मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती « Khabarhub

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका सयौँ मालवाहक सवारीसाधन बाटोमै अलपत्र परेका छन्।

भारत तथा तराई–मधेशका विभिन्न जिल्लाबाट खाद्यान्नलगायतका सामग्री लिएर काठमाडौँ हिँडेका ट्रकहरू पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनका विभिन्न स्थानमा रोकिएका हुन्। नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक सवारीसाधनको लामो लाइन लागेको छ।

सडक किनारमा लामो समयदेखि सवारी रोक्नुपर्दा चालक तथा सहचालकलाई खानेपानी, खाना र शौचालयजस्ता आधारभूत सुविधाको समस्या भएको छ। कतिपय चालक गाडीभित्रै सुत्न र खाना पकाएर खान बाध्य छन्।

कपिलवस्तुबाट खाद्यान्न बोकेर काठमाडौँतर्फ हिँडेका चालक शंकर परियार असोज ८ गतेदेखि नारायणगढ बाइपासमा रोकिएका छन्। तीन दिनदेखि एउटै ठाउँमा रोकिएका उनले समयमा खाना खान नपाएको र शौचालयको समेत समस्या भएको बताए।

‘खान पाउँदैन टाइममा, यहाँ बाथरुमको सुविधा पनि छैन। खाना खान पनि यहाँबाट अटो भाडा तिरेर पुग्नुपर्छ। अगाडि रामनगरसम्म जान पाए त खाना लाउन सबै मिल्थ्यो होला,’ उनले भने।

भारतको बिहारबाट सामान बोकेर आएका चालकको समस्या झन् जटिल छ। नेपाली सिमकार्ड र अनलाइन भुक्तानी सेवा प्रयोग गर्न नसक्ने तथा साथमा नेपाली नगद नहुँदा उनीहरूलाई खानेकुरा जुटाउनसमेत कठिन भएको छ। अधिकांश चालकले ट्रकभित्रै खाना पकाएर खाने गरेका छन् भने शौचालयको समस्या प्रमुख बनेको उनीहरूको गुनासो छ।

खाद्यान्न बोकेको ट्रकका चालक नन्दलाल चौधरी पनि ट्रकभित्रै खाना पकाउँदै गरेको भेटिए। ‘बाटोमा बस्दा दुःख त धेरै छ, तर बाटोको समस्याले गर्दा ड्राइभरको जिन्दगी नै यस्तै हो। जस्तोसुकै भए पनि बजारमा खाद्यान्न त पुर्‍याइदिनै पर्यो, नपुर्‍याए ठाउँमा समस्या पर्छ,’ उनले भने।

चालकहरूले आधारभूत सुविधाको अभावमा समस्या झेलिरहेको गुनासो गरे पनि चितवनका ट्राफिक प्रमुख प्रहरी निरीक्षक अनिल थापाले सवारीसाधनलाई सुरक्षित तथा बस्ती भएका क्षेत्रमा नियन्त्रित रूपमा रोकिएको बताए। उनका अनुसार जङ्गल क्षेत्रमा सवारी नरोकाई आँपटारी, गुम्बा तथा मन्दिर आसपासका बस्ती क्षेत्रमा रोकिने व्यवस्था गरिएको छ। ती स्थानमा रहेका होटल तथा सार्वजनिक शौचालय प्रयोग गर्न सकिने उनले बताए।

ट्राफिक प्रमुख थापाका अनुसार पोखरातर्फको राजमार्ग सञ्चालनमा रहे पनि काठमाडौँ जाने मुख्य मार्ग अवरुद्ध छ। कुरिनटार नजिकै सडक धसिएको र सो स्थानको माथिल्लो भागबाट एकतर्फी रूपमा सवारी सञ्चालन गर्न सकिने अवस्था रहेको उनले बताए।

उनका अनुसार काठमाडौँतर्फ जाने मार्गमा मुख्यतः धादिङ क्षेत्रमा ६–७ स्थानमा पहिरो खसेको छ। थप वर्षा नभए र पहिरो हटाउने काम निरन्तर अघि बढेमा छिट्टै सडक सञ्चालनमा ल्याउन सकिने अनुमान गरिएको छ।

राजमार्ग खुल्ने प्रतीक्षामा सयौँ चालक तथा सहचालक अहिले पनि सडक किनारमै रोकिएका छन्। लामो समयसम्म सवारी रोकिँदा एकातर्फ चालक तथा सहचालकले दैनिक आवश्यकताका सामानको अभाव झेलिरहेका छन् भने अर्कोतर्फ खाद्यान्नलगायतका सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ५ : ०८ बजे

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका