कसले सुनिदिने किसानका पीडा ? « Khabarhub

कसले सुनिदिने किसानका पीडा ?


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै माटोमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छ हरिवन नगरपालिका–४, सासापुरका महमद अकबर अन्सारी । वैदेशिक रोजगारीका लागि कतार र साउदी अरेबिया पुगेका अन्सारी अहिले आफ्नै गाउँमा व्यावसायिक गोलभेँडा खेती गरिरहेका छन् । 

पछिल्लो आठ वर्षदेखि व्यावसायिक रूपमा गोलभेँडा खेती गर्दै आएका उनले प्रशस्त आम्दानी पनि गरिरहेका छन् । उनले यस वर्ष पनि सात बिघा क्षेत्रफलमा गोलभेँडा लगाएका छन् । अन्सारीको अनुभव केवल निर्वाहमुखी खेतीको कथा होइन । व्यावसायिक खेतीबाट मनग्य आम्दानी गरेको उनको दाबी छ । 

उनका अनुसार गते वर्ष १० बिघामा गोलभेँडा खेती गरेर रु ७५ लाखभन्दा बढीको उत्पादन लिए । त्यसबाट आफूले ५० लाखभन्दा बढी मुनाफा आर्जन गरी घरखर्चका साथै घरको तल्ला थप्नेदेखि र जग्गा जोड्न सफल भएको बताए ।

अन्सारीको कथा एउटा महत्त्वपूर्ण प्रश्नको उत्तर पनि हो । यदि कृषि ज्ञान, बजार, प्रविधि, लगानी र व्यवस्थापनको उचित व्यवस्थापन भयो भने नेपालमै कृषिबाट सम्मानजनक आम्दानी गर्न सक्छन् । 

अर्का किसान बागमती नगरपालिका–११, का नीलकण्ठ देवकोटाले २५ बिगाहा क्षेत्रमा व्यावसायिक उखु खेती गरेका छन् । उनले आफूसँग भएको बाहेक झण्डै २० बिगाहा बढी खेत भाडामा लिएर खेती गरिरहेका छन् । 

प्रविधिको प्रयोगबाट सहज रूपमा खेतीपाती गर्न सकिएको उनको भनाइ छ । त्यसबाट मनग्य आम्दानी पनि भइरहेको बताए तर समयमा रासायनिक मलखाद र बीउबिजनको अभाव हुने गरेको उनको अनुभव छ ।

सर्लाहीमा भइरहेको कृषि कर्म र त्यसका अनुभवले नेपालको कृषि समस्यालाई चित्रित गरेको छ । एकातिर हरिवनका अन्सारी तथा बागमतीका देवकोटाको जस्तै सफलता कमै किसानहरूले पाएका छन् । 

बरहथवा नगरपालिका–५, हात्तीडण्डाका किसान मुकेश महतो अत्यधिक वर्षा र सस्तो बजार मूल्यका कारण हरियो तरकारी खेतीमा लागत समेत उठाउन मुस्किल परेको गुनासो गर्छन् । हरियो तरकारी सञ्चिती गरेर राख्न नसकिने भएकाले मूल्य घटेको समयमा पनि लगानी पनि नउठ्ने मूल्यमा बेच्नुपरेको उनको भनाइ छ । 

बीउ, मल, विषादी, सिँचाइ, मजदुर, ढुवानी र अन्य खर्चको तुलनामा उत्पादित तरकारीको मूल्य नपाउँदा किसान मर्कामा परेको उनको दुःखेसो छ ।

कहिले तरकारीको मूल्य आकासिँदा उपभोक्ता महँगीको मारमा पर्ने गरेका छन् भने कहिले मूल्य घटेर किसानले उत्पादन गरेको तरकारी खेतबाट टिपेर बजारसम्म पुर्‍याउन समेत ऋण खोज्नुपर्ने बाध्यता छ । 

लालबन्दीको थोक तरकारी बजार क्षेत्र हरेक दिन–बिहान झिसमिसेदेखि नै किसान र व्यापारीले  भरिभराउ देखिन्छ । यहाँबाट दैनिक करोडौँको तरकारी विभिन्न सहरका लागि रमाना हुन्छन् ।

विवरणअनुसार किसानले गोलभेँडा, बोडी, सिमी, फूलकोबी, बन्दा, लौका, भन्टा, करेला, काँक्रो, खोर्सानीलगायत विभिन्न तरकारी बिक्री गर्दै आएका छन् ।

लालबन्दी, हरिवन, बागमती, ईश्वरपुर, बरहथवा र चन्द्रनगरलगायत क्षेत्रका किसानका लागि तरकारी खेती आम्दानीको महत्त्वपूर्ण स्रोत बनेको छ । किसानले उत्पादन गरेको लगानीलाई सुनिश्चित गर्दै स्वचालित मूल्य प्रणाली लागू गरिए किसानको उत्पादनले राम्रो मूल्य पाउने किसानहरूको भनाइ छ । 

छिमेकी देश भारतबाट खुला सीमा हुँदै नेपाल भित्रने फलफूल र तरकारीका कारण स्थानीय उत्पादन सधैँ चपेटामा पर्ने गरेको हरिवन नगरपालिका–४, का किसान मुखचन्द्र महतोले बताउछन् । किसानले उत्पादन गरेको सामाग्रीले लागतमा भन्दा विचौलियाको तजबिजमा मूल्य पाउनु दुर्भाग्य पूर्ण रहेको उनको गुनासो छ ।

