काठमाडौं- मध्यपूर्वको तनावका कारण होर्मुज जलमार्ग बन्द भएपछि तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आपूर्तिमा आएको अवरोधले प्रभावित देशहरूमध्ये पाकिस्तान सबैभन्दा बढी मारमा परेको छ । ग्यासुटेक सम्मेलनको हालै सार्वजनिक प्रतिवेदनले पाकिस्तानले आफ्नो ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न नवीकरणीय ऊर्जा र कोइलाको प्रयोग बढाउनुपर्ने औँल्याएको छ।
प्रतिवेदनअनुसार पाकिस्तानले आफ्नो एलएनजी आपूर्तिको करिब ९९ प्रतिशत हिस्सा कतार र संयुक्त अरब इमिरेट्स (यूएई) बाट प्राप्त गर्दै आएको छ । यो ग्यास मुख्यतया विद्युत् उत्पादन, मल कारखाना र औद्योगिक क्षेत्रमा प्रयोग हुन्छ भने देशको कुल ग्यास आपूर्तिमा एलएनजीको हिस्सा करिब ३० प्रतिशत रहेको छ ।
इजरायल, अमेरिका र इरानबीचको द्वन्द्व तथा त्यसबाट होर्मुज जलमार्गमा देखिएको अवरोधले विश्वव्यापी ऊर्जा बजारलाई प्रभावित पारेको छ । यस संकटबाट पाठ सिकेर एसियाली देशहरूले ऊर्जा सुरक्षाका लागि सौर्य ऊर्जा, वायु ऊर्जा र ऊर्जा भण्डारण प्रणालीलाई तीव्रता दिनुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ ।
यसैबीच, ग्यासुटेक सम्मेलनमा सहभागी पाकिस्तानको युनिभर्सल ग्यास डिस्ट्रिब्युसन कम्पनी (युजीडीसी) ले अन्तर्राष्ट्रिय कम्पनीहरूसँग ग्यास भण्डारण निर्माण र दीर्घकालीन एलएनजी आपूर्तिको सम्झौताका लागि छलफल गरेको छ। युजीडीसीका प्रमुख कार्यकारी अधिकृत घियास अब्दुल्ला पराचाले अन्तर्राष्ट्रिय फर्महरूबाट निकै राम्रो प्रतिक्रिया मिलेको र केही कम्पनीहरू पाकिस्तानमा ग्यास भण्डारण तथा दीर्घकालीन आपूर्ति सम्झौता गर्न उत्सुक रहेको बताएका छन्।
ग्यास आपूर्तिमा आएको अवरोध र मूल्य वृद्धिका कारण पाकिस्तानी सरकार बाध्य भएर कोइला, जलविद्युत र आणविक ऊर्जातर्फ आकर्षित भइरहेको छ।














प्रतिक्रिया