भइसकेका थिए । फिल्मको गीत रेकर्डिङ गर्न भारतमा रहँदा
संगीतकार शम्भुजीत बास्कोटाले छविलाई राजेशको फाटो देखाए । त्यही फोटोले छविको मन भाँडियो ।
भन्छन्, ‘शुम्भुजीतले हमालको फोटो देखाएर-हिरो हुने केटा भने । हमाल भारतको चण्डीगढ पढ्दाको फोटो मलाई उनले देखाएका थिए ।’
राजेश फिल्ममा अभिनय गर्ने तय भएपछि सल्लाहमै प्रकाश फिल्मबाट बाहिरिएको छवि बताउँछन् ।
तर, ‘युगदेखि युगसम्म’का निर्देशक दीपक रायमाझी थिए । रायमाझी र हमाल पारिवारिक नाताका हुन् । हमाल फिल्ममा आउनुको कारण रायमाझी नै मान्ने निकटस्थहरू पनि छन् ।
डेब्यू फिल्मका निर्देशक र पारिवारिक साइनोसमेत भएकाले राजेशले रायमाझीलाई यस क्षेत्रको मेन्टर मान्छन् ।

दुई स्टारको किस्सा
छवि ओझा रेखा थापाका पूर्वपति मात्रै होइनन्, गड फादर पनि हुन् । फिल्म ‘हिरो’का लागि नायिका खोज्ने क्रममा छवि र रेखाको भेट भएको हो ।
छविले पत्रिकामा फोटो देखेपछि नायिका बनाउन रेखालाई भेटेका थिए ।
छविले खबरहबसँग भनेका छन्, ‘म नायिका नभेटेर निर्देशकको मैतीदेवीस्थित घरमै पुगेको थिएँ । बैठक कोठामा कुर्दा पत्रिकामा रेखाको फोटो देखेँ । अनि रेखालाई साथीहरूले सम्पर्कमा ल्याइदिए ।’
त्यही फोटोका कारण छवि ओझाको फिल्म ‘हिरो’बाट रेखाले ठूलो पर्दामा डेब्यू गर्न पाइन् ।
सम्बन्ध बिच्छेदपछि पनि रेखा र छविबीच सम्बन्ध राम्रो छ । अझै पनि रेखा फिल्म क्षेत्रको गडफादरका रुपमा छविलाई स्वीकार्न तयार छिन् ।
टेलिसिरियल अभिनयमा संघर्ष गर्दै आएका नायक आर्यन सिग्देललाई पनि उनै ओझाले ठूलो पर्दामा ब्रेक दिएका हुन् ।
वि.सं. ६० को दशकमा लभस्टोरी फिल्मा एकछत्र राज गरेका आर्यनको डेब्यू फिल्म ‘किस्मत’को निर्माता पनि छवि नै हुन् ।
छवि र निर्देशक उज्जवल घिमिरेले आ–आफ्नो तर्फबाट हिरो खोजेका थिए ।
उज्जवलसँग भेट गराउनुअघि छविले आर्यनलाई भनेका थिए, ‘निर्देशकले हिरो खोज्नुभएको छ रे ! तिम्रो भाग्य भए मन पराएर हिरो बनाउनु हुन्छ ।’
उज्ज्वल र आर्यनको भेटपछि कुरा खुल्यो-छवि र उज्जवल दुवैको रोजाइको हिरो उनै थिए । उनीहरूबीच मात्रै ‘मिस–कम्युनिकेसन’ थियो ।
आफूलाई खोजेर फिल्म दिएका कारण आर्यन छविलाई नै डेब्यूको जस दिन्छन् ।

निखिल उप्रेती
एक्सन किङमा रुपमा उदाएका निखिल उप्रेतीले फिल्म ‘पिंजडा’बाट ठूलो पर्दामा डेब्यू गरेका हुन् ।
देशभक्त खनालद्वारा निर्देशित यस फिल्मका निर्माता पवन मैनाली हुन् ।
अभिनयमा आउनुअघि आफू मार्सल आर्ट्स र द्वन्द्व निर्देशनमा रहेको निखिल बताउँछन् ।
‘सात तलाबाट हामफाल्छु’ भनेकै कारण निखिलले फिल्ममा ब्रेक पाएको किस्सका उनीभन्दा सिनियरहरू बताउँछन् ।
कान्तिपुरको तीनकुनेस्थित भवनको सात तालमाथिबाट हामफालेर एक्सन दृश्य देखाएपछि निखिल चर्चामा आए । रिल एक्सन गर्ने हिरो भनेर चर्चामा आएका उनले ‘एक्सन किङ’को समेत उपमा पाए ।

राजबल्लभ कोइराला
राजबल्लभ रियालिटी शो ‘सुपर एक्टिङ’ बाट नोटिशमा परेर नायक बनेका कलाकार हुन् ।
उनी जसको नोटिशमा परे, त्यो टिमको नेपाली सिनेमा क्षेत्रमा प्रभाव राम्रै थियो ।
सन् २००० को मध्यतिर बिग ब्यानर ‘गोपीकृष्ण फिल्मस्’को नजरमा परेका थिए । यस ब्यानरका सञ्चालका उद्धव पौडेल हुन् ।
सन् २००७ मा प्रदर्शनमा आएको ‘पर्खी बसेँ’बाट उनले डेब्यू गरे ।
ठूलो ब्यानरले लञ्च गरेकै हिरो भएकाले मेकरहरूको नजरमा पर्न सजिलो भएको राजबल्लभ बताउँछन् ।
उनी अभिनित पहिलो फिल्म नै हिट भयो । राम्रो ब्यानरबाट डेब्यू गरेकाले उनलाई त्यसपछि काम पाउन सजिलोभयो । अर्थात्, उनलाई फिल्ममा प्रवेश गराउने जश गोपी कृष्ण फिल्मस्लाई जान्छ।













प्रतिक्रिया