भारतमा हिरासत केन्द्र स्थापनाको आदेशपछि चिन्ता वृद्धि « Khabarhub

भारतमा हिरासत केन्द्र स्थापनाको आदेशपछि चिन्ता वृद्धि


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको पश्चिम बंगालमा कागजातविहीन बङ्गलादेशी नागरिक र रोहिङ्ग्या शरणार्थीलाई राख्न हिरासत केन्द्र स्थापना गर्ने सरकारी आदेश जारी भएपछि अल्पसङ्ख्यक समुदाय तथा मानव अधिकारकर्मीहरूबीच चिन्ता बढेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी  (भाजपा) ले पहिलो पटक पश्चिम बङ्गालमा चुनावी सफलता हासिल गरेको केही दिनपछि उक्त निर्देशन जारी गरिएको हो । आदेशअनुसार अवैध आप्रवासन नियन्त्रण अभियानअन्तर्गत पक्राउ परेका विदेशी नागरिकलाई राख्न ‘होल्डिङ सेन्टर’ स्थापना गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।

सरकारले ‘पत्ता लगाउनुहोस्, हटाउनुहोस् र निष्कासन गर्नुहोस्’ भन्ने रणनीतिअनुसार अवैध रूपमा बसोबास गरिरहेका व्यक्तिलाई लक्षित गरिएको जनाएको छ । गत साता जारी आदेशमा अवैध आप्रवासनले सुरक्षा तथा सामाजिक–आर्थिक क्षेत्रमा असर पार्ने उल्लेख गरिएको छ ।

यस निर्णयपछि पश्चिम बङ्गालका करिब तीन करोड ५० लाख मुस्लिम समुदायमा असुरक्षाको भावना बढेको बताइएको छ । बङ्गलादेशसँग ऐतिहासिक, भाषिक र सांस्कृतिक सम्बन्ध रहेका कारण धेरै मानिस सम्भावित मनमानी कारबाहीको जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गरिरहेका छन् ।

आलोचकहरूले यो नीतिलाई भारतमा लामो समयदेखि अपनाइँदै आएको कडा आप्रवासन नीतिको निरन्तरताका रूपमा व्याख्या गरेका छन् । उनीहरूले भाजपाका केही नेताले विगतमा बङ्गलादेशी आप्रवासीलाई ‘धमिरा’ र ‘घुसपैठिया’ जस्ता शब्द प्रयोग गरेको प्रसङ्ग पनि स्मरण गराएका छन् ।

यस्तै नीति यसअघि असाममा पनि लागू गरिएको थियो । त्यहाँ व्यापक नागरिक पहिचान जाँच, नजरबन्द र निष्कासन अभियान सञ्चालन गरिएको मानव अधिकार समूहहरूको भनाइ छ । अधिकारकर्मीहरूका अनुसार सयौँ व्यक्तिलाई पर्याप्त कानुनी प्रक्रिया पूरा नगरी बङ्गलादेश पठाइएको आरोपसमेत लागेको छ ।

मानव अधिकारकर्मी र वकिलहरूले अदालतमा दायर गरेका निवेदनमा केही व्यक्तिलाई सीमा क्षेत्रमा बन्दुकको डर देखाएर जबर्जस्ती धकेलिएको आरोप उल्लेख गरिएको छ । उनीहरूका अनुसार धार्मिक पहिचान र अवैध बसाइँसराइलाई जोड्ने नीतिले मुस्लिम समुदायलाई असमान रूपमा प्रभावित पारिरहेको छ ।

पश्चिम बङ्गालमा प्रस्तावित हिरासत केन्द्रहरूलाई विशेष संवेदनशील मानिएको छ, किनकि बङ्गलादेशसँग खुला सीमा र लामो समयदेखिको आवागमनका कारण त्यहाँको सामाजिक संरचना जटिल रहेको बताइन्छ।

आदेशमा रोहिङ्ग्या शरणार्थीलाई पनि समेटिएको विषयले थप विवाद उत्पन्न गरेको छ । मानव अधिकार समूहहरूले भारतले यसअघि पनि द्वन्द्वग्रस्त  म्यानमार फर्काइएका रोहिङ्ग्याको सुरक्षाप्रति पर्याप्त ध्यान नदिएको आरोप लगाउँदै आएका छन् । उनीहरूले यसलाई अन्तर्राष्ट्रिय शरणार्थी संरक्षण मापदण्डको सम्भावित उल्लङ्घनका रूपमा व्याख्या गरेका छन् ।

यसैबीच, असममा भाजपाको नेतृत्वमा रहेको सरकारले बहुविवाह रोक्ने तथा व्यक्तिगत धार्मिक कानून संशोधनसम्बन्धी विधेयक अघि सारेपछि अल्पसङ्ख्यक समुदायको असन्तुष्टि थप बढेको बताइएको छ । आलोचकहरूले यस्ता कदमले धार्मिक तथा सामाजिक ध्रुवीकरण बढ्न सक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ६ : १४ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि

‘गरिबलाई गरिखाने वातावरण बनाउने गरी नीति कार्यक्रम ल्याइने’

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको आर्थिक वर्षको

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य नीति : हवाई उद्धारदेखि टेलिमेडिसिनसम्म

काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि

‘आदिवासी जनजातिको हक, अधिकार स्थापित गर्न प्रतिबद्ध छौँ’ 

काठमाडौं– बिभिन्न दलका सांसदहरूले नेपालका आदिवासी जनजातिहरूको हक, अधिकार स्थापित