केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो « Khabarhub

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीका किसान बहुबाली खेतीतर्फ आकर्षित भएका छन् । केराखेती गर्ने किसानले केराखेतीसँगै मकै, खुर्सानी, तोरी खेतीलगायत गर्न थालेका छन् । 

टीकापुर नगरपालिका–४ बाघमाराका किसान टेकेन्द्र धामीले केरा खेतीभित्र मकैखेती गरेका छन् । उनी यसवर्ष मकैको दुई बाली लिने तयारीमा छन्। केराखेतीभित्र एकपटक उत्पादन भएको मकै बेचिसकेका धामीको बारीमा फेरि केरासँगै मकै फस्टाउँदै गएको छ । 

धामीले साढे ६ बिघा जमिनमा केराखेतीसँगै मकैखेती गरेका छन् । एकपटक लाखौँ रुपैयाँ बराबरको मकै उत्पादन लिइसकेका उनको बारीमा फेरि मकैखेती फष्टाएको छ । 

‘तयार भएको मकै चैतमा बजारमा हरियो नै बेचियो, पोलेर बिक्री गर्ने भएकाले खपत राम्रै भयो’, उनले भने, ‘अब अर्को मकै बालीबाट ४५ क्विन्टल जति उत्पादन हुने अनुमान गरेको छु । यो बाली साउनको पहिलो सातातिर तयार हुन्छ, यसले पनि राम्रै बजार पाउँछ ।’

लामो समयदेखि २१ विघामा केराखेती गरिरहेका धामीले गतवर्ष पनि केराखेती भित्र खुर्सानी र तोरी खेती गरेका थिए । केराखेती गरिरहेका उनले विगतमा गरिने केरा खेतीको समय परिवर्तन गरेका छन्। विगतमा असारमा केरा रोप्ने गर्नुभएका धामीले दुई वर्षदेखि मङ्सिरमा आधा जमिनमा केरा रोपे। 

‘असारमा रोपेको केरा भदौमा तयार हुन्छ, सबैले असारमै रोप्ने गर्नाले चिसो मौसममा राम्रो केरा नपाइने समस्या हुन्छ । त्यसैले मैले केरा दुई समयमा रोप्न थालेको छु’, धामीले भने, ‘मङ्सिरमा रोपेको केरामा बहुबाली खेती गर्ने गरेको छु । यसरी खेती गर्दा बर्खामा हावाहुरीले गर्ने क्षतिबाट जोगिन्छ । विपद्बाट जोगिने र दुईभन्दा बढी बाली उत्पादन लिन सकिन्छ ।’

टीकापुर–५ पहाडीपुरका किसान शेरबहादुर साउदले गत वर्ष असारमा केरा रोप्नुभयो । केरा खेतीको बीचमा असोज महिनामा उनले मकै र तोरी खेती गरे। 

‘एक बिघा जमिनमा प्रयोग गरौँ भनेर खेती गरे, केराको दायाँबायाँ कमै र बीचमा तोरी छरे’, उनले भने ‘दुई क्विन्टलभन्दा बढी तोरी उत्पादन भयो । रु ४० हजारको त हरियो मकै बिक्री गरे, ६० किलो जति दाना मकै पनि छ ।’

बेमौसमी मकै तयार भएकाले राम्रो फाइदा भएको साउदको भनाइ छ । उनको बारीमा अहिले केरा राम्रो फस्टाएको छ । 

‘केरा खेतीबाट पनि करिब रु ५ लाखसम्म आम्दानी लिन सकिन्छ’, उनले भने, ‘मैले पाँच बिघा जमिनमा केराखेती गरेको छु, केराभित्र अन्य बाली उत्पादन लिन सकिन्छ । मेहनत गरेमा पर्याप्त कमाइ गर्न सकिन्छ ।’

बहुबाली खेती भनेको एउटै जमिनमा एउटै समयमा दुई वा दुईभन्दा बढी बाली लगाउने प्रविधि हो । बहुबाली खेतीले किसानलाई दोहोरो आम्दानी दिलाउने भएकाले किसान त्यसतर्फ आकर्षित भएका हुन् । एउटै खेतमा मुख्य नगदे बालीसँगै अन्य तरकारी वा अन्नबाली लगाउँदा जमिनको अधिकतम उपयोग हुने, उत्पादनमा विविधता र आम्दानी बढाउने कृषि विज्ञहरू बताउँछन् ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका प्रमुख डा विष्णुविलास अधिकारी बहुबाली खेती किसानका लागि फाइदाजनक भएको बताउँछन्। 

‘एउटा मुख्य बाली हुन्छ, बीचमा भुसुवा बाली लगाइन्छ । त्यसमा दुई वा दुईभन्दा बढी बाली लगाउन सकिन्छ’, उनले भने, ‘मकै खेतीमा भटमास, कोदो रोप्न सकिन्छ । तोरी लगाएमा तोरीभित्र केराउ, मसुरो, आलस लगाउन सकिन्छ ।’

डा अधिकारीका अनुसार मुख्य बाली बाहेक बीचमा भएको खाली जमीनमा अर्को बाली लगाएमा उत्पादन बढी लिन सकिने र एउटा बालीमा रोग किराले नोक्सान भए पनि अर्को बालीबाट उत्पादन लिँदा किसानलाई घाटा हुँदैन ।

“एउटा बालीले अर्को बालीलाई फाइदा गर्छ । थरिथरिका बाली लगाउँदा फरक फरक किसिमका कीरा र रोग लाग्दैन । किसानले कोसे बालीमा प्राथमिकता दिनुपर्छ”, डा अधिकारीले भने, ‘कोशेबाली मिसाएर लगाएमा बायुमण्डलमा भएको नाइट्रोजन स्थिरीकरण गरेर लिन्छ, जसले माटो मलिलो हुन्छ । किसानले थरिथरिका बाली बालीचक्रमा मिलाएर लगाएमा फाइदा लिन सकिन्छ ।’

कैलालीमा सयौँ किसान केराखेतीमा लागेका छन् । यहाँ करिब एक हजार हेक्टर जमिनमा केराखेती गरिएको छ । केराको उत्पादन लिन एकवर्ष बढी समय लाग्ने भएकाले एक वर्षभित्र केराको बीचको जमिनमा अर्को उत्पादन लिन सकिन्छ । फलफूलमा अन्य बाली लगाएर उत्पादन लिनुपर्छ ।

बहुबालीले माटोको संरक्षण गर्ने, खाली जमीनमा पानी वाष्पिकरण भएर उडेर जाने भएकाले खेर जाने पानी पनि अन्य बाली लगाउँदा संरक्षण हुन्छ । मल, जल सबै संरक्षण हुन्छ । ‘यसका फाइदा नै फाइदा छन्’, डा. अधिकारीले भने। 
 

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ३ : ५३ बजे

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

काठमाडौं । दाङमा कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते

सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि

आजका समाचार : शान्त हुँदै तराई-मधेश, गोलबजारको कर्फ्यु पनि हट्यो, पेचिलो बन्दै कोशीमा सत्ता राजनीति र इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका बनेको ट्रम्पको दाबी

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई