सिरहा– पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य कार्यालय सिरहाकी खोप निरीक्षक सुनिता कँडेलका अनुसार पहिलो चरणमा यही माघ २५ देखि आगामी फागुन २ गतेसम्म आठ स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ भने दोस्रो चरणमा आगामी फागुन ४ देखि १० गतेसम्म बाँकी नौवटा पालिकामा अभियान सञ्चालन गरिनेछ ।
‘गत वर्ष जिल्लाभर करिब नौ प्रतिशत छात्रा एचपीभी खोपबाट छुटेका थिए । यस पटक ती सबैलाई समेट्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो,’ खोप निरीक्षक कँडेलले भने।
उनका अनुसार विद्यालय छाडेका ११ देखि १४ वर्ष उमेर समूहका बालिका पनि यस अभियानमा समावेश गरिनेछन् । अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्ष पूरा भई ११ वर्ष ननाघेका बालिका तथा गत वर्षको खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका छात्रालाई लक्षित गरिएको छ ।
लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार लहान नगरपालिकामा गत वर्षको खोप अभियानमा दुई प्रतिशत छात्रा खोपबाट वञ्चित भएका थिए ।
खोप अभियानलाई प्रभावकारी बनाउन आज लहान नगरपालिकाले पालिकास्तरीय खोप समन्वय समितिको एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी मंगलबार स्थानीय स्वास्थ्य स्वयंसेविकाको उपस्थितिमा वडास्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिने स्वास्थ्य शाखाले जनाएको छ ।













प्रतिक्रिया