काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी दिएको छ । यदि अमेरिकाबाट हमला भएमा अमेरिकी सैन्य केन्द्रहरू ध्वस्त पार्ने चेतावनी इरानले दिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानको उच्च सैन्य कमाण्डको मुख्यालयबाट अमेरिकालाई उक्त चेतावनी दिइएको हो । अबको सात दिनभित्र स्ट्रेट अफ होर्मुज खुलाउनका लागि अमेरिकाले आक्रमणको तयारी गरिरहेका विवरण सार्वजनिक भइरहेका छन् । इरानी अर्धसरकारी समाचार संस्था मेहरका अनुसार संवेदनशील इलाकाहरूमा अमेरिकी सैन्य गतिविधि पनि चलिरहेको छ ।
इरानको आधिकारिक भनाइ उद्धृत गर्दै मेहरले भनेको छ,”इरानले युद्धको थालनी गर्नेछैन । तर यदि इरानमाथि हमला भयो भने प्रतिरक्षाको कुनै कसर इरानले बाँकी राख्ने छैन । ”
राष्ट्रसंघको ८१ औँ महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ध्वस्त हुने वा क्षतिपूर्ति लिएर पुनर्निमार्णसहितको सबल राष्ट्र बन्ने विकल्प रहेको चेतावनी दिएका थिए । राष्ट्रपति ट्रम्पको चेतावनी र होर्मुज केन्द्रित अमेरिकी सैन्य गतिविधि बढेपछि इरानले हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी दिएको हो ।
यता, एकसाताभित्रै स्ट्रेट अफ होर्मुजको सञ्चालनबारे इरान र अमेरिकाबीच कूटनीतिक र राजनीतिक संवाद पनि जारी छ । इरानी विदेशमन्त्री अब्बास अघर्चीले एकसाताभित्रै होर्मुज सञ्चालनका लागि इरानले अमेरिकासँग प्रस्ताव राखेको बताए ।
यदि इरानी सर्त मान्न अमेरिका तयार भए होर्मुज सञ्चालन हुने उनले बताएका छन् । ”अब सबै कुरा अमेरिकी हातमा छ । इरानले आफ्ना सर्तहरू स्पष्ट ढंगले राखेको छ,” उनले भनेका छन् ।













प्रतिक्रिया