चुनावी दौडाहामा रहँदा रवि लामिछाने र बालेनलाई विभिन्न ठाउँमा कुचो उपहार दिएको दृश्य देखियो । शासकीय प्रणालीभित्र रहेका ऐँजेरु र फोहोर बढार्न सचेत मतदाताले प्रतिकात्मक रुपमा कुचो उपहार दिएको बुझ्न कठिन छैन । पदमा पुग्ने क्रममा धेरैका जीवनकथा रोचक हुने गर्छन् । कलाकार पृष्ठभूमिबाट युक्रेनी राष्ट्रपति बन्न सफल भाेलाेदिमिर जेलेन्स्कीले शपथ ग्रहणलगत्तै सरकारी अधिकारीलाई निर्देशन दिँदै भनेका थिए– ‘कार्यकक्षमा मेरो नभएर आफ्ना सन्तानको फोटो राख्नुस् । यसले तपाईंलाई अर्को पुस्ताको लागि इमानसाथ योजना बनाउन मद्दत गर्नेछ ।’
पदारोहणताका असल नियत राखेको देखिएका जेलेन्स्की देशकै लागि अन्ततः शिखण्डी पात्रमा अनुवाद भए । युद्धको लाभाले देश निल्दा जेलेन्स्कीको आगमनसँगै समृद्धिको सपना देखेका युक्रेनी जनता मृत्युको प्रलयबाट आजित भए । सुन फल्ने देश खरानी भयो । हजारौँ निहत्था शिशु र निर्दोष नागरिक युद्धको लाभामा परेर सत्यानास भए । युरोप–अमेरिकी चालबाजीको पपेड जेलेन्स्की हारेको जुवाडेजस्तो भएर दिन काटिरहेका छन् । उनको त्यो अभिव्यक्ति आफ्नै लागि आत्मघाती ठहरियो ।
आजभन्दा आठ दशकअघि अमेरिकी राष्ट्रपति आइजनहावरले पद सम्हालेपछि उनका नाममा असंख्य उपहार र शुभकामना आइरहे । शुभकामनाको भिडमा एउटा बुट्टेदार सुन्दर कुचो पनि थियो, जुन कुचोलाई आइजनहावरले आफ्नो कार्यकक्षको अघिल्तिर राखेका थिए । अमेरिका भ्रमणमा आउने राष्ट्राध्यक्षले कुचोप्रति जिज्ञासा राख्दा मुस्कुराउँदै चुनावमा आफू विजय भएपश्चात एक मतदाताले उपहारस्वरुप उक्त कुचो पठाएको रहस्य सार्वजनिक गरे ।
कुचो पठाउने सज्जनले कुचो उपहार पठाउनुको औचित्य पुष्टि गर्दै लेखेका थिए– ‘तपाईंले चुनावी भाषणमा आफू राष्ट्रपति भए प्रशासनमा भएका सारा घुसखोरी र भ्रष्टाचारीलाई सफाई गर्ने संकल्प गर्नुभएको थियो । मलाई विश्वास छ– यो उपहारले सदा तपाईंलाई आफ्नो वचनको सम्झना गराउने छ ।’ आइजनहावरले भन्थे– ‘कुचो उपहार पठाउनेवाला सज्जनका यी शब्दहरु मलाई अति प्रेरणास्पद छन् । यसैले मैले कुचोलाई सर्वश्रेष्ठ उपहार सम्झेर सधैँ आफ्नो अघिल्तिर राखेको हुँ ।’
नेपालमा अहिले पेशागत धर्मको समस्या हो । राजनीति गर्नेले राज बोके, नीति छोडे । अरु सबै पेशाका मानिसका लागि राजनीति कमाउधन्दाको आकर्षक प्लेटफर्म बनिदिँदा यसको मूलमर्ममै अनास्था व्यापक बन्दै गयो ।
अमेरिकी जनताबाट कुचो उपहार पाएका राष्ट्रपति आइजनहावरसँग नेपालको एउटा रोचक प्रसंग जोडिन्छ । राष्ट्रपति आइजनआवरका लागि सन् १९५८ नेपालले दुईवटा कुकुर उपहार पठाएको थियो । उनको सेक्रेटरीमार्फत कुकुरका लागि आग्रह आएको थियो । अमेरिकी राष्ट्रपतिका लागि नेपालले दुईवटा छाउरी र एउटा छाउरो ‘हिमाली भोटेकुकुर’ उपहार स्वरुप पठाएको विषय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि हटकेक बनेको थियो ।
अमेरिकामा तिनको नाम भोटे र कान्छी राखियो । नेपालले जनावरका माध्यमबाट कूटनीतिक अझ बन्दिलो बनाउने प्रयासको यो नै पहिलो कडी थियो । कालान्तरमा हात्ती र गैँडा पठाउने चलन अझ विकसित बनेर आएको देखिन्छ ।
