काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’ « Khabarhub

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र र नेपाली कांग्रेसलाई पुर्‍याएको योगदानबारे आफू स्पष्ट रूपमा जानकार रहेको बताएका छन्। २१ फागुनको निर्वाचनका लागि सर्लाही–४ बाट उम्मेदवारी दर्ता गराएका थापा सोमबार पहिलो पटक नयाँ निर्वाचन क्षेत्रमा पुगेका हुन्।

सर्लाहीमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले मधेशले पाउनुपर्ने मान, सम्मान र बराबर हैसियत किन प्राप्त गर्न नसकेको भन्ने प्रश्न आफूले पटकपटक उठाएको उल्लेख गरे। तर अब प्रश्न उठाउने मात्रै नभई त्यसको उत्तर खोज्दै मधेशको प्रतिनिधि बन्न आएको उनले बताए।

‘म प्रश्न उठाउन होइन, त्यसको उत्तर खोज्न यहाँ आएको हुँ,’ थापाले भने, ‘म नेपाली कांग्रेसको कार्यकर्ता हुँ। कांग्रेस, नेपालको प्रजातन्त्र र सिंगो देशलाई मधेशले लगाएको गुनको बारेमा म राम्रोसँग जान्दछु। बीपी कोइरालालाई पढेर जान्दछु, मधेशले दिएको शहीदहरूको योगदान पढेर जान्दछु।’

सभापति थापाले आफूले पछिल्लो समय सबैभन्दा नजिकबाट संगत गरेको नेता प्रदीप गिरी भएको उल्लेख गर्दै गिरीलाई ‘चल्ताफिर्ता मधेश’ को संज्ञा दिए। गिरीको संगतले मधेशलाई गहिरो रूपमा बुझ्न प्रेरित गरेको उनको भनाइ थियो।

‘पहाड, काठमाडौंको जीवन मैले बुझेँ,’ उनले भने, ‘तर मधेशमा आफूलाई समर्पित नगरी, मधेशलाई आफूभित्र समेट्न नसकी पूर्ण रूपमा नेपाली हुन सकिँदैन भन्ने कुरा मैले बुझें।’

हुलाकी राजमार्गको यात्राका क्रममा मधेशप्रति थप आकर्षित भएको बताउँदै थापाले यहाँ अपार सम्भावना हुँदाहुँदै पनि युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य हुनुको कारण खोज्न आफू आएको बताए।

शिक्षाको सन्दर्भ उठाउँदै उनले मधेशका शिक्षकहरूको योगदान स्मरण गरे। ‘कुनै समय मधेशका शिक्षक नजाँदा पहाड र काठमाडौंमा गणित, विज्ञानको कक्षा चल्दैनथ्यो,’ उनले भने, ‘अबको १०–१५ वर्षमा सूचना प्रविधि नेपालको ठूलो आम्दानीको स्रोत बन्नेछ। त्यसका लागि गणित र विज्ञानको बलियो आधार चाहिन्छ, जुन मधेशले देशलाई दिएको महत्वपूर्ण योगदान हो।’

सभापति थापाले मधेशको विकास, सम्मान र समानताको सवाललाई व्यवहारमै उतार्न आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

सम्बोधन

मधेशले सिंगो नेपालभित्र जुन मान, सम्मान, बराबर हैसियत प्राप्त गर्नुपर्ने हो, किन नपाएको होला ? यो प्रश्न मैले धेरैपटक उठाएँ । तर म प्रश्न उठाउन होइन, त्यसको उत्तर खोज्ने गरिकन तपाईंको प्रतिनिधि बन्न यहाँ आएको छु । अत्यन्त उत्साहित बनाएको छ । म नेपाली कांग्रेसको कार्यकर्ता हुँ । कांग्रेसको कार्यकर्ता भएको हुनाले गर्दा मधेशले कांग्रेसलाई लगाएको गुन, मधेशले नेपालको प्रजातन्त्रलाई लगाएको गुण, मधेशले सिंगो नेपाललाई लगाएको गुनको बारेमा राम्रोसँग जान्दछु । धेरै पढेर जान्दछु । किनकि म धेरै पछिको मान्छे हुँ । बीपी कोइरालाको बारेमा पढेर जान्दछु । मधेशले दिएको शहीदहरूको बारेमा पढेर जान्दछु ।

र, पछिल्लो समय, मैले सबैभन्दा बढी संगत गरेको नेता प्रदीप गिरी हुनुहुन्छ । प्रदीप गिरीलाई हामी ‘चल्ताफिर्ता मधेश’ भनेर भन्छौँ । हामीलाई लिएर आउने, मधेशको बारेमा बताउने हाम्रो युगको नेता हुनुहुन्थ्यो, अहिले हाम्रो बीचमा हुनुहुन्न । मलाई त्यही बेलादेखि एउटा कुरा खड्किरहेको थियो । मेरो बाआमा पहाडबाट काठमाडौं आउनुभएको हो । त्यसैले पहाडको बारेमा मैले थाहा पाउने मौका पाएँ । हरेक वर्ष जान्थेँ । म काठमाडौंमा जन्मेको, हुर्केको हुनाले गर्दा काठमाडौंको रहनसहन, सुखदुःख त्यसै पनि थाहा पाउने भएँ ।

तर प्रदीप गिरीको संगत गर्दा मैले बुझेको, सिकेको कुरा के हो भने– जबसम्म मैले एकपटक आफूले आफूलाई मधेशमा गएर समर्पित गर्दिनँ, मधेशमा गएर समाहित गर्दिनँ, मैले जबसम्म आफूले आफूलाई आफूभित्र मधेश र मधेशभित्र आफूलाई लिएर आउने प्रयास गर्दिनँ, तबसम्म म सम्पूर्ण रूपमा नेपाली बन्न सक्दिनँ ।

त्यस कारणले गर्दा आज म एउटा विश्वासको साथ मधेश झरेको छु । केही सालअगाडि हुलाकी राजमार्गको यात्रा गर्दाखेरि मलाई मधेश आउँछु, यहीँ आउँछु, यहीँको साथीहरूको बीचमा बस्छु र यसको प्रतिनिधित्व गर्ने कोसिस गर्छु भन्ने कुरा अझ मनमा लागेको थियो । किन होला नेपालको प्रजातान्त्रिक आन्दोलनमा यत्रो ठूलो योगदान पुर्‍याएको, यति धेरै शहीदहरू नेपाललाई दिएको, प्रत्येक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गरेको ? मधेशले सिंगो नेपालभित्र जुन मान, सम्मान, बराबर हैसियत प्राप्त गर्नुपर्ने हो, किन नपाएको होला ? यो प्रश्न मैले धेरैपटक उठाएँ । तर म प्रश्न उठाउन होइन, त्यसको उत्तर खोज्ने गरिकन तपाईंको प्रतिनिधि बन्न यहाँ आएको छु ।

म अहिले यो बीचमा हुलाकी राजमार्गको यात्रा गर्दै गर्दा, मैले जति दिन हिँडेँ, त्यो दिन देखेको हुँ– कि यति धेरै सम्भावना भएको, यति धेरै खेती किसानीमा यहाँका दाजुभाइ दिदीबहिनी रम्दै गर्दाखेरि पनि यति धेरै यहाँका मानिसहरू खाडीमा काम गर्न जानुपर्ने बाध्यता किन भएको होला ? मैले हिजो प्रश्न गरेँ, म आज त्यसको उत्तर खोज्ने गरी आएको छु ।

कुनै बेला पहाडमा होला, काठमाडौंमा होला । मधेशको यहाँबाट कोही नगईकन गणितको कक्षा चल्दैन थियो । विज्ञानको कक्षा चल्दैन थियो । अहिले गणित र विज्ञान राम्रो नभईकन अबको १०–१२–१५ वर्ष नेपालको पनि आम्दानीको सबैभन्दा ठूलो स्रोत भनेको सूचना प्रविधि हो । सूचना प्रविधिको लागि केटाकेटीदेखि नै गणित जान्नुपर्छ, विज्ञान जान्नुपर्छ । मेरा बाहरूलाई सोलुखुम्बुको पहाडमा गएर सप्तरीको गणित शिक्षकले गणित पढाउनुभयो र मेरो बा इन्जिनियर बन्न सक्नुभयो ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ७ : ३८ बजे

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट