एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा भेटवार्ता गर्दै क्षेत्रीय सुरक्षा अवस्था तथा आपसी रक्षा सहकार्य थप सुदृढ गर्ने उपायबारे छलफल गरेका छन्।
साउदी रक्षा मन्त्रालयका अनुसार तीन देशका सैन्य प्रमुखहरूले साउदी अरबको सुरक्षा अवस्था तथा त्यससमक्ष रहेका सम्भावित खतराबारे समीक्षा गरेका थिए। उनीहरूले मक्कालगायत साउदी अरबका नागरिक तथा आर्थिक पूर्वाधारलाई लक्षित गरी भएका आक्रमणको कडा निन्दा गरेका छन्।
बैठकमा तीन देशका सशस्त्र बलबीच सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। विशेषगरी गुप्तचरसम्बन्धी सहकार्य, सैन्य समन्वय तथा सैन्य क्षमता एकीकृत गर्ने विषयमा जोड दिइएको थियो।
तीन देशले सामूहिक प्रतिरक्षाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै साउदी अरबको सुरक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न दृढ रहेको बताएका छन्।
पछिल्ला दिनहरूमा साउदी अरब र यमनका हुथीबीच एकअर्कालाई लक्षित गरी आक्रमण हुँदै आएका छन्। हुथीहरूले आफू नियन्त्रणमा रहेका क्षेत्रमा साउदी अरबले गरेको हवाई आक्रमणको जवाफस्वरूप राजधानी रियादसहित साउदी अरबका विभिन्न क्षेत्रमा आक्रमण गरेको बताएका छन्।
साउदी अरब, पाकिस्तान र टर्कीले गत अगस्ट ७ मा साउदी अरबको मक्कामा संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार कुनै एक हस्ताक्षरकर्ता राष्ट्रमाथि भएको आक्रमणलाई सबै राष्ट्रमाथि भएको आक्रमणका रूपमा लिइने व्यवस्था गरिएको छ।













प्रतिक्रिया