नेपालमा अहिले पेशागत धर्मको समस्या हो । राजनीति गर्नेले राज बोके, नीति छोडे । अरु सबै पेशाका मानिसका लागि राजनीति कमाउधन्दाको आकर्षक प्लेटफर्म बनिदिँदा यसको मूलमर्ममै अनास्था व्यापक बन्दै गयो । हो, भावी प्रधानमन्त्री बालेन्द्र शाहले प्राप्त गरेको जनउभार त्यसैको शुद्धीकरणका लागि हो । निर्दलीय चरित्रबाट राजनीतिमा प्रवेश गरेका उनका लागि बहुलवाद प्रयोगशाला हो । राष्ट्रिय स्वतन्त्र पार्टी करारी मैदान हो । कार्यकारीमा रहँदा पाउने लोकप्रियताको मानकले त्यो पार्टीसँगको साइनो निर्धारण गर्नेछ । राजनीतिक सफलताका लागि लिक्वान, महाथिर मोहम्मद पढ्नै पर्दैन । हाम्रै इतिहासका पात्र जीवन्त र प्रेरणादायी छन् ।
उमेर र काम हेर्ने हो भने अन्यत्र किन जानु ? २९ वर्षमा प्रधानमन्त्री बनेका जंगबहादुरलाई नियाल्दा पुग्छ । बालेनले आफैँ प्रमुख रहेको संरचनाका निर्माताको अनुहार आँखा चिम्म गरेर सम्झदा सबै दृश्य आँखा अगाडि आउँछ ।
१६ औँ शताब्दीमै कान्तिपुरे राजा महिन्द्र मल्ल, जो जनताले खाएको खबर आएपछि बल्ल आफ्नो चुह्लो बाल्थे । जनतालाई सुख, शान्ति, न्याय र सुरक्षा दिनुलाई राज कर्तव्य सम्झन्थे । उनका लागि हरेक नागरिक परिवारको सदस्य थियो । जनता मरेको समाचार सुन्नासाथ छाक छोड्थे । जनताप्रति समर्पित ब्रतका कारण उनी हप्तौँसम्म भोको रहन्थे । राजधर्मको यही प्रतापले इतिहासमा कीर्तिमानी बने ।
पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा बिसे नगर्चीसम्मलाई समेटर सबैको स्वामित्व आर्जन गरे । उमेर र काम हेर्ने हो भने अन्यत्र किन जानु ? २९ वर्षमा प्रधानमन्त्री बनेका जंगबहादुरलाई नियाल्दा पुग्छ । बालेनले आफैँ प्रमुख रहेको संरचनाका निर्माताको अनुहार आँखा चिम्म गरेर सम्झदा सबै दृश्य आँखा अगाडि आउँछ । सिंहदरबारभित्रको कर्मचारी प्रशासनलाई अनुशासित राख्ने मुख्यसचिव चन्द्रबहादुर थापाको ‘चन्द्रघण्टी’, दक्षिण एशिया टुकी युगमा रहँदा १९६८ मा फर्पिङमा चन्द्रज्योति विद्युत गृह निर्माण गर्ने चन्द्रशमशेर, जनताका लागि उपचार सेवा दिन अस्पताल खोल्ने वीरशमशेरजस्ता पात्र सम्झिए पुग्छ ।
राम्रा कामका लागि हरेक समय शुभसाइत हो । पहिलो मन्त्रिपरिषद् बैठकमा आफ्नो पारिश्रमिक घटाएर बीपीले जनतामा सकारात्मक सन्देश प्रवाह गरेका थिए । आफ्नो सरकारको आलोचना गर्न कम्युनिष्ट पृष्ठभूमिका पत्रकार मदनमणि दीक्षितको समीक्षा पत्रिका दर्ता गर्न र चलाउन आर्थिक पाटो हेरिदिएका थिए । ०७ सालको क्रान्तिपछि २३ वर्षका भरतमणि शर्मालाई कृषिमन्त्री बनाएर युवालाई राजनीतिमा प्रेरणा दिएका थिए । नेतृत्व परिवर्तनले नभएर दृढ राजनीतिक इच्छाशक्ति र जनतासँगको प्रत्यक्ष संवादबाट मात्र देशले काया फेर्छ ।
कम उमेरको मानिस कुर्सीमा जाँदैमा त्यो कुर्सीको शोभा बढ्ने होइन । कुर्सीको गरिमा त्यहाँ बस्ने मानिसको आचरणले बढ्ने हो ।
