डा. चेतना पौडेल पक्राउ प्रकरण : ‘नक्कली चिकित्सक’ कि प्राकृतिक चिकित्सा विज्ञ ? « Khabarhub

डा. चेतना पौडेल पक्राउ प्रकरण : ‘नक्कली चिकित्सक’ कि प्राकृतिक चिकित्सा विज्ञ ?


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफूलाई चिकित्सक भन्दै बिरामीलाई भ्रममा पारेर उपचार तथा औषधि सिफारिस गरेको आरोपमा पक्राउ परेकी डा. चेतना पौडेल प्रकरणमा योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालले गम्भीर आपत्ति जनाएको छ । पौडेललाई ‘नक्कली चिकित्सक’ का रूपमा चित्रण गरिएको भन्दै योग तथा प्राकृतिक चिकित्सक संघले विरोध गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४७ वर्षीया पौडेललाई मंगलबार काठमाडौंको चन्द्रागिरि–८ स्थित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टबाट पक्राउ गरेको थियो । नेपाल मेडिकल काउन्सिलको अनुसन्धान प्रतिवेदनका आधारमा उनलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।

प्रहरीका अनुसार पौडेलले आफूलाई चिकित्सकका रूपमा प्रस्तुत गर्दै आधुनिक चिकित्सा पद्धति अन्तर्गतका परीक्षण तथा औषधि प्रेस्क्रिप्सन गर्ने गरेको आरोप छ । उनीविरुद्ध इलाजसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । तर, योग तथा प्राकृतिक चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा भने पौडेल कुनै किसिमको ‘नक्कली चिकित्सक’ नभएको दाबी गरिएको छ ।

संघका अनुसार पौडेलले भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयबाट बीएनवाईएस उपाधि प्राप्त गरेकी हुन् । उनले एसडीएम कलेज अफ नेचुरोप्याथी एण्ड योगिक साइन्सेसबाट उक्त अध्ययन पूरा गरेकी थिइन् । संघले बीएनवाईएस कुनै छोटो तालिम वा सामान्य प्रमाणपत्र कार्यक्रम नभई विश्वविद्यालयस्तरको पूर्णकालीन स्वास्थ्य विज्ञानसम्बन्धी व्यावसायिक अध्ययन भएको जनाएको छ ।

पौडेलको शैक्षिक योग्यताले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गरेको तथा उनी नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीएस) मा विधिवत् दर्ता रहेको संघको दाबी छ । विज्ञप्तिमा नेपालमा बीएनवाईएस चिकित्सकहरूका लागि छुट्टै परिषद् स्थापना नभएकाले उनीहरू नेपाल स्वास्थ्य व्यवसायी परिषद्‍मा दर्ता भएर अभ्यास गरिरहेको उल्लेख गरिएको छ । साथै ‘डा.’ उपाधि विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक उपाधि भएकाले पौडेलले अध्ययन गरेको विश्वविद्यालयबाट उक्त उपाधि प्राप्त गरेको संघको भनाइ छ ।

यद्यपि नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार ‘चिकित्सक’ भन्नाले आधुनिक चिकित्सा प्रणाली (एलोपेथिक) अन्तर्गत मान्यता प्राप्त संस्थाबाट चिकित्साशास्त्रमा स्नातक वा सोभन्दा माथिल्लो उपाधि प्राप्त गरी काउन्सिलमा दर्ता भएको व्यक्तिलाई बुझिने व्यवस्था छ । ऐनअनुसार काउन्सिलमा नाम दर्ता भएपछि मात्रै व्यक्तिले चिकित्सकका रूपमा अभ्यास गर्न तथा नामअघि ‘डा.’ उपाधि प्रयोग गर्न पाउने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

यस प्रकरणले बीएनवाईएस चिकित्सकहरूको कानुनी हैसियत, उनीहरूको कार्यक्षेत्र तथा ‘डा.’ उपाधिको प्रयोगसम्बन्धी विषयमा नयाँ बहस सिर्जना गरेको छ । एकातर्फ मेडिकल काउन्सिलले आधुनिक चिकित्सा अभ्यास र चिकित्सकको उपाधि प्रयोगलाई लिएर प्रश्न उठाएको छ भने अर्कोतर्फ प्राकृतिक चिकित्सा क्षेत्रका संस्थाहरूले पौडेलको शैक्षिक योग्यता र व्यावसायिक दर्ता वैधानिक रहेको दाबी गरिरहेका छन् ।

हाल पौडेलविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । स्वास्थ्य व्यवसायी परिषद्का अधिकारीका अनुसार पौडेलले आफ्नो नामको अगाडि ’डाक्टर’ लेखेर बिरामीलाई रगत परीक्षणका लागि सिफारिस गर्ने र एलोपेथिक औषधिहरू समेत ’प्रेस्क्रिप्सन’ गर्ने गरेको आरोप लगाइएको छ ।

परिषद्का सुचना अधिकारी शीतल बस्नेतले भने, ‘उहाँले बिरामीको रगत परीक्षण गर्न अराउने र एलोपेथिक औषधिहरू लेख्ने गरेको सुन्नमा आएको छ । उहाँले नामको अगाडि डाक्टर लेखे पनि उहाँ आधुनिक चिकित्सा (एलोपेथिक) को डाक्टर भने हुनुहुन्न ।’

परिषद्का अनुसार चेतना पौडेलको वास्तविक शैक्षिक पृष्ठभूमि प्राकृतिक चिकित्सासँग जोडिएको छ । उनी प्राकृतिक चिकित्सा र योग विज्ञानकी स्नातक हुन्, जसलाई ’न्याचुरोप्याथी’ भनिन्छ । उनले जन स्वास्थ्य विषयमा स्नातकोत्तर (मास्टर्स डिग्री) गरेकी छिन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ७ : २५ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन