रोगभन्दा औषधि अभावले बढी पिरोलिँदै क्यान्सरका बिरामी « Khabarhub

रोगभन्दा औषधि अभावले बढी पिरोलिँदै क्यान्सरका बिरामी

आयातकर्ता संघ भन्छ : तत्काल आत्तिनुपर्ने अवस्था छैन, मूल्य समायोजन नभए आयात ठप्प पार्छौँ


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बजारमा क्यान्सर रोगको उपचारका लागि आवश्यक औषधिको चरम अभाव देखिएको छ । अस्पतालका शय्यामा छटपटाइरहेका बिरामी र उनीहरूलाई बचाउन आफ्नो सर्वस्व सुम्पिएका आफन्तहरू यतिबेला क्यान्सरसँगै औषधी अभावको समस्या झेल्न बाध्य भएका हुन् ।

पछिल्लो केही दिनयता बजारमा कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिन जस्ता प्लाटिनम समूहका औषधिदेखि सामान्य स्लाइनसम्मको हाहाकार मच्चिएको छ । विज्ञहरूका अनुसार औषधिको यो अभावले मुलुक भरका सयौँ क्यान्सरपीडितको जीवन जोखिममा पुग्नुका साथै परिवारलाई थप मानसिक र आर्थिक विनाशतर्फ धकेलिरहेको छ ।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेका अनुसार बजारमा औषधिको चरम अभाव हुँदा नियमित किमोथेरापी गराइरहेका बिरामीहरूको उपचार प्रक्रिया अवरुद्ध हुन पुगेको छ । विशेष गरी क्यान्सर उपचारमा बढी प्रयोग हुने प्लाटिनम ग्रुप अफ ड्रग्स अन्तर्गतका कार्बोप्लाटिन र सिस्प्लाटिन जस्ता अत्यावश्यक औषधिहरूको बजारमा अभाव रहेको उनले जानकारी दिए ।

डा. चालीसेका अनुसार यी औषधिहरू क्यान्सरका विभिन्न प्रकारको रैथाने उपचारमा मेरुदण्ड मानिन्छन् ।

उपचार चक्र बिग्रिँदा बिरामी अलपत्र

क्यान्सरको उपचारमा एक पटकमात्रै किमोथेरापी दिएर पुग्दैन । यसको निश्चित चक्र (साइकल) हुन्छ । बिरामीको अवस्था हेरेर प्रत्येक एक, दुई वा तीन हप्तामा किमोथेरापी दोहोर्‍याउनुपर्ने हुन्छ । तर, बजारमा औषधि नै नपाएपछि यो चक्र बिग्रिएको डा. चालिसेले बताए ।

‘औषधि नपाएर बिरामी र आफन्तहरु भौँतारिनु परेको डा. चालीसेले जानकारी दिए । उनका अनुसार केही समयअघि लुकिछिपी कालोबजारीमार्फत महँगोमा भए पनि औषधि ल्याएर चलाएको सुनिएको थियो, तर अहिले त त्यसरी पनि पाउन छाडेको छ । यसले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याएको उनले बताए ।

नेपालको क्यान्सर उपचार क्षेत्रले दोहोरो मार खेपिरहेको उनको भनाइ छ । उनका अनुसार एकातिर विश्व बजारमा आएका नयाँ, बढी विश्वसनीय र प्रभावकारी औषधिहरूलाई नेपालमा आयात वा प्रयोगको अनुमति नै दिइएको छैन, जसलाई एक प्रकारले नियन्त्रण गरिएको छ ।

अर्कोतिर, वर्षौँदेखि चलिरहेका र आम सर्वसाधारणले धान्न सक्ने सस्ता औषधिहरूको समेत आपूर्ति ठप्प भएको छ ।

क्यान्सरको औषधी अभाव हुनुको कारण

औषधि व्यवस्था विभागका अनुसार अहिले बजारमा औषधिको मूल्यलाई लिएर प्राविधिक समस्या देखिएकाले आपूर्ति सहज हुन नसकेको हो । औषधि आयातकर्ता सङ्घका अध्यक्ष पवन आचार्यका अनुसार नेपाल सरकारले हाल ११७ प्रकारका औषधिहरूको मूल्य नियन्त्रण गर्दै आएको छ ।

सरकारले २०७२ सालमा ९६ प्रकारका औषधिहरूको मूल्य तोक्दा भारत सरकारले निर्धारण गरेको दरलाई आधार मानेर मूल्य कायम गरेको थियो । तर, विगत ११ वर्षदेखि नेपालमा यी औषधिहरूको मूल्य एक पटक पनि समायोजन नगरिएको उनको गुनासो छ ।

०७२ सालमा अमेरिकी डलरको भाउ प्रतिडलर ११२ रुपैयाँ रहेकोमा हाल बढेर १५५ रुपैयाँ पुगेको छ । रुस–युक्रेन तथा पश्चिम एसियाको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढेसँगै औषधिको कच्चा पदार्थ र ढुवानी खर्च अत्याधिक बढेको छ । तर सोही अनुपातमा औषधिको मूल्य नबढ्दा समस्या भइरहेको उनले बताए ।

क्यान्सर निको पार्न प्रयोग हुने प्लाटिनम ग्रुपका औषधिहरूमा सुन–चाँदीभन्दा पनि महँगो ’प्लाटिनम’ धातु प्रयोग हुन्छ । युद्धपछि यसको मूल्य आकाशिएको छ ।

छिमेकी मुलुक भारतले हरेक वर्षको मार्च महिनामा आफ्ना ४०० जना विज्ञहरूको टोलीमार्फत औषधिको मूल्य समायोजन गर्ने गर्दछ । भारतले यी औषधिको मूल्य ११ पटक परिमार्जन गरिसक्दा पनि नेपालमा पुरानै मूल्य कायम रहँदा आयातकर्ताहरूले लागत मूल्यभन्दा निकै कममा औषधि बेच्नुपर्ने बाध्यता आएको छ ।

घाटा सहेर औषधि ल्याउन नसकिने भन्दै आयातकर्ताहरूले तीन–चार महिनाअघि नै सरकारलाई सचेत गराएका थिए । तर, कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वले ’लोकप्रिय’ बन्ने होडमा व्यावहारिक निर्णय लिन नसक्दा अन्ततः बजारमा औषधिको चरम अभाव हुन पुगेको उनले बताए ।

तत्कालका लागि आत्तिनुपर्ने अवस्था छैन

अध्यक्ष आचार्यका अनुसार स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्यमन्त्री निशा मेहता विदेश भ्रमणबाट फर्किएपछि यसबारे निर्णय लिने सहमति भएको छ । त्यस बेलासम्मका लागि सचिवको अनुरोधलाई स्वीकार गर्दै आयातकर्ताहरूले घाटा सहेरै भए पनि तीन हप्ताका लागि औषधिको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।

कालोबजारी र अनावश्यक भण्डारण रोक्न सङ्घले विशेष संयन्त्र बनाएको उनले जानकारी दिए । उक्त संयन्त्रमार्फत विभिन्न अस्पताल र होलसेलरकहाँ बिक्री नभई राखिएका औषधिहरू फिर्ता ल्याएर बढी आवश्यक भएका ठाउँमा पठाउने काम भइरहेको उनले बताए ।

त्यस्तै काठमाडौँको हकमा बिरामीका आफन्तले चिकित्सकको ’प्रेसक्रिप्सन’ देखाएर आयातकर्ताको गोदामबाटै सिधै बिलिङ गरी आवश्यक डोज मात्र औषधि खरिद गर्न सक्ने आचार्यले जानकारी दिए । एकै व्यक्तिले धेरैतिरबाट औषधि उठाएर कृत्रिम अभाव सिर्जना नगरोस् भन्नका लागि सङ्घले ६ सदस्यीय अनुगमन टोली पनि बनाएको छ ।

साथै, औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण बज्राचार्य र औषधि आयातकर्ता सङ्घका अध्यक्ष पवन आचार्य सम्मिलित संयुक्त टोलीले यसको निगरानी गरिरहेको छ उनले भने । यो संयन्त्र लागू भएपछि पहिलो दिनमै काठमाडौंका करिब ४० जना क्यान्सरका बिरामीहरूलाई औषधि उपलब्ध गराइएको छ । त्यसैले बिरामी र तिनका आफन्तहरू अब आत्तिनुपर्ने अवस्था नरहेको आचार्यले जानकारी दिए ।

स्थायी समाधान के छ ?

नेपालमा उपभोग हुने कुल औषधिमध्ये ९० प्रतिशत भारतबाट र बाँकी बङ्गलादेश तथा युक्रेन सहितका युरोपेली मुलुकबाट आयात हुने गर्दछ । आचार्यका अनुसार यस समस्याको एकमात्र र स्थायी समाधान ’स्वचालित मूल्य प्रणाली’ लागू गर्नु हो । भारत वा बङ्गलादेश जस्ता देशमा औषधिको मूल्य बढ्दा नेपालमा पनि बढ्ने र त्यहाँ घट्दा नेपालमा पनि स्वतः घट्ने प्रणाली सरकारले बनाउनुपर्छ ।

यसो नगरेमा आजको मितिको मूल्य तोकिदिँदा भोलि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपाली बिरामीले महँगोमै किन्नुपर्ने र फेरि मूल्य समायोजनका लागि वर्षौँ कुर्नुपर्ने अवस्था आउन सक्छ । सरकारलाई तीन हप्ताको समय दिइएको र यस अवधिभित्र मूल्य समायोजन नगरिएमा पुनः आयात ठप्प गर्न आयातकर्ताहरू बाध्य हुने सङ्घले चेतावनी दिएको छ ।

दीर्घकालिन समस्या समाधानका लागि गृहकार्य जारी

औषधि व्यवस्था विभागले बजारमा देखिएको यो संकट समाधानका लागि गृहकार्य भइरहेको दाबी गरेको छ । अस्पतालहरूमा कति मात्रामा औषधिको अभाव छ र बिरामीहरू कति प्रभावित भएका छन् भन्नेबारे विभागले निरन्तर निगरानी राखिरहेको जनाएको छ । विभागले देशैभरका क्यान्सर अस्पताल र सरोकारवाला निकायहरूसँग औषधिको मौज्दात र आवश्यकताको सूची माग गरेको छ ।

‘हामीले कुन–कुन औषधि कति अभाव छ भनेर सूची मागेका थियौँ,’ विभागका सूचना अधिकारी किरण बज्राचार्यले भने, ‘अहिले देशैभरको अस्पतालहरूको अवस्थाबारे हामीलाई दैनिक रूपमा अपडेट प्राप्त भइरहेको छ । यस गम्भीर संकट समाधानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस्तरमा सरोकारवालाहरूबीच बैठक र छलफलहरू भइरहेका छन् ।’

अस्पताल प्रशासनले पनि मन्त्रालयको तर्फबाट केही न केही निकास निस्कने आशा राखेको छ । तर, हालसम्म मन्त्रालय वा आपूर्ति विभागबाट कहिलेदेखि औषधि उपलब्ध हुन्छ र यो समस्या समाधान हुन्छ भन्नेबारे कुनै ठोस निर्णय वा कार्ययोजना प्राप्त नभएको भक्तपुर क्यान्सर अस्पतालले जनाएको छ ।

औषधि आपूर्ति तत्काल सहज नभए क्यान्सरका सयौँ बिरामीको जीवन रक्षामा ठूलो चुनौती थपिने देखिन्छ । एकातर्फ भक्तपुर क्यान्सर अस्पताल लगायतका चिकित्सकहरू किमोथेरापीको चक्र रोकिँदा बिरामीको ज्यान जोखिममा परेको भन्दै छिटो आपूर्तिको माग गरिरहेका छन् भने, अर्कोतर्फ सरकारी निकाय मूल्यको प्राविधिक उल्झन सुल्झाउन व्यस्त देखिएको छ ।

मन्त्रालय र विभाग स्तरमा छलफल र तथ्याङ्क सङ्कलनको काम दैनिक रूपमा भइरहेको भनिए पनि बजारमा औषधि कहिलेसम्म आइपुग्छ भन्ने ठोस समयसीमा अझै अनिश्चित रहेको छ । मूल्यको यो विवाद तत्कालै समाधान नभए काठमाडौँ उपत्यका र बाहिरका क्यान्सर बिरामीहरू कालोबजारीको मारमा पर्ने वा उपचार नै छोड्नुपर्ने अवस्था आउने खतरा बढेको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ७ : ०५ बजे

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा