काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन बाहिरिएको छ।
८९८ पृष्ठको प्रतिवेदनमा ती दुई दिन विभिन्न घटनास्थलका तैनाथ नेपाल प्रहरी, नेपाली सेना र प्रदर्शनकारीहरूको विवरण समेटिएको छ।
प्रतिवेदनमा संसद् भवन सुरक्षा जिम्मेवारी पाएको केन्द्रीय विशेष कार्यदल (एसटीएफ) कमाण्डर प्रहरी निरीक्षक समुन्नत अधिकारीको बयान पनि सामेल छ ।
उनले बयानमा भदौ २३ गते माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन सुरू भए पनि स्थिति हिंसात्मक बनाएर प्रदर्शनकारीले संसद् भवनमा प्रवेश गरी आगजनी र तोडफोड गर्न थालेका थिए । प्रहरी टोलीले अश्रुग्यास र हवाई फायर प्रयोग गरेर स्थिति नियन्त्रणमा राख्ने प्रयास गरेको बयान उनले दिएका छन्।
अधिकारीले भदौ २४ गते भने स्थिति अझ जटिल भएको बयान दिएका छन्। संसद् भवनका हाइ–पोस्टहरू पहिले नै क्षतिग्रस्त भएपछि एसटीएफ टोली भित्र खटिन नसकेको बयान उनले दिएका छन्।
अर्कातिर आगजनी रोक्न आफ्नो टोलीले हतियार र साधन प्रयोग गरेर केही महत्वपूर्ण संरचना सुरक्षित राख्न सफल भएको उनलले बताएका छन्।
त्यतिबेला ४०,००० लिटर डिजेल ट्याङ्क, व्यारेक, मेस, क्यान्टिन, सीसीटीभी कक्ष, वाल्क–थ्रु गेट र सुरक्षाकर्मीको व्यक्तिगत सामान जलेर नष्ट भएको बयान उनले दिएका छन् ।
अधिकारीले बयानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबीच समन्वयमा समस्या भएको बताएका छन् । त्यसले आफूहरूको टोलीको मनोबलमा असर परेको पनि उनले उल्लेख गरेका छन्।
उनले भविष्यमा एसटीएफलाई अझ प्रभावकारी बनाउन विशेष तालिम, प्राविधिक उपकरण, वास्तविक समय खतराको विश्लेषण र प्रत्येक प्रदेशमा स्याटेलाइट बेसको आवश्यकताबारे सुझाव दिएका छन्।
प्रतिवेदनले देशको संवेदनशील संरचनाको सुरक्षा सुनिश्चित गर्न सेनाको भूमिका र सुरक्षा संयन्त्र सुधार आवश्यक रहेको औँल्याएको छ। अधिकारीले व्यक्तिगत क्षति र नष्ट भएको सम्पत्ति पुनर्स्थापना गर्ने राज्यबाट उचित पहलको अपेक्षा गरेका छन् ।
अधिकारीको बयान
म २०८१ चैत्रदेखि ९६ जना प्रहरी कर्मचारीसहित एसटीएफ टोलीको कमाण्डरका रूपमा संसद् भवनको सुरक्षा जिम्मेवारीमा छु। हामीलाई लिखित म्यान्डेट थिएन, तर भवनभित्रको सुरक्षा, सांसद्, कर्मचारी, पत्रकार र आगन्तुकहरूको प्रत्यक्ष सुरक्षा मुख्य जिम्मेवारी थियो।
टोलीसँग ५.५६ मि.मि. इन्सास राइफल, एलएसडब्लु, ९ मि.मि. एसएमजी, टाइप ५४ पेस्तोल, पेट्रो बेरेटा र ग्याँस गन लगायत सामग्री थिए।
भदौ २३ गते के भयो ?