देश बनाउनु बनेको व्यक्तिप्रधान राजनीतिलाई नीतिप्रधान बनाउनु हो । प्रणालीप्रति जनताको कम गुनासो आउने वातावरण बनाउनु सुशासन हो । बालेन्द्र शाह जनताको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्ने त्यही कुर्सीमा जाँदैछन् । कम उमेरको मानिस कुर्सीमा जाँदैमा त्यो कुर्सीको शोभा बढ्ने होइन । कुर्सीको गरिमा त्यहाँ बस्ने मानिसको आचरणले बढ्ने हो । राजनीति र प्रणाली शुद्धीकरणका लागि यो स्वर्णिम अवसर हो । सबैभन्दा बढी मत ल्याउने राजनीतिक दल प्रतिपक्षमा बस्ने, साइँलो मत ल्याउने दल सरकारको मुखिया बन्ने यसअघिका लाज लजाउने संसदीय कथित अभ्यासलाई सभ्यता सिकाउने इन्जिनीयरिङको साँचो बालेनलाई दिएका छन् । उनलाई सफल बनाउन सबैको सकारात्मक धक्का आवश्यक छ । अहिले थिति बसेन भने कहिल्यै बस्दैन ।
चलन के थियो भन्दा पनि के चलाउने भन्ने महत्त्वपूर्ण हो । किताबको पानामा भएको इमानले खासै अर्थ राख्दैन । समस्या नियम, कानुनमा नभई नियतमा रहेछ भन्ने त पटकपटक प्रमाणित भएका छन् । २०७० सालमा खिलराज रेग्मी र २०८२ सुशीला कार्की नेतृत्वको गैरदलीय सरकारले गराएको इज्जतिलो चुनाव राजनीतिक दलका लागि गतिलो झापड हो । बुथ लुट्ने, तरबार बोक्ने, खेलोफड्कोका लागि कार्यकर्ता उक्साउने कामका रणनीतिकार स्वयं दल रहेछन् भन्ने यी दुई पनि साइलेन्ट चुनावबाट पुष्टि हुन्छ ।
अब देशले ४३औँ नयाँ प्रधानमन्त्री पाउँदैछ । राजनीतिका लागि जेलनेल पहिलो र अन्तिम सर्त हो भन्ने शब्दकोष खारेज गरेर राजनीति इच्छाशक्ति र सेवाभावको संयोजन हो भनेर बालेन शाहले प्रमाणित गर्दैछन् । महानगरको एउटा मेयर मुलुकको कार्यकारी पदमा भ्यागुतो शैलीमा पुग्नु नेपाली राजनीतिमा अनौठो प्रयोग हो ।
उदाहरण कस्तो लिने भन्ने हो । युटुबमा २० सकेण्ड राम्रो सामग्री हेर्नुभयो भने राम्रामाथि राम्रा सामग्री सन्देश लाइन लाग्छन् । ठूला समृद्ध देश भनेर उचालिएर हुन्न । त्यो देशमा लायक, नालायक दुबै जन्मिएका छन् । अमेरिकी इतिहासमा राज्यकोष बपौती ठानेर गरिमामय राष्ट्राध्यक्ष पदको धज्जी उडाउने रिचार्ड निक्सनदेखि ढुकुटीको माया गरेर चिट्ठीको टिकट थुकले टाँसेर पठाउने राष्ट्रपति हेरी ट्रमेनको इतिहास समान अक्षरले लेखिएको छैन । उनी सधैँ भन्ने गर्थे– ‘यदि तपाईं आफूलाई राष्ट्रपति पदबाट अलग राख्न सक्नुहुन्न भने अवश्य पनि मुस्किलमा फस्नु हुनेछ ।’ जोन अफ केनेडीका परिवारले कहिल्यै सरकारी सुविधा उपयोग गरेनन् । महँगो शोख राखेनन् ।
भारतका पूर्व प्रधानमन्त्री जवाललाल त्यस्ता नेता थिए, जो खुल्लम खुला सार्वजनिक कार्यक्रममै चुरोट तान्थे, मदिरा पिउँथे । सन् १९६० मा नेहरू भोपाल जाने कार्यक्रम बनाएर त्यहाँको राजभवनमा बस्ने भए । उनी आउने भएपछि स्वागतको तयारी थालियो । यसैबीच, राजभवनका कर्मचारीले खाना खाइसकेपछि खास ब्राण्डको चुरोट पिउने बानी नेहरूको रहेको जानकारी पाए । त्यो थियो – ‘ट्रिपल फाइभ’ । चुरोट निकै महँगो थियो र भोपालमा जहाँतहीँ पाइँदैनथ्यो ।
एकदिन अर्जुन भगवान श्रीकृष्णसँग जिज्ञासा राख्दै सोध्छन्– ‘विधाता ठूलो कि विधान ठूलो हो ?’ श्रीकृष्ण मुस्कुराउँदै उत्तर दिन्छन्– ‘म विधाता भएर पनि विधिको विधान रोक्न सकिन । म राधा चाहन्थेँ, मलाई मिरा चाहन्थिन तर म रुक्मिणीको हुन बाध्य भएँ ।
नेहरुको शोख पुरा गर्न त्यहाँका गभर्नरले विमान चार्टर गरी इन्दोरबाट चुरोट ल्याउने व्यवस्था मिलाए । भोपाल र इन्दौरको हवाई दूरी १ सय ७१ किमी छ । त्यो बेलजा सानो निजी विमानको भाडा १५ हजार र ठूलो विमानको भाडा ३० हजार भारतीय रुपियाँ पर्थ्याे । ३० हजार भाडा तिरेरै भए पनि नेहरूको शोख पुरा गरिएको थियो ।
पार्टीभित्र मनपरी चलाइरहेका केही शक्तिशाली नेताहरू विरुद्ध उनकै सुपुत्री इन्दिरा गान्धीले विद्रोह गरिन् । १९६६ मा प्रधानमन्त्री लालबहादुर शास्त्रीको अचानक निधनपछि सत्ताको बागडोर उनको हातमा आइपुगेको थियो ।
कांग्रेस संसदीय पार्टीको इतिहासमा पहिलोपटक प्रधानमन्त्री को हुने भन्ने विषयमा त्यही बेला मतदान भएको थियो । गान्धीविरुद्ध मोरारजी देसाईले प्रधानमन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका थिए । गान्धीले ३५५ मत प्राप्त गरिन् भने देसाईले आधाभन्दा कम अर्थात् १६५ मत मात्र पाए । पहिलोपटक प्रधानमन्त्री बन्दा नै पार्टीभित्रको अपार समर्थन गान्धीले पाएकी थिइन् । उनको महत्वाकांक्षा असीमित हुँदै जाँदा अदालतले यसरी पखेटा काटिदियो कि त्यसपछि उनको राजनीतिक उडानमै ब्रेक लाग्यो ।
सुनले सुगन्ध, वायुले रुप, मृत्यु नभई स्वर्ग र कर्म नगरी भाग्यको प्राप्ति हुँदैन ।
अदालतले अपदस्थ गरेको झाेँकमा लगाएको संकटकालको कारण अहिले पनि भारतीय त्यो दिनलाई लोकतन्त्रको कालो दिनको रुपमा स्मरण गर्छन् । इलाहावाद उच्च अदालतको यो फैसला सहन गर्न इन्दिरालाई कठिन भयो । १९७१ मा भएको चुनावमा राजनारायणलाई हराएर चुनाव जितेकी इन्दिरालाई त्यही चुनाव यति महँगो पर्याे कि राजनीतिक करियर सत्यानास भयो । जनमत र सत्ता नितान्त फरक वस्तु हुन् ।
राजनारायण भारतीय राजनीतिका उच्च संस्कार भएका प्रतिभाशाली व्यक्तित्व थिए । उनको निष्ठाप्रति अंग्रेज यति कायल थियो कि उनलाई जिउँदो या मुर्दा ल्याउनेलाई पाँच हजारको पुरस्कार राशी तोकिएको थियो । तिनै राजनारायणले चुनावमा इन्दिराले कैफियत गरेको प्रमाण जुटाएर अदालतमा उजुरी दिए । अदालतले ६ वर्षसम्म चुनाव लड्न नपाउने गरी इन्दिरा विरुद्ध फैसला सुनायो । चर्चित र लोकप्रिय हुनुको विभेद यसरी प्रष्टिन्छ ।
राजनीतिको विधि विधान लेखिएको भन्दा विवेकमा निर्भर रहन्छ । महाभारतमा समेत राज्य सञ्चालनका कतिपय गाँठा अपरिभाषित छन् । एकदिन अर्जुन भगवान श्रीकृष्णसँग जिज्ञासा राख्दै सोध्छन्– ‘विधाता ठूलो कि विधान ठूलो हो ?’ श्रीकृष्ण मुस्कुराउँदै उत्तर दिन्छन्– ‘म विधाता भएर पनि विधिको विधान रोक्न सकिन । म राधा चाहन्थेँ, मलाई मिरा चाहन्थिन तर म रुक्मिणीको हुन बाध्य भएँ । सुनले सुगन्ध, वायुले रुप, मृत्यु नभई स्वर्ग र कर्म नगरी भाग्यको प्राप्ति हुँदैन । अब आफैँ अन्दाज लगाउ विधि ठूलो कि विधान ?’
बालेनले प्रमाणित गर्नुपर्नेछ– यो परिवर्तन सत्ता प्राप्तिका लागि होइन, राजनीतिक संस्कार परिवर्तनका लागि हो । रविको मैदानमा बलिङ गर्ने अपूर्व अवसर पाएका बालेनले कीर्तिमानी हुने अवसर गुमाए भने रास्वपा उनका लागि अस्थायी शिविर प्रमाणित हुनेछ ।













प्रतिक्रिया