काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको एक महिना पुगेको छ। बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा घर, सडक, पुल, जलविद्युत् आयोजना, व्यापारिक संरचना तथा अन्य पूर्वाधारमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रको अवस्था अझै सामान्य बन्न सकेको छैन।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीमा १ हजार ४५३ जनाको मृत्यु भएको छ भने ५ हजार २८५ जना अझै बेपत्ता छन्। बाढी प्रभावित क्षेत्रबाट १३ हजार ७९५ जनाको उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए।
सरकारको प्रारम्भिक क्षति तथा आवश्यकता मूल्याङ्कनअनुसार बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति तथा आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ। पुनःस्थापना तथा पुनर्निर्माणका लागि भने ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्रारम्भिक आकलन छ।

बाढीबाट करिब ७ हजार ५७० घरमा क्षति पुगेको तथा पाँच जिल्लाका करिब ३२ हजार ९६३ जना प्रत्यक्ष प्रभावित भएको सरकारी प्रारम्भिक मूल्याङ्कनमा उल्लेख छ। घर तथा भौतिक संरचनासँगै कृषि भूमि, जलविद्युत् आयोजना र स्थानीय आर्थिक गतिविधिमा समेत ठूलो क्षति पुगेको छ।
बेत्रावतीदेखि देवीघाटसम्म सडक जोडिँदै
बाढीले बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएपछि रसुवासँगको स्थल यातायात सम्पर्क लामो समय अवरुद्ध भएको थियो।
नुवाकोटको देवीघाटमा नेपाली सेनाले अस्थायी एक्रो पुल निर्माण गरेपछि विदुर र आसपासका क्षेत्रमा आवतजावत केही सहज भएको छ। बेत्रावतीतर्फको सडक खुलाउने काम पनि अघि बढिरहेको छ।

सडक विभागका अनुसार विदुर–बेत्रावती करिब १० किलोमिटर सडकखण्डमध्ये अधिकांश भाग सञ्चालनमा ल्याइएको छ। बाढीले बगाएको तथा पहिरोले अवरुद्ध गरेको केही स्थानमा भने ट्रयाक खोल्ने काम भइरहेको छ। बेत्रावतीमा ७२ मिटर लामो बेलीब्रिज जडानको तयारी भइरहेको छ।
तर देवीघाटबाट पारिका गाउँतर्फ जान अझै तुइनको सहारा लिनुपर्ने अवस्था छ। विदुरदेखि त्रिशूली बजारसम्मको आवतजावतमा समेत कतिपय स्थानमा तुइनकै भर पर्नुपर्ने अवस्था रहेको छ।

गल्छी–स्याफ्रुबेँसी सडकलाई दसैँअघि वा असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको सडक विभागले जनाएको छ। तर स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको करिब १५ किलोमिटर सडकखण्डमा बाढीले ठूलो क्षति पुर्याएकोले त्यस क्षेत्रमा सडक पुनःनिर्माणका लागि थप समय लाग्ने देखिएको छ।
अझै टेन्टमै प्रभावित परिवार
बाढीले घर बगाएपछि तथा घर बस्न अयोग्य भएपछि विस्थापित भएका धेरै परिवार अझै पुरानै घरमा फर्किन सकेका छैनन्। कतिपय परिवार बाढीले पुरिएका तथा क्षतिग्रस्त घरबाट बाँकी सामान निकालेर सरसफाइमा जुटेका छन् भने घर पूर्णरूपमा बगेका वा बस्न अयोग्य भएका परिवार अस्थायी टेन्ट तथा आश्रयस्थलको भरमा छन्।

निरन्तरको वर्षाले टेन्टमा बसिरहेका परिवारको समस्या थपिएको छ। नुवाकोटमा रसुवाबाट विस्थापित भएर आएका केही परिवार अझै टेन्टमै बसिरहेका छन्। वर्षाको पानी टेन्टभित्र पस्दा खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री जोगाउन समस्या भएको छ।
बाढीपछि नुवाकोटका चार स्थानीय तहमा मात्रै १ हजार ९५५ परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क छ। त्यसमध्ये विदुर नगरपालिकामा सबैभन्दा बढी १ हजार ६७८ परिवारको आवासमा क्षति पुगेको जनाइएको छ।

प्रभावितलाई लामो समय होल्डिङ सेन्टर वा टेन्टमा राखिरहनुको सट्टा भाडाको कोठामा स्थानान्तरण गर्ने नीति सरकारले अघि सारेको छ। विदुर नगरपालिकाले बस्नयोग्य घर नभएका प्रभावित परिवारलाई कोठा भाडामा लिएर बस्न प्रतिपरिवार मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो।
त्यसपछि संघीय सरकारले स्थायी आवास निर्माण नभएसम्म आवास भाडा तथा आवश्यक खर्चका लागि चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भए थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ। आवास भाडामा बस्न नचाहने परिवारका लागि सरकारले अस्थायी आवासको विकल्पसमेत अघि सारेको छ।

रसुवा अझै सडकको पर्खाइमा
बाढीले रसुवाको सडक सञ्जालमा ठूलो क्षति पुर्याएपछि जिल्लाको उत्तरी क्षेत्रमा आवतजावत अझै चुनौतीपूर्ण छ। विशेषगरी स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा ठूलो क्षति पुगेको छ।
स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक पुनःनिर्माण तथा वैकल्पिक पहुँचका लागि सर्वेक्षणको काम अघि बढाइएको छ। सडकमार्गबाट पुग्न कठिन बनेका कतिपय क्षेत्रमा बाढीपछि राहत, स्वास्थ्य सेवा तथा दैनिक उपभोग्य सामग्री पुर्याउन हवाई सेवामा निर्भर हुनुपरेको थियो।

सडक पूर्णरूपमा पुनःस्थापित नभएसम्म दुर्गम बस्तीका नागरिकको आवतजावत तथा दैनिक उपभोग्य सामग्रीको ढुवानी सहज हुन नसक्ने अवस्था छ।
एक महिनाको अवधिमा केही सडक तथा पुल अस्थायी रूपमा जोडिएका छन्। प्रभावित परिवारलाई राहत, अस्थायी आवास तथा आवास भाडाको व्यवस्था गर्ने काम पनि अघि बढेको छ।

तर हजारौँ परिवारको स्थायी पुनःस्थापना, क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण र बाढीले पूर्णरूपमा बगाएका बस्तीको भविष्य निर्धारण गर्न अझै लामो समय लाग्ने देखिएको छ। बाढीको एक महिना बितिसक्दा पनि प्रभावित क्षेत्रका भग्नावशेष, अवरुद्ध सडक र अस्थायी आश्रयमा रहेका परिवारले पुनःस्थापनाको चुनौती अझै कायमै रहेको देखाएका छन्।













प्रतिक्रिया