किसानले सबैभन्दा ठूलो जोखिम लिएर कृषि उत्पादन गरे पनि बजारमा मूल्य निर्धारण गर्ने शक्ति उसको हातमा हुँदैन । किसानले वर्ष दिन लगाएर उत्पादन गर्छन् तर, त्यसको लागतलाई आधार मानेर मूल्य निर्धारण हुँदैन । सधैँ सस्तोमा उखु बेचेर महँगोमा चिनी किनेर उपभोग किसानले गर्नुपर्छ । हरेक वर्ष खेतीको लागत बढिरहेको छ । 

मलखाद सरकारले दिँदैन, कालोबजारीसँग महँगोमा किन्नुपर्छ । त्यसमा वर्षौं उधारोमा बेच्नुपर्दा ठूलो नोक्सानी ब्यहोर्नु परेको यहाँका किसानको अनुभवले देखाउँछ ।

कृषि सुधारको अर्थ उत्पादन वृद्धि मात्र नभई किसानको आम्दानी स्थिर बनाउनु पनि हो । यसका लागि कृषि उपज उत्पादनसँगै चिस्यान भण्डारण, प्रशोधन, बजार सूचना, बीमा, सहकारी र मूल्य नीति विकास पनि गर्नुपर्छ ।

खाद्य सुरक्षा भनेको गोदाममा अन्न भण्डारण हुनुलाई मात्र मान्न सकिन्न । अन्न उत्पादन गर्ने किसान, उत्पादन गर्ने जमिन र उत्पादनलाई बजारसम्म पुर्‍याउने प्रणाली सुरक्षित भए मात्र खाद्य सुरक्षा सुरक्षित रहन्छ ।

पछिल्लो समय खेतीलाई कम प्रतिष्ठाको पेशा बनाएका कारण पनि किसानहरू विस्थापित बन्दै गएका छन् । कृषिबाट हुने आम्दानी अनिश्चित भएका कारण यस पेशा कम प्रतिष्ठाको विषय बनेको छ । 

फसलको उत्पादन लागत धेरै र मुनाफा कम हुँदा यस्तो भएको हुनसक्छ । मल, बीउ र सिँचाइ जस्ता आधारभूत आवश्यक र प्राविधिक साधनको उपलब्धता र मूल्यमा किसानले झेल्नु परेको समस्या पनि महत्त्वपूर्ण कारण बनेको छ । 

बजारको अस्थिर मूल्यका कारण ब्यहोर्नु परेको घाटा, कृषि भूमि खण्डीकरण भइरहेको कारण समेत यो पेशाप्रतिको दृष्टिकोण परिवर्तन हुँदै गएको हो ।

युवा पुस्ताले कृषिलाई आधुनिक व्यवसायका रूपमा भन्दा परम्परागत श्रमका रूपमा बढी बुझेका कारण कृषिमा उनीहरूको वितृष्णा बढ्दै गएको स्पष्ट छ । 

‘उत्तम खेती, माध्यम ब्यापार र निकृष्ट जागिर’ यो नेपाली समाजमा केही दशक पहिलासम्म निकै चर्चित कथन थियो तर, अहिले यो कथन व्यवहारतः विलुप्त जस्तै भइसकेको छ । पुर्ख्यौली पेशा छाडेर विदेशी भूमिमा सोही पेशाको लागि किन प्रोत्साहित गरियो ? 

आफ्नो देशमा यही पेशा निकृष्ट अनि कृषि क्षेत्रमा काम गर्न कोरिया, जापान, इजरायल जान किन तयार छन् युवा ? विदेशमा पुगेर आफ्ना सन्तानले खेतीपाती गरेको पशु खोरमा काम गरेको देख्दा यहाँ आमाबुबालाई किन कुनै पछुतो छैन ? भन्ने प्रश्न अहिले पेचिलो बनेको छ । फरक यति हो, यहाँ हलो जोत्नु पर्ला भनेको सन्तानले विदेशमा ट्रयाक्टरले जोत्यो । 

प्रविधिसँग जोडियो । यहाँ पनि अब बिस्तारै कृषि, पशुपालनमा प्रविधिको विकास हुन थालेसँगै युवा विदेश पलायनलाई रोक्न ठोस प्रयासको खाँचो भएको छ । 

सामाजिक धारणा, कृषि क्षेत्रमा लगानी, अनुसन्धान, प्रविधि र बजार व्यवस्थापनबीच पर्याप्त समन्वय हुन नसकेका कारण कृषिप्रतिको दृष्टिकोण ओझेलमा परेको विज्ञहरूको धारणा छ ।

नेपाली समाजको जीवनशैली, संस्कृति र अर्थतन्त्रको आधारमा कृषि जोडिएको छ तर कृषिप्रधान भनिएको यही देशमा खेतीपाती कम्जोर र दुर्जनले गर्ने पेशाका रूपमा चित्रण हुँदै गयो । 

कृषि पेशा पुस्तान्तरण गर्न नखोज्दा र परम्परागतबाट व्यावसायिकतातर्फ लैजान नसक्दा कृषि क्षेत्र उपेक्षामा पर्दै गएको जानकारहरू बताउँछन् ।  रासस
 

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ३ : ०३ बजे

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः