मुस्ताङ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले विपद् जोखिमको कारण सुरक्षाका लागि प्रवेशाज्ञा (परमिट) दिन बन्द गरेको छ ।
एक्याप प्रधान कार्यालय पोखराले मौसममा सुधार नआएसम्म सो निर्णय लागू हुने उल्लेख गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिमाली तथा उच्चपहाडी क्षेत्रको भ्रमण गर्न जाने पर्यटकका लागि वर्षा र हिमपातले जोखिम निम्तन सक्ने उल्लेख गरी तीन दिनका लागि प्रवेशाज्ञा अनुमतिपत्र दिन बन्द गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए ।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार मौसम पूर्वानुमान महाशाले बिहीबारदेखि चार दिनसम्म भारी वर्षा र हिमपात हुने जनाएकाले सोही सूचनालाई मध्यनजर गरी पर्यटकको सुरक्षाका लागि प्रवेशाज्ञा (परमिट) अनुमतिपत्र दिन बन्द गरेको कार्यालय प्रमुख गुप्तको भनाइ छ ।
निर्णयसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङसहित मनाङ, लमजुङ, म्याग्दी र कास्कीको उपल्लो क्षेत्रमा भ्रमण गर्न जाने पर्यटकलाई बिहीबारदेखि प्रवेशाज्ञा अनुमतिपत्र दिन बन्द गरिएको हो ।
एक्याप जोमसोम प्रमुख गुप्ताले कुनै पर्यटक जिल्ला भित्रिएको अवस्थामा कार्यालयद्वारा भौतिक रूपमा उपस्थित भएर प्रवेशाज्ञा (परमिट) शुल्क लिएर सहजीकरण गरिने बताए । एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रमा भ्रमण गर्ने पर्यटकका लागि अनलाइन प्रणालीमार्फत प्रवेशाज्ञा शुल्क उठाउने गरेको छ ।
तर, निरन्तरको वर्षाका कारण बाढी, पहिरो र नदी कटानले सडक अवरुद्ध हुने तथा यात्रा जोखिम हुनसक्ने भएकाले तत्कालका लागि मौसममा सुधार नआएसम्म प्रवेशाज्ञा अनुमति दिन अनलाइन प्रणाली बन्द गरेको प्रमुख गुप्तको भनाइ छ । प्रतिकूल मौसमका कारण अहिलेको असहज परिस्थितिको रोकिनेबित्तिकै साविककैअनुसार प्रवेशाज्ञा सेवा सञ्चालन गराइने उनले बताए ।
एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ, मनाङ, लमजुङ, कास्कीको उपल्लो भेक र म्याग्दीको सिख, घारा र नारच्याङ क्षेत्रमा भ्रमण गर्ने पर्यटकले तोकिएको शुल्क तिरेपछि मात्रै प्रवेशाज्ञा अनुमति पाउने गर्छन् । एक्यापले यी क्षेत्रको भ्रमण गर्दा सार्क राष्ट्रका पर्यटकलाई एक हजार र तेस्रो मुलुकका पर्यटकका लागि तीन हजार प्रवेशाज्ञा शुल्क लिने गरेको छ ।













प्रतिक्रिया