न्युयोर्क टाइम्स लेख्छ : मिसाइल संकट चुलिएपछि ट्रम्पले इरानमाथिको ठूलो आक्रमण रोके « Khabarhub

न्युयोर्क टाइम्स लेख्छ : मिसाइल संकट चुलिएपछि ट्रम्पले इरानमाथिको ठूलो आक्रमण रोके


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनासँग हवाई प्रतिरक्षा मिसाइलको मौज्दात घट्दै गएको चिन्ताका कारण इरानमाथि ठूलो सैन्य आक्रमणको योजना स्थगित गरेको दाबी न्युयोर्क टाइम्सले गरेको छ।

रिपोर्टका अनुसार गत वसन्तमा भएको नाजुक युद्धविराम भंग भएपछि अमेरिका र इरानबीच झन्डै दुई सातादेखि एकअर्कामाथि आक्रमण जारी छ। दुवै पक्षले जुन १७ मा हस्ताक्षर भएको १४ बुँदे समझदारी उल्लंघन गरेको आरोप एकअर्कालाई लगाइरहेका छन्।

गत बिहीबार ट्रम्पले यमनस्थित हुथी विद्रोही समूहले दुई साउदी तेल ट्यांकरमा आक्रमण गरेपछि उनले इरान र हुथीलाई ‘ठूलो सैन्य सजाय’ दिने चेतावनी दिएका थिए। उनले एक्सियोससँगको कुराकानीमा इरानविरुद्ध “पहिलाभन्दा पनि ठूलो” आक्रमणबारे विचार गरिरहेको बताएका थिए।

प्याट्रियट मिसाइलको अभाव

न्युयोर्क टाइम्सका अनुसार शुक्रबार ट्रम्पले वरिष्ठ सुरक्षा सल्लाहकार र मन्त्रिपरिषद्का सदस्यहरूसँग गरेको बैठकमा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) सँग रहेका प्याट्रियट इन्टरसेप्टर लगायत हवाई प्रतिरक्षा प्रणालीको घट्दो मौज्दात मुख्य चासोको विषय बनेको थियो।

बैठकबारे जानकारी पाएका स्रोतहरूका अनुसार अधिकारीहरूले व्यापक क्षेत्रीय युद्ध फैलिन सक्ने, इरानी जवाफी कारबाहीबाट खाडीका अमेरिकी साझेदार राष्ट्रहरू प्रभावित हुन सक्ने, विश्व अर्थतन्त्रमा असर पर्न सक्ने तथा ऊर्जा र शरणार्थी संकट गहिरिन सक्ने चिन्ता पनि व्यक्त गरेका थिए।

सैन्य नेतृत्वको चेतावनी

रिपोर्टअनुसार अमेरिकी संयुक्त सैन्य प्रमुखका अध्यक्ष जनरल ड्यान केनले ठूलो सैन्य कारबाही सम्भव भए पनि त्यसले अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) सँगका प्याट्रियट इन्टरसेप्टरको मौज्दात खतरनाक रूपमा घट्ने चेतावनी दिएका थिए।

उनका प्रवक्ताले भने यस विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन्।

न्युयोर्क टाइम्सले स्रोतलाई उद्धृत गर्दै ट्रम्पको आन्तरिक टोलीका अधिकांश सदस्यले युद्ध थप चर्काउने योजना उचित नरहेको निष्कर्ष निकालेको जनाएको छ। एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार थप आक्रमणले इरानलाई वार्तामा ल्याउनुको सट्टा बाह्य खतराविरुद्ध अझ एकताबद्ध बनाउने जोखिम छ।

प्राथमिकता कूटनीतिक समाधान

ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले ट्रम्पले कूटनीतिक समाधानलाई प्राथमिकता दिने भए पनि यदि तेहरानले होर्मुज जलडमरूमध्य वा अमेरिकी साझेदार राष्ट्रविरुद्ध गतिविधि जारी राखेमा सबै विकल्प खुला रहने बताएका छन्।

ठूलो परिमाणमा मिसाइल खर्च भएको आकलन

सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) ले अप्रिलमा सार्वजनिक गरेको विश्लेषणअनुसार प्रारम्भिक सैन्य अभियानमा अमेरिकाले आफ्ना करिब ४५ प्रतिशत प्रिसिजन स्ट्राइक मिसाइल, झन्डै आधा प्याट्रियट इन्टरसेप्टर, आधाभन्दा बढी थाड मिसाइल र करिब ३० प्रतिशत टोमहक क्रुज मिसाइल प्रयोग गरिसकेको अनुमान गरिएको थियो।

यसै साताको सुरुमा न्युयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इरानी मिसाइलहरू उच्च गति, बढी सञ्चालन क्षमता (म्यानुभरबिलिटी) र परिवर्तन हुँदै गएको सैन्य रणनीतिका कारण अमेरिकी प्रतिरक्षा प्रणाली छिचोल्न झन् प्रभावकारी बन्दै गएको बताएका थिए।

गत शुक्रबार जोर्डनमा अमेरिकी हवाई प्रतिरक्षा प्रणाली पार गर्दै आएको एक ब्यालिस्टिक मिसाइल आक्रमणमा तीन अमेरिकी सैनिक मारिएका थिए। इरानी ड्रोनको भग्नावशेष नष्ट गर्ने क्रममा इराकमा अर्का एक अमेरिकी सैनिकको पनि मृत्यु भएको थियो।

यता इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) ले कुवेतमा रहेका अमेरिकी राडार, सञ्चार प्रणाली, प्याट्रियट ब्याट्री र केही एमक्यू-९ ड्रोनमा क्षति पुगेको दाबी गरेको छ। यद्यपि अमेरिका र कुवेतले यी दाबीको पुष्टि गरेका छैनन्।

रिपोर्टका अनुसार शनिबार बिहानसम्म अमेरिकाले इरानमाथि कुनै नयाँ आक्रमण नगरेको र लगातार १३ रातसम्म जारी रहेको आक्रमणपछि पहिलो पटक सैन्य कारबाही रोकिएको छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ७ : ५२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर