दोलखा– भीमेश्वर नगरपालिका–४ जिलुका रमेश चौलागाईं र उनकी पत्नी यशोदा चौलागाईं पछिल्लो चार वर्षदेखि बेमौसमी (अफसिजन) गोलभेडा खेतीमार्फत स्थानीय बजारको माग पूरा गर्दै उदाहरणीय कृषक बनेका छन्।
चैत–वैशाखको खडेरी र तरकारी उत्पादनको अफसिजन मानिने समयमा समेत उनीहरूले प्लास्टिक टनेल प्रविधि प्रयोग गरी नियमित रूपमा गोलभेडा उत्पादन गर्दै आएका छन्। करिब १० रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा ८० वटा टनेलमार्फत खेती भइरहेको छ।
चौलागाईं दम्पतीले वैशाख अन्तिम सातादेखि नै उत्पादन बजारमा पठाउन थालेका छन्। स्थानीय ४–५ जनालाई रोजगारी दिँदै उनीहरूले तरकारी तथा गोलभेडा बिक्रीबाट वार्षिक करिब ४० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताएका छन्।

उनीहरूका अनुसार अफसिजनमा जिल्लामा स्थानीय उत्पादन कम हुने भएकाले तराई र भारतबाट गोलभेडा आयात गर्नुपर्ने अवस्था रहन्छ। तर आफ्नै फार्मको उत्पादनले चरिकोट, जिरी, सिंगटी, मैनापोखरी लगायतका स्थानीय बजारको माग धेरै हदसम्म धानेको छ।
पछिल्लो एक सातामा मात्रै करिब ४ सय किरेट गोलभेडा विभिन्न बजारमा पठाइसकेको रमेश चौलागाईंले जानकारी दिए। उनका अनुसार चरिकोटमा दैनिक १२०–१३० किरेट, जिरीमा ३०–३५ किरेट, सिंगटीमा १० किरेट, मैनापोखरीमा २० किरेट र मागअनुसार खुम्ती, मन्थलीलगायत अन्य बजारमा समेत आपूर्ति भइरहेको छ।
८ देखि १० लाख रुपैयाँको प्रारम्भिक लगानीबाट सुरु गरिएको व्यवसायप्रति आफू सन्तुष्ट रहेको चौलागाईंको भनाइ छ। यसैबीच, चौलागाईं दम्पतीले नेपालमै पहिलो पटक जिलु क्षेत्रमा मस्कमेलन र हनिमेलन जस्ता विदेशी फलफूलको परीक्षण उत्पादनसमेत सुरु गरेका छन्।
परीक्षणका लागि लगाइएको करिब २०० बोटबाट राम्रो उत्पादन भएको उनीहरूले बताएका छन्। उत्पादित फल चरिकोट हुँदै काठमाडौं बजारतर्फ पठाउने तयारी भइरहेको छ।

उनका अनुसार यस्ता फल काठमाडौंका होटल तथा विशेष परिकारका लागि प्रयोग हुने भएकाले बजार मूल्य प्रतिकिलो करिब १,५०० रुपैयाँसम्म पुग्ने सम्भावना छ, जबकि भारतमा यसको मूल्य ५०० देखि ७०० रुपैयाँसम्म रहने गर्छ।
तर सफल कृषि व्यवसाय सञ्चालन गर्दै आएका चौलागाईंले अपेक्षाअनुसार सरकारी अनुदान तथा सहयोग नपाएको गुनासो गरेका छन्। वडास्तरबाट केही सहयोग भए पनि प्रदेश र संघीय तहबाट ठोस कार्यक्रम नआएको उनको भनाइ छ।
भिमेश्वर नगरपालिका–४ का वडाध्यक्ष तथा नगर प्रवक्ता तारानाथ चौलागाईंले भने स्थानीय कृषि व्यवसाय प्रवर्द्धनका लागि सहयोग जारी रहेको र आगामी बजेटमा पनि प्राथमिकता दिने बताएका छन्।














प्रतिक्रिया