काठमाडौं – रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको एक महिना पूरा हुँदा पनि बेपत्ताको खोजी र पहिचानको पीडा उस्तै छ। बाढीमा बेपत्ता भएका अनुमानित ५ हजार २८५ जनाको अवस्था अझै अज्ञात छ।

बेपत्ताको खोजी तथा पहिचानमा सहज होस् भनेर परिवार र आफन्तले काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका भित्तामा उनीहरूका तस्बिरसहितका सूचना टाँसेका थिए। तर, एक महिनासम्म पनि हराएकाहरूको अत्तोपत्तो नहुँदा ती तस्बिर भने घामपानीका कारण उप्किन, खुइलिन र च्यातिन थालेका छन्।
घटनालगत्तै आफन्त भेटिने आशामा अस्पतालका भित्तामा टाँसिएका ती तस्बिरमध्ये कतिपय अझै त्यहीँ छन्। केही परिवारले भने बेपत्ताको कुशको शव बनाएर अन्त्येष्टिसमेत गरिसकेका छन्।

बाढीमा परेका हालसम्म एक हजार ४५३ जनाको शव भेटिएको छ। शव भेटिए पनि कतिपयको पहिचान हुन बाँकी छ। बेपत्ताको पहिचानका लागि हालसम्म दुई हजार ६० जनाको डीएनए नमुना संकलन गरिएको छ।
बेपत्ताको खोजी र पहिचानमा परिवारले लामो समयदेखि प्रतीक्षा गरिरहेका छन्। अस्पतालका भित्तामा खुइलिँदै र च्यातिँदै गरेका तस्बिरले भने एक महिनापछि पनि उनीहरूको पीडा र अनिश्चितताको अवस्थालाई झल्काइरहेका छन्।
















प्रतिक्रिया