आयोगसँग नख्खुका जेलरको बयान : रवि लामिछाने हुलहुज्जत गर्दै जेल तोडेर भागेका हुन् « Khabarhub

आयोगसँग नख्खुका जेलरको बयान : रवि लामिछाने हुलहुज्जत गर्दै जेल तोडेर भागेका हुन्


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ।

जनआस्था साप्ताहिकमार्फत् सबैभन्दा पहिले सार्वजनिक यो प्रतिवेदनको ८८९ पृष्ठ लामो प्रतिवेदन खबरहबले पनि प्राप्त गरेको छ।

उक्त प्रतिवेदमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा विवादमा तानिएका विभिन्न व्यक्ति र सरकारी अधिकारीहरूको बयान पनि सामेल गरिएको छ।

उक्त प्रतिवेदनमा त्यसबेला ललितपुरस्थित कारागार कार्यालय नख्खुका जेलर सत्यराम जोशीसँग पनि बयान लिएको छ।

जोशीले आयोगसँगको बयानमा सहकारी ठगी मुद्दामा नौ महिनादेखि थुनिएका रवि भदौ २४ गते नख्खु कारागार तोडेर भागेको बयान दिएका छन् ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई दिएको बयानमा उनले भदौ २३ गते बेलुकादेखि नै कारागारका कैदीहरूले नाराबाजी र हुलहुज्जत गर्न थालेको उल्लेख गरेका छन् ।

‘भदौ २३ गते बेलुका करिब ७ बजेतिर बाहिर ठूलो भीड आई आगजनी गर्ने ढुंगामुढा गर्ने कार्य गर्न थालेपछि भित्रसमेत कैदी र थुनुवाहरू नाराबाजी गर्न लागे । रवि लामिछाने बाहिर जान हुने हामी किन जान नहुने भन्दै आक्रोशित हुन लागे’, उनले बयानमा भनेका छन्, ‘जिल्ला प्रहरी कार्यालयमा समेत ठूलो समूहले आगजनी तोडफोड गर्ने कार्य गरिरहेको हुँदा थप सुरक्षाकर्मीसमेत आउन सक्ने अवस्था थिएन।’

जेलर जोशीले काठमाडौंको डिल्लीबजारसहितका जेलबाट कैदी थुनुवा भागेको भन्ने सूचना टेलिभिजन लगायतमा त्यसबेला फैलिएको बताएका छन् । ‘रवि लामिछाने जेल तोडेर भागेपछि अन्य जेलका कैदी थुनुवाहरू समेत भाग्न भगाउन थालियो’, उनले भनेका छन्, ‘६६७ जना कैदी-थुनुवा भागेका छन्। जसमध्ये ४०९ जना पुनः आइसकेका छन्। त्यस दिन कारागारमा ४५ लाख जति क्षति भएको छ।’

के भनेको थियो जेलले ?

गत भदौ २७ गते नै नख्खु कारागार प्रशासनले भागेका कैदीहरूलाई यथाशीघ्र सम्पर्कमा आउन भनेको थियो । नख्खु कारागार प्रशासनले सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका कैदीहरूलाई यथाशीघ्र सम्पर्कमा आउन भनेको थियो ।

त्यसबेला कारागारले जारी गरेको सूचनामा फरार अवस्थाको निरन्तरताले कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने मात्रै नभई भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार, सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा समेत प्रतिकूल असर पर्ने चेतावनी कारागार प्रशासनले दिएको थियो ।

‘विधि, कानून र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सहयोग पुर्याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई अपिल गर्दछौँ’, कारागार प्रशासनले भनेको थियो ।

कारागार प्रशासनले सम्पर्कमा आउने बन्दीहरूको हकहितको रक्षा गर्दै कानुनी प्रावधानअनुसार पुनःस्थापना प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

‘रविको हकमा पनि उक्त सूचना जारी गरिएको हो । रविले यहाँ जेलर र कर्मचारीलाई हुलहुज्जत गरेर निस्किएर गएका हुन्’, कारागारका एक अधिकारीले सुरक्षाका कारण आफ्नो नाम नखुलाउने आग्रहसहित भनेका थिए, ‘रविकै कारण यहाँका अधिकांश कैदी फरार भएका हुन् । यहाँ हुल उतारेर जेलर सा’वलाई धम्की दिएर बनाइएको एउटा पत्र लिएर उनी निस्केका हुन् । सूचनाअनुसार उनी फर्केर आएका भविष्यमा कानुनी रीतअनुसार मिल्ने सुविधा पाउने छन् ।’

यदि रवि नफर्किएको हकमा के हुन्छ भनेर खबरहबले सोध्दा ती अधिकारीले आत्मसमर्पण गर्न नआए पक्राउको विकल्प खुल्ला रहेको बताए । ‘हामीले सूचना जारी गरेर औपचारिक रुपमा आत्मसमर्पण गर्न भनिसकेका छौँ’, ती अधिकारीले भने, ‘रविसहित फरार सबै कैदी यो सूचना अनुसार नआएमा प्रहरीमार्फत् पक्राउ गरेर ल्याउनुपर्ने हुन्छ ।’

त्यसपछि भदौ २८ गते रवि नख्खु कारागार नै फर्किएका थिए । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका थिए । अदालतको आदेशबिनै परिस्थितिको फाइदा उठाउँदै बाहिर निस्किएको भन्दै लामिछानेको आलोचना भएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ३ : ५४ बजे

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद

अमेरिका–इरान वार्ताबारे फैलिएका अड्कलबाजीबीच इरानी राजदूतको स्पष्टिकरण

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि अमेरिका र इरानबीच वार्ता