प्रदर्शन माइतिघर मण्डलासम्म सीमित रहने अपेक्षा थियो। दिउँसो करिब १२:३५ बजेदेखि संसद् भवन वरिपरि हजारौं भीड हिंसात्मक बन्दै गयो।
प्रदर्शनकारीहरूले रेलिङ–पर्खाल चढ्ने, तोडफोड गर्ने, ढुंगा प्रहार गर्ने, रड–गुलेली–बञ्चरोले आक्रमण गर्न थाले। मेरो निवास कोठामा पेट्रोल बम प्रहार भयो।
हाई पोस्टमा खटिएका प्रहरीलाई हतियार खोस्न खोजेपछि पोस्ट खाली गरियो। स्थिति बिग्रिएपछि अपरेसनल कमाण्डबाट बल प्रयोगको आदेश लिएर ९५ सेल अश्रुग्याँस र हवाई फायर गरियो (इन्सासबाट १७६ राउण्ड, एसएमजीबाट २६ राउण्ड)।
एसटीएफ टोलीबाट कुनै प्रत्यक्ष गोली प्रहार भएको छैन। प्रदर्शनकारीहरूको टाउको, घाँटी वा छातीमा गोली लागेको घटनाबारे मलाई जानकारी छैन। त्यो अन्य प्रहरी वा सशस्त्र प्रहरी टोलीबाट भएको हुन सक्छ।
त्यस दिन मेरो दाहिने आँखामा ढुंगाको प्रहारबाट चोट लाग्यो, चश्मा फुट्यो र १२ जना प्रहरी घाइते भए।
भदौ २४ गते
बिहानैदेखि थप आक्रमणको सूचना थियो। उपत्यकाभरि एकैसाथ आक्रमण भएकाले थप मद्दत आउन सकेन। हाई पोस्टहरू भत्काइएका थिए।
दिउँसो १३:४५ तिर प्रहरीबाट लुटिएका हतियार बोकेको भीड संसद् भवनभित्र पस्यो र ४०,००० लिटर डिजेल ट्याङ्क, व्यारेक, मेस, कोत, क्यान्टिन, सीसीटीभी कक्ष, वाक-थ्रु गेट आदि जलाइयो।
जोखिमपूर्ण अवस्थामा हामीले हतियार, गोली र सञ्चार सामग्री बोकेर नयाँ बानेश्वर वृत्तको टोलीसँग मर्ज भएर सुरक्षित स्थानतर्फ लाग्यौं। बाहिरिनुअघि डिजेल ट्याङ्कमा आगजनी रोक्न २ सेल अश्रुग्याँस, १ रबर कार्टिज र इन्सासबाट ३ राउण्ड हवाई फायर गरियो।
संसद् भवनभित्र भएको भीषण आगजनी र तोडफोडबाट हाम्रा व्यारेक, मेस, क्यान्टिन, सीसीटीभी, कार्यालय, सवारी, व्यक्तिगत लत्ताकपडा, कागजात, हतियारका म्यागजिन, गोली, ग्याँस सेल, बुलेटप्रुफ सामग्री सबै नष्ट भए।
नेपाली सेना पहिलो दिन कर्फ्यूपछि खटिएको थियो । दोस्रो दिन रातिदेखि नै भित्र रहेको सेना प्रदर्शनकारी घुस्दा कुनै प्रतिक्रिया नदिई दिउँसो साढे २ बजेतिर हतियारसहित बाहिरिएको थियो। सशस्त्र प्रहरीले पनि उल्लेखनीय भूमिका खेल्न सकेन।
सुझाव
एसटीएफलाई अझ प्रभावकारी बनाउन विशेष तालिम, विशेष भत्ता, प्राविधिक उपकरण, रियल-टाइम इन्टेलिजेन्स सेल र प्रत्येक प्रदेशमा स्याटेलाइट बेस आवश्यक छ।
सम्पूर्ण व्यक्तिगत सामान नष्ट हुँदा टोलीको मनोबल निकै घटेको छ। राज्यबाट उचित क्षतिपूर्ति र मनोबल पुनर्स्थापनाको अपेक्षा छ।
















प्रतिक्रिया