काठमाडौं- दक्षिण चीन सागरमा चीन र फिलिपिन्सका जहाजहरूबीच पुनः झडप भएको छ । पालावान प्रान्तको किनार नजिकै माछा मार्ने डुङ्गाहरूलाई इन्धन आपूर्ति गर्न गएको फिलिपिन्स सरकारको माछापालन तथा जलचर स्रोत विभाग (बीएफएआर) को जहाजलाई चिनियाँ कोस्ट गार्डको जहाजले जानाजानी ठक्कर दिएको मनिलाले आरोप लगाएको छ ।
फिलिपिन्स कोस्ट गार्डका प्रवक्ता जे टारेलाका अनुसार चिनियाँ जहाजले करिब १० मिटरको दूरीबाट फिलिपिन्सको जहाजको बाटो काट्नुका साथै करिब १० मिनेटपछि पुनस् खतरनाक म्यान्युभर गर्दै ठक्कर दिएको थियो । यस दुर्घटनामा मानवीय क्षति नभए पनि फिलिपिन्सको जहाजको एक तर्फको भागमा गम्भीर क्षति पुगेको छ र डेकभरि भग्नावशेष फैलिएको छ ।
चिनियाँ विदेश मन्त्रालयले भने उक्त आरोपलाई खारेज गर्दै फिलिपिन्सको जहाजले चेतावनीलाई बेवास्ता गरी जानाजानी आफ्नो दिशा परिवर्तन गरेको र चिनियाँ जहाजको अगाडि अचानक गति बढाएको दाबी गरेको छ।
सम्पूर्ण दक्षिण चीन सागरमा आफ्नो दाबीलाई थप मजबुत बनाउन चीनले पछिल्लो समय यस्ता आक्रामक गतिविधिहरू बढाउँदै आएको छ। यसअघि जुलाई महिनामा पनि स्काबोरो शोल नजिकै चिनियाँ पक्षले वाटर क्यानन प्रहार गर्नुका साथै फिलिपिन्सका नौसेना कर्मचारीलाई काठको लौरेले आक्रमण गरेको मनिलाले जनाएको थियो। अमेरिकाले बेइजिङको यस किसिमको सैन्य गतिविधूप्रति गहिरो चिन्ता व्यक्त गरेको छ भने फिलिपिन्सले आफ्नो समुद्री क्षेत्रको रक्षाका लागि कडा अडान लिँदै आएको छ।














प्रतिक्रिया