भोटेकोशीको भीषण बाढीबारे फरक-फरक अनुमान, भू-वैज्ञानिक दाहालको दाबी : चीनतर्फ हिमताल फुटेको हुन सक्छ « Khabarhub

भोटेकोशीको भीषण बाढीबारे फरक-फरक अनुमान, भू-वैज्ञानिक दाहालको दाबी : चीनतर्फ हिमताल फुटेको हुन सक्छ


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीको वास्तविक कारण अझै स्पष्ट हुन सकेको छैन।

प्रारम्भिक अध्ययन र विज्ञहरूको भनाइमा हिमपहिरो गएको, हिमताल फुट्नु वा नदी थुनिएर एक्कासि पानीको बहाव बढ्नुजस्ता सम्भावना औंल्याएका छन्।

नेपालका भू-विपद् तथा भू-वैज्ञानिक विज्ञ प्रा. डा. रञ्जनकुमार दाहालले चीनतर्फबाट प्राप्त प्रारम्भिक सूचनालाई उद्धृत गर्दै तिब्बतमा अवस्थित हिमताल फुटेको अनुमान गरेका छन्। ल्हेन्दे खोलाको मुहानका रुपमा तिब्बततर्फ रहेका तीनवटामध्ये सम्भावित एउटा ताल फुटेको र त्यससँगै हिमपहिरोसमेत गएको हुनसक्ने उनले बताएका छन्।

उनका अनुसार चीनतर्फको प्रारम्भिक अनुमानमा ‘यी तीनवटै फुटेको र हिमपहिरो पनि सँगै भएको सम्भावना प्रबल रहेको’ देखिएको छ। यद्यपि, यो प्रारम्भिक अनुमान मात्रै भएकाले थप अध्ययन र प्रमाणबाट पुष्टि हुन बाँकी रहेको उनले बताएका छन्।

यस्तै, नेपाल तथा चीनका वैज्ञानिकहरूको प्रारम्भिक अध्ययनअनुसार ल्हेन्दे नदीमा आएको बाढीको मुख्य कारण हिमपहिरोले नदी थुनिनु हुनसक्ने देखिएको छ। प्रारम्भिक अध्ययनमा हिमपहिरो नेपालको भूभागतर्फबाट सुरु भएको हुनसक्ने अनुमान गरिएको छ।

उक्त हिमपहिरो नेपालको भूभागमा करिब २८.२८१०५१° उत्तर अक्षांश र ८५.५४५४०४° पूर्वी देशान्तर आसपासबाट उत्पत्ति भएको अनुमान गरिएको छ।

अनुगमन केन्द्रहरूको तथ्यांकअनुसार उक्त क्षेत्रमा अहिले पनि करिब ७ मिटर गहिरो पानी जमेको बताइएको छ। त्यसैले आगामी समयमा बाढीको अर्को लहर आउन सक्ने जोखिमसमेत औंल्याइएको छ।

यसैबीच, वरिष्ठ पत्रकार नारायण वाग्लेले सीमावर्ती क्षेत्रमा जलजन्य विपद्को जोखिमबारे नेपाल र चीनबीच सूचना आदानप्रदानका लागि भएको भनिएको द्विपक्षीय समझदारी कार्यान्वयनको विषय उठाएका छन्।

उनले सामाजिक सञ्जालमार्फत ‘फेरि तिब्बततर्फबाट आएको बाढीले ताण्डव मच्चाउँदैछ’ भन्दै सीमावर्ती क्षेत्रमा सावधानी र सहकार्यका लागि नेपालबाट पर्याप्त पहल नभएको टिप्पणी गरेका छन्।

वर्षाले मात्रै बाढी आएको होइन

जल तथा मौसम विज्ञान विभागले पनि भोटेकोशीमा आएको बाढी सामान्य वर्षाका कारण मात्रै आएको नदेखिएको जनाएको छ।

विभागका मौसमविद् मिनकुमार अर्यालका अनुसार रसुवा क्षेत्रमा मंगलबार रातिदेखि बुधबार बिहान ८ बजेसम्म ७ मिलिमिटरभन्दा बढी वर्षा भएको छैन। सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रमा भने राति केही स्थानमा भारी वर्षा भएको उनले बताए।

भोटेकोशीको जलाधार क्षेत्रसँग जोडिएको तिब्बततर्फ पनि भारी वर्षा भएको जानकारी प्राप्त भएको अर्यालले बताए। यस विषयमा चीनतर्फका सम्बन्धित निकायसँग समेत कुराकानी भइरहेको उनले जानकारी दिए।

तर, भोटेकोसीमा आएको बाढीको प्रकृति हेर्दा वर्षाका कारण मात्रै यति ठूलो बाढी आएको हुन नसक्ने उनी बताउँछन्। बाँध फुटेको, ठूलो हिमपहिरो गएर नदी थुनिएको वा हिमनदीको कुनै भाग फुटेर केही समय नदीको बहाव रोकिएपछि एक्कासि पानी बगेको हुनसक्ने विभागको प्रारम्भिक अनुमान छ।

‘अहिले नै ठ्याक्कै यही कारण हो भनेर भन्न सकिने अवस्था छैन। सम्भावित कारणबारे अध्ययन भइरहेको छ,’ अर्यालले भने।

बाढीको वास्तविक कारण पत्ता लगाउन नेपाल र चीनतर्फको अवस्थाबारे थप जानकारी आवश्यक रहेको विभागले जनाएको छ। घटनास्थलतर्फ जाने बाटो तथा सम्पर्क अवरुद्ध भएकाले स्थलगत विवरण प्राप्त गर्न कठिनाइ भइरहेको छ।

बाढीका कारण नदी किनारमा जडान गरिएका जलसतह मापन गर्ने सेन्सर तथा अन्य मौसमी उपकरणसमेत बगेका छन्। बिहान करिब ८ बजेपछि ती उपकरणबाट थप विवरण प्राप्त हुन नसकेको अर्यालले बताए।

यसले बाढीको वास्तविक स्रोत र कारण यकिन गर्न थप कठिनाइ भएको छ। अहिले हिमपहिरो, हिमताल वा हिमनदी फुट्नु तथा नदी थुनिएर एक्कासि पानीको बहाव बढ्नुजस्ता सम्भावित कारणमाथि अध्ययन भइरहेको छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १२ : ५४ बजे

टिमुरे भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

काठमाडौं– रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

बाढीका कारण विद्युत् क्षेत्रमा व्यापक क्षति, अवरुद्ध भएको विद्युत् आपूर्ति सञ्चालनमा ल्याउन प्रयास

काठमाडौं– अविरल वर्षापछि आएको आकस्मिक बाढीका कारण रसुवाको भोटेकोशी क्षेत्रमा

मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम