नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा अचानक हुने आगलागीको घटना नियन्त्रणसम्बन्धी प्रशिक्षण दिइएको छ।
सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर नवलपुरबाट खटिएको विपद् व्यवस्थापन टोलीले कावासोती नगरपालिकाका सरोकारवालाहरूलाई आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गराएको हो ।
तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर नवलपुरका प्रहरी निरीक्षक रामचन्द्र खड्काले घरमा हुने सिलिन्डर ग्यासको आगलागी, मानिसको शरीरमा लागेको आगो तथा घरमा लागेको आगो नियन्त्रणबारे प्रशिक्षण दिएका थिए ।
बिहीबारदेखि सुरु भएको ‘समुदायमा आधारित विपद् प्रतिकार्य तथा खोज उद्धार’ कार्यक्रमअन्तर्गत आइतबार सहभागीहरूलाई प्रयोगात्मक अभ्यास गराइएको हो । अभ्यासका क्रममा सहभागीहरूलाई एलपी ग्यासको सिलिन्डरमा लागेको आगो नियन्त्रणबारे विभिन्न उपाय तथा घरमा लागेको आगो नियन्त्रणको उपायहरू सिकाइएको थियो ।
प्रमुख प्रशिक्षक खड्काले ग्यासको आगो पानी हालेर नियन्त्रण नहुने भन्दै नियन्त्रण विधि जानकारी गराएका थिए । एलपी ग्यासमा भएको आगलागी नियन्त्रणका लागि चिसो कम्मल, रुमाल, कुचोको प्रयोग गर्न सकिने भन्दै खड्काले सिलिन्डर लिकेज भएको ठाउँमा सावधानीपूर्वक हातको औँलाले थुनेमा पनि आगलागी नियन्त्रणमा आउने बताए।
त्यस्तै, आगो लागिरहेको अवस्थामा सिलिन्डरलाई सावधानीपूर्वक बाल्टिनले ढाकेर पनि सिलिन्डर लिक भएर लागेको आगो नियन्त्रणमा लिन सकिने उनको भनाइ थियो ।
उनले विपद् धेरै प्रकारको हुने भन्दै यसको प्रकृति हेरेर उद्धारको तयारीमा जुट्नुपर्ने सुझाव दिए। खड्काले विपद् व्यवस्थापनको पूर्वतयारीस्वरुप जनचेतना तालिम दिँदै विपद् प्रतिकार्य सीपहरू सिक्नुपर्ने बताए।
विपद्बाट हुने क्षतिको न्यूनीकरणका लागि विपद् हुनेबित्तिकै सुरुमा आपत्कालीन सेवालाई सूचना दिनुपर्ने र अन्य कार्यहरू अगाडि बढाउनुपर्ने खड्काको भनाइ छ ।
समुदायमा सबैसँग प्राथमिक उपचारका सामग्रीहरू हुनुपर्ने भन्दै खड्काले त्यो सम्बन्धी तालिम लिएको दक्ष व्यक्ति पनि हुनुपर्ने बताए । विपद्को समयमा आवश्यक पर्ने आपत्कालीन सामग्रीहरूमध्ये टर्चलाइट, बजाउने सिट्टी, सुरक्षा निकायका सम्पर्क नम्बरहरू तथा अत्यावश्यक वस्तुहरू राखिएको झटपट झोला तयारी अवस्थामा राख्नुपर्ने उनको भनाइ छ । झटपट झोला चाहिँ विशेष गरी भूकम्पको समयमा बढी प्रयोगमा आउने खड्काले बताए।
त्यसैगरी, कुनै पनि विपद् हुनुभन्दा अगाडि नै जोखिमयुक्त स्थान नक्सांकन गरेर त्यो आधारमा विपद्सम्बन्धी पूर्वयोजनाहरू बनाउनुपर्ने भन्दै खड्काले यसैको आधारमा तयारी पनि हुनुपर्नेमा जोड दिए ।
यदि विपद् भइहाल्यो भने वैकल्पिक सुरक्षित स्थान कहाँ हो भन्नेबारे पहिल्यै तोकिएको हुनुपर्ने उनको भनाइ छ ।
विपद्मा उद्धारका लागि लागि सक्षम व्यक्तिले मात्रै सहयोग गर्नुपर्ने भन्दै उनले कुनै पनि विपद्मा हाम्रो धैर्यता एकदमै अनिवार्य हुनुपर्नेमा जोड दिँदै भने, ‘हामीले धैर्यता गुमायौँ भने मानिस धेरै आत्तिएर ठूलो क्षति हुने सम्भावना पनि रहन्छ, विपद्मा यी विषयहरूलाई ध्यान दिनुपर्दछ ।’
खड्काले सबै आगो पानीबाट ननिभ्ने भन्दै कस्ता प्रकारका आगो कसरी निभाउने भन्ने बारेमा सबै सचेत हुनुपर्नेमा जोड दिए ।
उनले भने, “दाउराको आगोहरू सामान्यतया पानीले निभ्छन् तर, ग्यासको आगोलाई पानीले निभाउन सक्दैन त्यसका लागि ग्यासको आगो निभाउने उपकरण प्रयोग गर्नुपर्ने हुन्छ ।” सानोतिनो आगो फायर इक्स्टिङ्गुइसनले निभाउने भए पनि ठूला आगोहरू त्यसबाट मात्रै ननिभ्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिए ।
कारितास नेपालका वरिष्ठ जिल्ला अधिकृत सुजन गौलीले संस्थाले विभिन्न पालिकामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्दै समुदायलाई त्यसबारे प्रशिक्षण दिँदै आएको बताए। कावासोती नगरपालिकामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको भन्दै गौलीले पालिकाको १७ वटै वडाका विपद् व्यवस्थापन समितिका सदस्य तथा सामुदायिक वन, विद्यालय, युवा क्लब, स्वास्थ्य संस्था, सामुदायिक प्रहरी र नगरप्रहरीहरूलाई विपद् व्यवस्थापन तालिम प्रदान गरिएको बताए।
चार दिनसम्म सञ्चालन भएको यस कार्यक्रममा सहभागीहरूलाई प्राथमिक उपचारको तरिका, जलमा गरिने उद्धार तथा आगलागी र नियन्त्रण अभ्यासबारे प्रशिक्षण दिइएको गौलीको भनाइ छ ।
तालिम समापनका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले विपद् व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको बताए। उनले विपद् व्यवस्थापनका लागि विभिन्न निकाय तथा सङ्घसंस्था र सरोकारवालाले पनि यस्तो कार्यक्रममा ध्यान दिनुपर्नेमा जोड दिए ।














प्रतिक्रिया