काठमाडौं– प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले सामाजिक सञ्जालमा भाइरल भिडियोबारे प्रष्टीकरण दिएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै सांसद पोखरेलले यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको जनाएका छन् ।
उनले घटनाको पूर्ण सन्दर्भ नबुझी केही क्षणको भिडियो मात्र सम्पादन गरी सार्वजनिक गरिएकोप्रति आपत्ति जनाएका छन् । उनले यस्ता अधुरा सामग्रीले गलत धारणा बन्न सक्ने भन्दै खेद व्यक्त गरेका छन् ।
यसअघि गृहजिल्ला ओखलढुङ्गा पुगेका सांसद पोखरेलले आफूलाई स्वागत गर्न नआएको भन्दै खिजिदेम्बा गाउँपालिका वडा नं. २, रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानअध्यापकलाई धाक धम्की दिँदै हप्काएको भिडियो शुक्रबार भाइरल भएको थियो ।
‘यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको छ। कहिलेकाहीं सम्पूर्ण सन्दर्भनआउँदा केही क्षणले मात्र परिस्थितिलाई गलत रूपमा चित्रण गर्न सक्छन्। त्यसरी तथ्य र सन्दर्भअपूर्ण रूपमा प्रस्तुत भई विवाद सिर्जना भएकोमा म खेद प्रकट गर्दछु।’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी, उनले सार्वजनिक जीवनमा आफ्नो व्यवहार अझ संयमित र मर्यादित हुनुपर्ने स्वीकार गर्दै, आफ्नो अभिव्यक्ति वा व्यवहारबाट कसैको आत्मसम्मानमा चोट पुगेको भए क्षमायाचना गरेका छन् ।
‘सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्थ्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु । यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो। त्यस क्रममा मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमायाचना गर्दछु।’ विज्ञप्तिमा भनिएको छ ।














प्रतिक्रिया