ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार « Khabarhub

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि भत्किएको भवनको भग्नावशेषबाट उद्धारकर्ताहरूले दुई अचेत व्यक्तिको उद्धार गरेका छन् । अधिकारीका अनुसार अन्य चार जनाको खोजी कार्य शनिबार पनि जारी रहेको छ । एथेन्सका मेयर हारिस डुकासका अनुसार प्रारम्भिक अनुसन्धानले ठूलो मात्रामा ग्यास चुहावटका कारण विस्फोट भएको हुन सक्ने देखाएको छ ।

विस्फोटका कारण आसपासका भवनहरूमा पनि क्षति पुगेपछि ती भवन खाली गराइएको उनले बताए । दमकल विभागका अनुसार एथेन्सको ऐतिहासिक क्षेत्र प्लाकामा, विश्वप्रसिद्ध प्राचीन स्मारक एक्रोपोलिसको फेदीमा रहेको दुईतले घरको भग्नावशेषबाट दोस्रो व्यक्तिलाई अचेत अवस्थामा फेला पारिएको हो ।

यसअघि शनिबार बिहान एक अचेत महिलाको उद्धार गरी एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो । दमकल विभागका अनुसार लिसिक्राटुस स्ट्रिटस्थित छेउको भवनमा रहेका अन्य दुई महिला पनि घाइते भएका छन् । खोज तथा उद्धार कार्यमा ३० जना अग्नि नियन्त्रक तथा तीनवटा तालिम प्राप्त उद्धार कुकुर परिचालन गरिएको छ ।

घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन् । घटनास्थलबाट प्राप्त भिडियो फुटेजमा सडकभरि भग्नावशेष छरिएको तथा खसेका अवशेषका कारण पार्किङमा रहेका सवारीसाधनमा क्षति पुगेको देखिएको छ ।

स्थानीय बासिन्दा आन्ड्रियास मार्टजाक्लिसका अनुसार छेउको भवनबाट उद्धार गरिएका सबै व्यक्ति पर्यटक थिए । उता, नजिकैको चर्चका पास्टरले विस्फोटबाट चर्चमा पनि क्षति पुगेकाले आइतबारको प्रार्थना सभा खुला स्थानमा आयोजना गरिने जानकारी दिएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ६ : ३५ बजे

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